जेनजी आन्दोलनबारे तत्कालीन मेयर बालेनको बयान : २३ गते सरकारले आंतकवादी शैली अपनायो, २४ गते महानगरले दमकल पठाएको थियो

जेनजी आन्दोलनबारे तत्कालीन मेयर बालेनको बयान : २३ गते सरकारले आंतकवादी शैली अपनायो, २४ गते महानगरले दमकल पठाएको थियो

काठमाडौं : भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले २३ गतेको आन्दोलनमा आफ्नो समर्थन रहेको र सरकारले अत्याधिक बल प्रयोग गर्दै आतङ्कवादीको शैली अपनाएकाले २४ गतेको घटना भएको दाबी गरेका छन्।

आयोगमा उनले दिएको बयानमा दुवै दिन आफू लैनचौरमा रहेको मेयरको सरकारी निवासमा रहेको र शान्तिपूर्ण र्यालीमा समर्थन गरे पनि आफू आन्दोलनमा सहभागी नभएको बताएका छन्।

उकेराले प्राप्त गरेको आयोगको नौ सय पृष्ठको प्रतिवेदनमा समावेश बालेनको बयानको संक्षेपमा उनले २३ गते तनावपूर्ण अवस्था भएकोबारे बेलुका सञ्चार माध्यमबाट थाहा पाएको र आफ्नो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलन शान्त पार्न सहयोग गरेको दाबी गरेका छन्।

“घटनापश्चात् महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरी घाइते र मृतकहरूका परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो” बयानमा उनले भनेका छन् “२४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्यधिक बल प्रयोग र आतङ्कवादी शैलीको नतिजा हुन सक्छ। २४ गते का.म.न.पा ले समयमै दमकल पठाएको थियो। महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो।”

गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगले फागुन २४ मै सरकारलाई प्रतिवेदन बुझाए पनि सरकारले अहिलेसम्म सो प्रतिवेदन सार्वजनिक गरेको छैन। कार्की आयोगको प्रतिवेदनका मुख्य सिफारिसहरू बुधवार जनआस्थाले सार्वजनिक गरेको थियो।

प्रतिवेदनमा संलग्न बालेनको बयान

२०८२ साल भाद्र २३ र २४ गते म सरकारी निवास लैनचौरमा थिएँ। २३ गतेको शान्तिपूर्ण र्यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिइन। २३ गते स्थिति तनावपूर्ण हुँदै गएको बेलुका सञ्चार माध्यमबाट थाहा पाएँ। मेरो सामाजिक सञ्जालको अभिव्यक्तिले अनियन्त्रित आन्दोलनलाई शान्त पार्न मद्दत गर्यो। जनधनको रक्षाको लागि सामाजिक सञ्जाल मार्फत संयम अपनाउन अपिल गरेको थिएँ।

घटनापश्चात् महानगर प्रहरी बल लगायत अन्य विभागहरूसँग समन्वय गरी घाइते र मृतकहरूका परिवारलाई तत्काल आवश्यक सहयोग प्रदान गरिएको हो। २४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्यधिक बल प्रयोग र आतङ्कवादी शैलीको नतिजा हुन सक्छ। २४ गते का.म.न.पा ले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो।

चैत ११, २०८२ बुधबार १७:०९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।