२४ दिनमा पेट्रोलको खरिद मूल्य ७६ र डिजेलको १४३ रुपैयाँले बढ्यो, निगमले कति बढायो?

२४ दिनमा पेट्रोलको खरिद मूल्य ७६ र डिजेलको १४३ रुपैयाँले बढ्यो, निगमले कति बढायो?

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

विगत २४ दिनमा अन्तर्राष्ट्रिय बजारबाट प्राप्त खरिद मूल्यमा उच्च वृद्धि भएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको उपभोक्ता मूल्यमा प्रतिलिटर १५ रुपैयाँले बढाएको हो।

निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मार्च १ देखि मार्च २४ (२४ दिनको अवधि) सम्ममा मात्रै इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त खरिद मूल्यमा पेट्रोल प्रतिलिटर ७६ रुपैयाँ र डिजेल प्रतिलिटर १४३ रुपैयाँले बढेर आएको छ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको निगमको भनाइ छ।

खरिद मूल्यमा आएको यही उछाललाई मुख्य कारण देखाउँदै निगमले उपभोक्ता मूल्यमा प्रतिलिटर १५ रुपैयाँ बढाएको छ। बढेको नयाँ मूल्य चैत १२ गते बिहान ००:०१ बजेदेखि लागू हुने निगमले जनाएको छ।

कहाँ कति पुग्यो नयाँ मूल्य?
यस मूल्य वृद्धिसँगै काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा अब पेट्रोलको मूल्य प्रतिलिटर १८७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६७ रुपैयाँ पुगेको छ।

त्यस्तै, सुर्खेत र दाङ (दोस्रो वर्ग) मा पेट्रोल १८६ रुपैयाँ र डिजेल/मट्टितेल १६६ रुपैयाँ कायम भएको छ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज (पहिलो वर्ग) मा भने पेट्रोल १८४ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल १६४ रुपैयाँ ५० पैसा तोकिएको छ।

घाटा चुलिएपछि आपूर्ति रोकिने डर
निगमले उपभोक्ताको हितलाई मध्यनजर गर्दै हाल मूल्य स्थिरीकरण कोषको रकम समेत उपयोग गरेर यो मूल्य समायोजन गरेको जनाएको छ।

निरन्तर खरिद मूल्य बढ्दा र सोही अनुसार मूल्य समायोजन गर्न नसक्दा मार्च १६ देखि ३१ सम्मको १५ दिनमा मात्रै निगमलाई ५ अर्ब रुपैयाँ घाटा हुने देखिएको थियो।

पछिल्लो मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब रुपैयाँ घाटा हुने अवस्था आएको विज्ञप्तिमा उल्लेख छ।

घाटा रकममा उल्लेख्य वृद्धि हुँदा आईओसीलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना भएको र तोकिएको समयमै भुक्तानी दिन नसक्दा इन्धनको आपूर्ति व्यवस्थापन नै प्रभावित हुने देखिएपछि बाध्य भएर मूल्य बढाउनुपरेको निगमले प्रस्ट पारेको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न विषम् परिस्थितिमा निगमले सम्पूर्ण उपभोक्ता तथा सरोकारवालाहरूलाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन (कम खर्च गर्न) अनुरोध समेत गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ तत्काल मूल्य घटाउने रणनीति लिने विश्वास पनि निगमले दिलाएको छ।

चैत ११, २०८२ बुधबार २१:२८:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।