चैत १२ गते सांसदको शपथ : कस्तो छ तयारी?

चैत १२ गते सांसदको शपथ : कस्तो छ तयारी?

काठमाडौं : सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहणको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ। 

सिंहदरबारस्थित नवनिर्मित सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आगामी चैत १२ गते दिउँसो २ बजे शपथ समारोहको आयोजना गर्नेगरि सचिवालयले भौतिक पूर्वाधार र प्राविधिक व्यवस्थापन मिलाएको छ। 

यही चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदहरूलाई शपथ कार्यक्रममा सहभागी हुन सचिवालयले आह्वान गरिसकेको छ। निर्धारित समयभन्दा दुई घण्टा अगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि सचिवालयको अनुरोध छ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले यही चैत ११ गते राष्ट्रपति भवन शीतल निवासमा शपथ लिनेछन्। त्यसपछि यही चैत १२ गते निर्वाचित प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्य केसीले शपथ दिलाउनेछन्।

नेपालको संविधानको धारा, ८८ मा ‘सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने’ व्यवस्था छ।

संविधानको धारा, ९१ (५) मा प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ। शपथ समारोहपछि नवनिर्वाचित सदस्यलाई प्रतिनिधिसभा सदस्यको प्रतीक चिह्न (लोगो), संविधान, संसद् नियमावली, सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधासम्बन्धी सँगालोसहितका सामग्री उपलब्ध गराइनेछ।

सचिवालयका प्रवक्ता एकराम गिरिले नवनिर्वाचित सांसदको शपथको आवश्यक व्यवस्थापनतर्फ सचिवालय लागिरहेको जानकारी दिए। उनले भने, “सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा सांसदहरूको शपथ र अधिवेशनका प्रारम्भिक बैठक गर्ने तयारी भइरहेको छ।”

हलभित्रको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम अन्तिम चरणमा पुगेको छ। सुरक्षालगायत विभिन्न पाटोबाट व्यवस्थापनको काम भइरहेको प्रवक्ता गिरिले स्पष्ट पारे। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था छ। अधिवेशन आह्वानपछि संसद् बैठकको तयारीमा लाग्ने सचिवालयले जनाएको छ।

निर्वाचनपछि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र सांसद सङ्ख्या फेरबदल भएसँगै सचिवालयले संसदीय दलको कार्यालय पनि सोहीअनुसार व्यवस्थापन गरिएको जनाएको छ। “सचिवालयभित्रै भएका संसदीय दलका कार्यालयलाई पार्टीको ‘स्ट्रेन्थ’ अनुसार व्यवस्थापन गरिएको छ,” प्रवक्ता गिरीले भने।

गत फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच तथा स्वतन्त्र सांसद एक जना निर्वाचित भएका छन्।

नेपाली कांग्रेस र एमालेलाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरिएको छ। नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको सचिवालयको भवन नम्बर २ अन्तर्गत साबिकको कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टीका लागि व्यवस्था गरिएको छ।

यसअघि रास्वपाले प्रयोग गर्दै आएको कार्यालय भवनलाई नेकपा, श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयका रूपमा व्यवस्थापन गरिएको छ। “त्यो अल्पकालीन व्यवस्था हो, निर्माणाधीन संसद् भवन सम्पन्न भएपछि सोही भवनभित्रै दलको कार्यालयहरू रहनेछन्,” प्रवक्ता गिरिले भने। नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै ‘चेम्बर’को समेत व्यवस्था गरिएको छ। 

चैत ९, २०८२ सोमबार १४:५२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।