अस्ट्रेलियाको सरकारी मिडियामा पत्रकारहरूको २४ घण्टाको हड्ताल

अस्ट्रेलियाको सरकारी मिडियामा पत्रकारहरूको २४ घण्टाको हड्ताल

एजेन्सी : अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) का सयौं पत्रकारहरूले पहिलो पटक २४ घण्टे हड्ताल गरेका छन्।

तलब कम भएको, काम गर्ने वातावरण असहज भएको र आफ्नो ठाउँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को सम्भावित प्रयोगको विरोध गर्दै बुधबार काम बन्द गर्ने भएका छन्।

एबीसी अस्ट्रेलियाको सरकारी सञ्चारमाध्यम हो। २० वर्षको इतिहासमा एबीसीका कर्मचारीहरू हडतालमा उत्रिएको यो पहिलो पटक हो।

कर्मचारी युनियनका अधिकांश सदस्यहरूले बढ्दो महँगीको तुलनामा व्यवस्थापनले ल्याएको निकै कम तलब वृद्धिको प्रस्तावलाई अस्वीकार गरेका छन्।

हडतालका कारण बेलुका ७:३० बजे प्रसारण हुने ‘करेन्ट अफेयर्स शो’ र बिहीबार बिहानका प्रमुख कार्यक्रमहरू प्रसारण हुने छैनन्।

ती कार्यक्रमको सट्टा पुराना कार्यक्रमहरू पुनः प्रसारण गरिनेछन् भने पहिल्यै तयार पारिएका कार्यक्रम र बीबीसीका सामग्रीहरू देखाइनेछ।

एबीसी व्यवस्थापनले भने आफूले ‘दीर्घकालीन रूपमा दिन सक्ने अधिकतम’ तलब वृद्धिको प्रस्ताव गरेको जनाएको छ। तर, कर्मचारी युनियनले भने जागिरको सुरक्षा र एआईको प्रयोगमा निश्चित सीमा तोकिनुपर्ने माग राखेको छ।

कर्मचारीहरूले बुधबार स्थानीय समयअनुसार बिहान ११ बजेदेखि हडताल सुरू गरेका छन् भने २४ घण्टासम्म काममा फर्किने छैनन्।

सिड्नी र मेलबर्नमा रहेका एबीसीका मुख्य कार्यालयहरूमा ठूलो सङ्ख्यामा कर्मचारीहरू भेला भएका छन्। हडतालमा सहभागी हुनेहरूले विरोधस्वरूप कालो कपडा लगाएका छन्।

एबीसीमा ४ हजार ४ सयभन्दा बढी कर्मचारी छन्, जसमध्ये करिब २ हजार जना समाचार शाखामा काम गर्छन्। यो एबीसीको सबैभन्दा ठूलो विभाग हो।

व्यवस्थापनले कर्मचारीहरूलाई तीन वर्षमा चरणबद्ध रूपमा १० प्रतिशत तलब बढाउने प्रस्ताव गरेको थियो। जसमा पहिलो वर्ष ३.५ प्रतिशत र त्यसपछिका दुई वर्ष ३.२५ प्रतिशतका दरले तलब बढाउने भनिएको थियो।

तर, गत जनवरी महिनामा अस्ट्रेलियाको वार्षिक मूल्य वृद्धिदर ३.८ प्रतिशत थियो जुन प्रस्ताव गरिएको तलब वृद्धिभन्दा धेरै भएपछि उनीहरूले त्यसको विरोध गरेका हुन्।

यसबाहेक कर्मचारीहरूलाई एकमुष्ट एक हजार डलर बोनस दिने प्रस्ताव पनि थियो, तर यो सुविधा अस्थायी कर्मचारीहरूका लागि भने थिएन।

चैत ११, २०८२ बुधबार १०:४९:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।