रविलाई तारेखबाट उन्मुक्ति, अब कास्की धाउनु नपर्ने

रविलाई तारेखबाट उन्मुक्ति, अब कास्की धाउनु नपर्ने

काठमाडौं : कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नियमित रूपमा अदालत उपस्थित भई तारेख बुझ्नु नपर्ने आदेश दिएको छ।

मंगलबार लामिछानेको निवेदनउपर सुनुवाइ गर्दै न्यायाधीश श्यामकुमार श्रेष्ठको इजलासले उनलाई तारेखबाट छूट दिने आदेश दिएको हो। यसअघि लामिछानेले गत आइतबार आफूलाई व्यक्तिगत रूपमा अदालत उपस्थित हुने बाध्यताबाट मुक्त गरिपाऊँ भनी निवेदन दिएका थिए।

अदालतको आदेशसँगै लामिछानेले अब प्रत्येक महिना कास्की पुगेर हाजिर हुनुपर्ने छैन। यद्यपि, मुद्दाको सिलसिलामा थप प्रमाण बुझ्नुपर्ने भएमा वा अदालतले अनिवार्य ठानेर बोलाएको अवस्थामा भने उनी उपस्थित हुनुपर्ने सर्त यथावत् राखिएको छ। अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार, तारेखको दायित्व हटे पनि मुद्दाको अन्य कानुनी प्रक्रिया र सुनुवाइ भने नियमित रूपमा अघि बढ्नेछ।

सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका लामिछाने २०८१ पुसमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका थिए। सोही समयदेखि उनी नियमित तारेखमा रहँदै आएका थिए।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले १ अर्ब ५१ करोड रुपैयाँ ठगी भएको दाबीसहित ६३ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको छ। जसमा लामिछानेको भागमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ भने सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख रुपैयाँभन्दा बढीको बिगो दाबी रहेको छ।

चैत १०, २०८२ मंगलबार २२:१६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।