अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नगरपालिकाको नियन्त्रणमा
खोटाङ : निर्माणाधीन आधारभूत अस्पताल भवन वर्षौंसम्म अलपत्र पारेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ।
सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि जगभन्दा माथि काम नबढाउने निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार रमेश बस्नेतको बाग्मती प्रदेश १६ च ६८०२ नम्बरको गाडी नगरपालिकाले नियन्त्रणमा लिएको हो।
हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान (हलेसी)मा नमुना/हिमालयन जेभीले विसं २०८० साउन ८ गतेसम्ममा काम सम्पन्न गर्नेगरी विसं २०७८ साउन ८ गते अस्पताल भवन बनाउने ठेक्का सम्झौता गरेको थियो। तर सम्झौता म्याद नाघेको दुई वर्ष बितिसक्दा पनि अस्पतालको भवन जगभन्दा माथि उठ्न सकेको छैन।
आवश्यक निर्माण सामग्री तथा जनशक्तिको व्यवस्थापन गरेर ठेक्का बमोजिमको काम सुरु नभएसम्म गाडी, गाडीको चाबी र सवारीसाधन दर्ता प्रमाणपत्र नियन्त्रणमा लिएको नगरप्रमुख विमला राईले जानकारी दिइन्।
“२०८० सालमै बनिसक्नुपर्ने १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम हालसम्म अलपत्र छ। भवनको पहिलो चरणको कामसमेत पूरा भएको छैन,” उनले भनिन्, “काममा निरन्तरता नदेखिएको तथा पटक-पटक लिखित एवम् मौखिक जानकारी गराउँदा पनि प्रगति नभएपछि नगरपालिकाले गाडी कब्जामा लिएको हो। गाडी नियन्त्रणमा लिएको विषयमा जिल्ला प्रशासन कार्यालयलाई पनि लिखित जानकारी पठाइसकिएको छ।”
नगरप्रमुख राईले चैत ८ गते चालकलाई आफ्नो कार्यकक्षमा बोलाएर गाडीको चाबी नियन्त्रणमा लिएर प्रहरीलाई बोलाएकी थिइन्। अस्पताल भवन निर्माणको काममा सुरुबाटै ढिलासुस्ती गर्ने निर्माण कम्पनीका ठेकेदारलाई नगरपालिकाले यही चैत १२ गतेदेखि पुनः सुरु गराउने लिखित प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको छ।
यही चैत १२ गतेदेखि सुरु गरेर ४५ दिनभित्र कम्तीमा बेसमेन्ट कभर स्ल्याब ढलान सक्ने, ६० दिनभित्र फष्ट फ्लोर स्ल्याब तथा अर्को ६० दिनभित्र सेकेन्ड फ्लोर स्ल्याब ढलानको काम सम्पन्न गर्ने प्रतिबद्धता गराइएको नगर प्रवक्ता कमल गिरीले जानकारी दिए। प्रतिबद्धताअनुसार काम नगरे नियमानुसार कारबाही भोग्ने तथा कतै उजुरबाजुर नगर्ने कागजमा हस्ताक्षर गराइएको उनको भनाई छ।
ठेकेदारलाई पटक-पटक फोन गर्दा नउठाएपछि नगरप्रमुख राईले हिउँदे नगरसभामार्फत ‘ब्ल्याकलिष्ट’मा राख्ने मेसेज पठाएपछि निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार बस्नेत नगरपालिकाको सम्पर्कमा आएका थिए।
भवन निर्माण योजना सुरु गरेपछि ठेकेदार कम्पनीले सम्बन्धित निकायबाट चार करोड ११ लाख २८ हजार ५८ भुक्तानी लिएका थिए। भुक्तानी लिएपछि भवन निर्माणको काम अलपत्र पारेर ठेकेदार कम्पनी सम्पर्क विहीन भएका थिए।
भूगोलका कारण डिजाइन परिवर्तन गर्नुपर्ने अवस्था आएको तर, उक्त डिजाइन मन्त्रालयले स्वीकृति गर्न ढिलाइ गरेकाले अस्पताल भवन अलपत्र परेको ठेकेदार कम्पनीले बताउँदै आएको छ।
नेपाल सरकारको नीतिअनुसार चार वर्षअघि जिल्लाका दशमध्ये छ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो। हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा एकैसाथ आधारभूत अस्पताल निर्माणको काम थालिएको हो।
हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकामा १५/१५ शय्या तथा रावाबेँसी गाउँपालिकामा दश र साकेला गाउँपालिकामा पाँच शय्याको अस्पताल शिलान्यास गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्धारण गरेको कार्यक्रमअनुसार २०७७ मङ्सिर १५ गते जिल्लाका चार स्थानीय तहमा एकै दिन अस्पताल शिलान्यास गरिएको हो।
हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी र ऐँसेलुखर्क गाउँपालिकामा मङ्सिर १५ गते तथा केपिलासगढीमा मङ्सिर २३ गते शिलान्यास गरिएको थियो भने साकेला गाउँपालिकामा निर्माण गरिने अस्पताल बिना शिलान्यास काम सुरु गरिएको थियो।
साकेला गाउँपालिकामा सञ्चालित कुनै पनि योजना औपचारिक शिलान्यास तथा उद्घाटन नगर्ने तत्कालीन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’को प्रतिबद्धताअनुसार बिना शिलान्यास काम सुरु गरिएको हो।
दश स्थानीय तह रहेको जिल्लामा वर्ष दिनपछि थप तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको थियो। हरेक स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीतिअनुसार बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा २०७८ सालमा योजना परेको हो।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा वर्ष दिनपछि थप तीन स्थानीय तहमा अस्पताल निर्माणको योजना स्वीकृत भएको थियो। हरेक स्थानीय तहमा कम्तीमा पाँच शय्याको अस्पताल निर्माण गर्ने सरकारको नीतिअनुसार बराहपोखरी, दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकामा २०७८ सालमा योजना परेको हो।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा यसअघि नै १५ शय्याको सरकारी जिल्ला अस्पताल सञ्चालनमा थियो। २०४९ वैशाख १ गते १५ शय्यामा स्थापना गरेर सञ्चालन गरिएको जिल्ला अस्पताललाई अहिले ५० शय्यामा स्तरोन्नति गर्ने काम तीव्र गतिमा भइरहेको छ।
चैत ९, २०८२ सोमबार १५:२९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।