सेयर बजारमा पहिलो डेढ घण्टाको उतारचढाव : नेप्से ८ अङ्कले घट्दा साढे ५ अर्बको कारोबार

सेयर बजारमा पहिलो डेढ घण्टाको उतारचढाव : नेप्से ८ अङ्कले घट्दा साढे ५ अर्बको कारोबार

काठमाडौं : सेयर बजार खुलेको पहिलो डेढ घण्टामा नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ।

कारोबार सुरु भएको पहिलो डेढ घण्टा अर्थात दिउँसो १२:३० बजेसम्मको तथ्यांक अनुसार नेप्से इन्डेक्स ८.३६ अङ्क अर्थात् ०.२८ प्रतिशतले घटेर २,९५२.०४ विन्दुमा ओर्लिएको छ।

बजार खुल्नेबित्तिकै केही माथि उक्लिएको नेप्से परिसूचक त्यसपछि निरन्तर ओरालो लागेको थियो।

१२:१५ बजेतिर बजार आजकै सबैभन्दा तल्लो विन्दु (२९३०-२९४० को बिचमा) पुगेर फेरि केही सम्हालिने प्रयास गर्दै उकालो लागेको ग्राफमा देख्न सकिन्छ।

समग्र बजार घटेको हुनाले धेरैजसो कम्पनीका लगानीकर्ताले गुमाएका छन्।

कारोबारमा आएकामध्ये २२२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा ३६ वटा कम्पनीको मूल्य मात्र बढेको छ। त्यस्तै, ६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

नेप्से परिसूचक घटे पनि बजारमा कारोबार रकम भने निकै उत्साहजनक देखिएको छ। दिउँसो १२:३० बजेसम्ममै बजारमा ५ अर्ब ५० करोड ८४ लाख ८३ हजार ९०९ रुपैयाँ बराबरको ठुलो कारोबार भइसकेको छ।

यस अवधिमा ३२० वटा विभिन्न कम्पनीका १ करोड ३३ लाख ८७ हजार ९०६ कित्ता सेयरहरू ५१ हजार ९८५ पटक खरिदबिक्री भएका छन्।

बजार राताम्मे हुँदा पनि ५ वटा कम्पनीका लगानीकर्ताले भने उच्च नाफा कमाएका छन्। यी कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कमाउने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, सुपर काबेली हाइड्रोपावर​​​​​​​, सुपरमाई हाइड्रोपावर​​​​​​​​​​​​​​, बलेफी हाइड्रोपावर र​​​​​​​ हाथवे फाइनान्स रहेका छन्।

रकमका आधारमा पहिलो डेढ घण्टामा सबैभन्दा धेरै कारोबार सुपर मादी हाइड्रोपावरको भएको छ। यस कम्पनीको ३७ करोड १३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

त्यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २२ करोड ४९ लाख र अपि पावरको १९ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार हुँदै सर्वाधिक कारोबार गर्ने शीर्ष तीन कम्पनीभित्र परेका छन्।

चैत ११, २०८२ बुधबार १२:३७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।