रसुवामा ट्रक भीरबाट खस्दा दुई जनाको मृत्यु
रसुवा : रसुवाको कालिका गाउँपालिकामा कन्टेनर ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पासाङ ल्हामु सडक खण्ड अन्तर्गत ग्राङजुङ डाँडाको भीरबाट ट्रक खस्दा चालक र सवार अर्का एक व्यक्तिको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार, बुधबार साँझ करिब ७:२० बजे कालिकास्थानबाट धुन्चेतर्फ जाँदै गरेको ना ६ ख ५४९८ नम्बरको खाली कन्टेनर ट्रक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो।
दुर्घटनामा ट्रकका चालक रसुवाको कालिका गाउँपालिका-१ राम्चेका ३९ वर्षीय पासाङ तामाङ र सोही ट्रकमा सवार वडा नम्बर २ का २६ वर्षीय पेम्बा छेवाङ थोक्राको मृत्यु भएको हो।
दुर्घटनाको खबर पाउनासाथै इलाका प्रहरी कार्यालय कालिकास्थान र प्रहरी पोष्ट ग्राङबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेको थियो। गम्भीर घाइते अवस्थामा उद्धार गरिएका दुवैलाई उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाइएको थियो।
तर, अस्पतालमा उपचारकै क्रममा राति ९ बजे चालक तामाङ र राति १०:५० बजे थोक्राको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। दुवै जनाको शव हाल सोही अस्पतालको शव गृहमा राखिएको छ।
दुर्घटनाका कारण ट्रक पूर्ण रूपमा क्षति भएको छ भने सडक अवरुद्ध नभएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाग्रस्त ट्रकलाई भीरबाट निकाल्ने प्रयास भइरहेको छ।
चैत १२, २०८२ बिहीबार १२:१५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।