सांसदहरूको संकल्प : पारदर्शिता, इमानदारिता र जवाफदेहितामार्फत परिणाममुखी काम
काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले संसद्मा जनपक्षीय र रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
शपथ ग्रहणको लागि सिंहदरबारस्थित संसद् भवन परिसरमा उपस्थित भइरहँदा उनीहरूले इमानदारिता र सुशासनका आधारमा परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले सञ्चारकर्मीसँग कुरा गर्दै सुशासनका तीन आधार स्तम्भ पारदर्शिता, इमान्दारिता र जवाफदेहिताबाटै परिणाम आउने गरी काम गर्ने बताएका छन्। उनले भने, "पारदर्शी, इमान्दारिता, जवाफदेहिता- यी नै बीचमा सबै कुरा हुन्छन्। यी तीन कुराबाट डेलिभरी हुन्छन्।"
यस्तै, रास्वपाका अर्का सांसद रमेश प्रसाईंले जनताको अपेक्षा अत्यन्त सामान्य रहेको उल्लेख गर्दै आधारभूत सेवा सहज बनाउनुपर्नेमा जोड दिए।
उनले भने, "जनताले धेरै ठूलो कुरा मागेका छैनन्। अस्पतालमा बेड पाउन सोर्स-फोर्स लगाउन नपरोस्, सरकारी कार्यालयमा सामान्य काम गराउन घण्टौं, हप्तौं लाइन बस्न नपरोस्। विपद् पर्दा सरकार भएको अनुभूति होस्, राज्यले अभिभावकीय भूमिका निभाओस् भन्ने हो।"
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहले सकारात्मक र रचनात्मक भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, "अहिले हामी सकारात्मक काममा, राम्रा काममा साथ र सहयोग गरेर अगाडि बढ्ने छौं। देश र जनताको हितमा काम गर्ने पक्षमा हुन्छौं।"
चैत १२, २०८२ बिहीबार १५:३२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।