बालेन र ओलीको पछि लाग्दा प्रकाश सपुतदेखि राजा राजेन्द्रसम्मले भोगेको सास्ती

बालेन र ओलीको पछि लाग्दा प्रकाश सपुतदेखि राजा राजेन्द्रसम्मले भोगेको सास्ती

काठमाडौं : एमाले अध्यक्ष केपी ओलीको पक्षमा सार्वजनिक कार्यक्रममा बोल्दा नै गायक तथा अभिनेता प्रकाश सपुतले यसको राम्रै मार व्यहोरे। त्यतिबेला उनी एमालेका कार्यकर्ता पनि थिएनन्।

जेनजी आन्दोलन अनि बालेन शाहको रास्वपा प्रवेशसँगै उनी दलगत रूपमै रास्वपाको पक्षमा खुले र कार्यकर्ता बने।

समानुपातिक सूचीमा कलाकारको रूपमा परेका उनी पार्टीको प्रचारमा कार्यकर्ता झैँ सक्रिय भए। अन्ततः अन्तिम सूचीमा उनी समेटिएनन्। त्यसपछि सामाजिक सञ्जालमार्फत अब कला क्षेत्रमै फर्किएको घोषणा गरे।

रास्वपामा लागेकाले कतै आफ्ना प्रशंसकले अस्वीकार गर्लान् कि भन्ने भय उनको मनमा रहेछ। त्यसैले उनले राजनीतिमा लागेर पुनः कला क्षेत्रमा फर्कंदा अस्वीकृत भए गाउँ फर्कने समेत लेखे।

जेनजी आन्दोलनको दोस्रो दिन भएको ध्वंसात्मक गतिविधिमा उक्साउन संलग्न देखिएका अर्का फिल्म निर्माता तथा कलाकार निश्चल बस्नेत पनि सक्रिय राजनीतिमा संलग्न देखिए। रास्वपाबाट प्रत्यक्ष निर्वाचनमै उम्मेदवारका आकांक्षी देखिएका उनी उम्मेदवार भने भएनन्।

तर, आफ्नो कलाको प्रभावलाई रास्वपाको पुँजी बनाउन उनी सक्रिय नै रहे।

 

युट्युबको साटो आफ्नै ओटीटी प्लेटफर्म खोलेका उनले निर्वाचन प्रचारको रापतापमै नयाँ दलको पक्षमा वकालत गरेको फिल्म ‘दिमाग खराब’ युट्युबमा राखे। हेर्दा व्यवसाय देखिए पनि उनको बिजनेस मोडल र टाइमिङले उद्देश्य रास्वपाको माहोलमा योगदान पुर्याउने नै देखियो।

एमाले नेताहरूले ‘दिमाग खराब’ सँगै बालेन टिमले बनाएको अर्को फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा रिलिज गरेर र नाइट बसमा देखाउँदै ‘ब्रेन वास’ गरेको आरोप लगाए। ‘झरीपछिको इन्द्रेणी’ त हलमा चलिरहेकै बेला बालेनकै युट्युब च्यानलमा रिलिज भएको थियो। यो बालेन टिमले फिल्मको आवरणमा राजनीतिक फिल्म बनाएका थिए भारतको भाजपा मोडलमा।

दुबैको राजनीतिक उद्देश्य सफल भयो। अब फर्किने त फिल्म निर्माणमै हो। तर, फिल्म निर्माताको रूपमा सफल हुन रास्वपा कार्यकर्ताको साथले मात्र सम्भव हुन्न। दर्शक नै चाहिन्छ, जो जुनसुकै दलका कार्यकर्ता वा शुभेच्छुक हुन सक्छन्।

यसमा स्वस्तिमा खड्का पनि राजनीतिमा उत्तिकै सक्रिय देखिएकी थिइन्। अब स्वस्तिमाको फिल्म ‘लालिमाई’ रिलिजको तयारीमा छ। राजनीतिक रापतापको प्रभाव हो या रास्वपा कार्यकर्ताको पहिचानले गर्दा हो, फिल्म निर्माण टिमले प्रचारमा गरेको मिहिनेतको फल आएको देखिन्न।

यही बीचमा स्वस्तिमाले फेसबुकमा श्रीमान् निश्चलसहितको तस्बिर राख्दै लेखिन्, ‘फेसवास गर्न अल्छी मान्नेले ब्रेन वास गर्यो भनेर कसरी पत्याउने?’

उनको फेसबुक स्टाटसमा कतिपयले आलोचनात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूले देश जल्दा खुसी मनाउनेहरूलाई एक दिन इतिहासको कठघरमा उभिनुपर्ने  भनेका छन्।

‘देश खरानी बनाएर नेपाल हाँसेको हेर्न चाहने जोडी याद राख, इतिहासको कठघरामा एक दिन अवश्य उभिनु पर्नेछ’, एक प्रयोगकर्ताले लेखेका छन्।

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो चलचित्र जानाजानी दर्शकहरूलाई एक निश्चित कथातर्फ डोऱ्याउनको लागि बनाइएको थियो। जस्तै; झण्डाको त्यो रंग- एक दृश्य फ्रेमिङ प्रविधि। यो नाजी जर्मनीको समयमा प्रचार सिनेमामा एक सामान्य उपकरण थियो। यो एउटा उदाहरण मात्र हो। यस चलचित्रमा अरू धेरै छन्। एउटा अनुरोध- राष्ट्रको गहना बन्नुहोस्, घन्टीको गहना होइन।’

यता, केपी ओलीको पक्षमा मत मागेको भन्दै गायिका ज्योति मगरमाथि पनि सामाजिक सञ्जालमा आक्रमण उच्च छ। नयाँ दलमा खुलेका कलाकारको तुलनामा ज्योतिमाथिको बुलिङको क्रम निकै तीव्र देखिन्छ।

ठ्याक्कै यस्तै नियति भोगेका छन् हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलले पनि।

‘नेसनल भोलेन्टियर्स फोर्स कोशी युनिफाइड कमान्ड’को घोषणा सभामा ओलीको प्रशंसा र जेनजी आन्दोलनको चर्को आलोचना गरेपछि उनीमाथि चौतर्फी रूपमा साइबर आक्रमण भयो। सामाजिक सञ्जालमा भएको गालीगलौज र ट्रोल सहन नसकेपछि अन्ततः उनले आफ्नो फेसबुक अकाउन्ट नै डिएक्टिभेट गर्न बाध्य भए।

त्यसअघि उनी नेपाल टेलिभिजनको कार्यक्रम बन्दैछ नेपाल सञ्चालन गर्थे। जहाँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विकास निर्माणबारे आफ्ना धारणा राख्थे। यति मात्र होइन जेनजी आन्दोलनपछि पनि उनी एमालेका सभा र कार्यक्रमहरूमा सञ्चालकका रूपमा सहभागी हुन्थे।

पछिल्लो समय उनी एउटा स्वतन्त्र कलाकारभन्दा पनि पार्टीकै पूर्णकालीन कार्यकर्ताको रूपमा बढी मञ्चहरूमा देखिन थालेका थिए।

०००

कलाकारको सम्पत्ति पार्टी कार्यकर्ता होइनन्, प्रशंसक हुन्। त्यसैको बलमा उनीहरूको कला यात्रा टिक्ने हो। तर, कलाकार भन्दैमा देशको संवेदनशील मोडमा मौन रहनुपर्छ भन्ने पनि हुँदैन। यस्तो मोडमा प्रशंसकहरू उनीहरूको धारणाको पर्खाइमा हुन्छन् नै।

तर, जब उनीहरूको सक्रियता समाजका लागि ‘देशका गहना’ को साटो ‘पार्टीका गहना’ बन्छ, तब प्रशंसक पनि ध्रुवीकृत हुन थाल्छन्। प्रशंसकले तिनलाई कलाकारभन्दा पनि पार्टीका कार्यकर्ताकै रूपमा व्यवहार गर्न थाल्छन्।

आफ्नो मुख्य क्षेत्र कलामा जब यसको नकारात्मक प्रभाव देखिन्छ, अनि उनीहरू ‘म त कलाकार पो हुँ त’ भन्न थाल्छन्। पार्टीको बिल्ला छाड्ने प्रयासमा कति सफल भएका छन्, कतिलाई यसैले डुबाएको पनि छ।

ज्योति, प्रकाश हुन् या निश्चल अनि स्वस्तिमा- यतिबेला उनीहरूको प्रयास आफूमाथिको दलगत छाप मेटाउने नै देखिन्छ। एक समुहले गल्ती गरेको भनेर सुझाव दिइरहेका छन्, अर्को समूह आक्रोशमा देखिन्छ।

त्यसैले उनीहरू जसरी दलगत रूपमा सक्रिय भए, त्यसको प्रभाव र समाजमा बढ्दो राजनीतिक ध्रुवीकरणको सङ्केतले  दलको बिल्लाबाट मुक्ति पाउन सहज देखिन्न। कारण, उनीहरूको सहभागिता शुभेच्छामा मात्र सीमित नभई पूर्ण सक्रियतामै देखिएको थियो।

किनकि, जेनजी आन्दोलनको पक्षमा यी कलाकार मात्र होइनन्; ऋचा शर्मा, सुरक्षा पन्त, केकी अधिकारीलगायतका कलाकार पनि सक्रिय थिए। तर, उनीहरूको सक्रियता सामूहिक मागमा मात्र देखियो। उनीहरू सुशासन र परिवर्तनको पक्षमा उभिए। उनीहरू दलगत रूपमा सक्रिय भएनन्।

महानायक राजेश हमालले आफ्नो धारणा राखे, तर कुनै दल वा उम्मेदवारको पक्षमा मत मागेनन्। त्यसैले, निर्वाचनमा मतदाताले जे निर्णय गरे पनि त्यसले उनीहरूको पेसामा कुनै प्रभाव पारेन।

निर्देशक मीन भाम त नेपाली काङ्ग्रेसबाट प्रत्यक्ष निर्वाचनमै सहभागी हुने तयारीमा थिए। तर, अन्त्यमा उनी अन्तर्राष्ट्रिय जुरीमा छानिए र त्यता गए। उनी पनि दलगत रूपमा राजनीतिमा सक्रिय भएनन्। राप्रपाकी नेतृ नै भए पनि यसपटक रेखा थापाले दर्शकलाई स्पष्टीकरण दिइरहनु परेको छैन।

कारण स्पष्ट छ- परिवर्तनको पक्षमा उनीहरू पनि बोले, तर दलगत झन्डा बोकेर भोट माग्दै हिँडेनन्। आफ्नो धारणा राखे, तर कलाकारको दायराबाट बाहिर आएनन्।

जो दलको झन्डामुनी बसे उनीहरूको छवी कलाकार हैन कलाकारको आवरणमा लुकेका पार्टीका कार्यकर्ता बन्यो। दलका कार्यकर्ता भएपछि असहमत पक्षले आलोचना गर्ने नै भए।

चैत ९, २०८२ सोमबार १३:५४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।