अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गरिरहेका २ टिपर र १ जेसीभी प्रहरी नियन्त्रणमा

अवैध ढंगले नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गरिरहेका २ टिपर र १ जेसीभी प्रहरी नियन्त्रणमा
फाइल तस्बिर

तनहुँ : तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी भइरहेको अवस्थामा प्रहरीले तीन वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरी टोलीले बन्दीपुर गाउँपालिका–६ बगरखोला क्षेत्रमा अवैध रूपमा गिट्टी ‘लोड’ गरिरहेको अवस्थामा आज सवारीसाधन नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिइएका सवारीसाधनमा लु१क ३२४१ नम्बरको जेसिबी, ग१क ५४४२ नम्बरको टिपर र ग१ख ७४३६ नम्बरको टिपर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। 

उक्त सवारीसाधनलाई आवश्यक कारबाहीका लागि बन्दीपुर गाउँपालिकाको कार्यालय पठाइएको उनले बताए। प्रहरीले अवैध उत्खनन तथा ढुवानी नियन्त्रण गर्न अनुगमनलाई थप कडाइ गरिनेसमेत जनाएको छ।

चैत ११, २०८२ बुधबार १३:२६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।