सभापति थापाले भने- कांग्रेस अल्मलिएकाले समस्या आयो

सभापति थापाले भने- कांग्रेस अल्मलिएकाले समस्या आयो

ललितपुर : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिस्पर्धी पार्टीसँग अल्मलिएर कांग्रेसले आफ्नो मुद्दा बिर्सिएकाले समस्या आएको बताएका छन्।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा उनले कांग्रेस नेपालीको स्वतन्त्रता र समानताका निर्माण भएको पार्टी भएकाले जनताको मुद्दा बिर्सन नहुने धारणा राखे।

“अबको पाँच वर्ष सफलतापूर्वक सरकार सञ्चालन हुने विश्वास छ, अनेकन अप्ठ्यारोकाबीच मत प्रदान गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै निर्वाचित हुने सबै उम्मेदवारलाई बधाई ज्ञापन गर्दछु,” थापाले भने।

उनले विशेष महाधिवेशन नगरी पार्टी निर्वाचनमा गएको भए कांग्रेसले जनताको प्रतिरोधको सामना गर्न कठिनाइ हुन्थ्यो भने।

“विशेष महाधिवेशनसँग असन्तुष्टि होलान्, निर्वाचनमा कांग्रेसको चिह्न लिएर उम्मेदवार भएको व्यक्तिलाई मत नमाग्ने र नहाल्ने विषयमा हामीले नोटिसमा राखेका छौं, आफ्नो निर्वाचन क्षेत्रमा पाँच/छ पटक उम्मेदवार भएको व्यक्तिले पार्टीको पक्षमा मत माग्नुपर्दैन ? यो विषयमा महाधिवेशनले समीक्षा गर्छ, तर म सिङ्गै कांग्रेस पार्टीको सभापति हो, सबैसँग छलफल गर्नेछु,” उनले भने।

थापाले सुशासनका सन्दर्भमा अबको सरकारसँग नागरिकका विशिष्ट अपेक्षा रहेको उल्लेख गर्दै अख्तियारको दुरुपयोग एवं नीतिगत भ्रष्टाचारको विषयमा प्रष्ट छानबिन गरेर जानुपर्छ भन्नेमा जोड दिए। नेपालको लोकतन्त्र र विविधताका विषयमा सन्तुलन कायम राख्नुपर्नेमा जोड दिँदै थापाले लोकतान्त्रिक व्यवस्थाले दिएका अधिकार कायम राख्न कांग्रेसले प्रतिबद्ध भएर काम गर्नुपर्छ भने।

“संविधानअनुसार प्रदत्त स्वतन्त्र, समानता र स्वयत्ततामा कुनै आँच आउनु हुँदैन, कांग्रेस यसमा प्रतिबद्ध छ,” उनले भने, “संविधानका आधारभूत मूल्य मान्यतालाई फराकिलो बनाउन संविधान संशोधन गर्नु आवश्यक छ, संविधानको संशोधन र परिमार्जनको विषयमा पार्टीभित्र छलफल गरेर समिति बनाउँछौं।”

मध्यपूर्वमा भएको तनावले नेपाललाई नदेखिने गरी समस्यामा पारेको भन्दै थापाले नेपालको अर्थतन्त्र र वैदेशिक रोजगारीमा देखिएका समस्या हल गर्ने विषयमा  समाधान गर्दै जानुपर्ने उल्लेख गरे।

चैत १०, २०८२ मंगलबार २०:५६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।