बंगलादेशमा फेरीमा चढ्दै गरेको बस नदीमा खस्दा २३ जनाको मृत्यु

बंगलादेशमा फेरीमा चढ्दै गरेको बस नदीमा खस्दा २३ जनाको मृत्यु

एजेन्सी : बंगलादेशको दक्षिण-पश्चिमी जिल्ला राजबारीमा बुधबार साँझ एउटा यात्रुवाहक बस नदीमा खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ११ महिला, ८ बालबालिका र ४ पुरुष रहेका छन्।

प्रहरी र प्रत्यक्षदर्शीका अनुसार करिब ११ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन्। बसमा सवार अधिकांश मानिसहरू इदको बिदा मनाएर राजधानी ढाका फर्किरहेका थिए।

करिब ५० जना यात्रु बोकेको उक्त बस दौलाडिया टर्मिनलमा फेरीमा (ठूलो डुङ्गा) चढ्ने क्रममा चालकले नियन्त्रण गुमाउँदा पद्मा नदीमा खसेको हो। दुर्घटना स्थानीय समय अनुसार बुधबार साँझ करिब ५:१५ बजे भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार बस पन्टुम (फेरी चढ्ने प्लेटफर्म) बाट सिधै ३० फिट गहिरो पद्मा नदीमा खसेको थियो। प्रतिकूल मौसमका बाबजुद उद्धार टोलीले ६ घण्टाको प्रयासपछि बसलाई नदीबाट बाहिर निकालेको थियो। 

बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।   

चैत १२, २०८२ बिहीबार ११:१७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।