‘अगस्त्य’ र ‘अभिमन्यु’ चिप्लिँदा ‘रोल नं. १’ले थाम्ला ‘पूर्णबहादुरको सारङ्गी’को बिँडो?

‘अगस्त्य’ र ‘अभिमन्यु’ चिप्लिँदा ‘रोल नं. १’ले थाम्ला ‘पूर्णबहादुरको सारङ्गी’को बिँडो?

काठमाडौं : नेपाली फिल्म बजारमा ‘पूर्णबहादुरको सारङ्गी’ले गरेको छप्परफाड कमाइ त सबैलाई थाहै छ!

सानो बजेटमा गुपचुप बनेको यो फिल्मले बक्स अफिसमा इतिहासकै ठूलो रेकर्ड राख्दै निर्मातालाई मात्र होइन, सिङ्गै फिल्म इन्डस्ट्रीलाई नै चकित पारिदियो।

तर, यही टिमको हातबाट बनेका अरू दुई फिल्म ‘अगस्त्य’ र भर्खरै आएको ‘अभिमन्यु : च्याप्टर १’ ले भने दर्शकको मन जित्न सकेनन्, बक्स अफिसमा नराम्ररी चिप्लिए।

अब हिट र फ्लपको यो ‘रोलरकोस्टर’ यात्रापछि निर्माता विनोद पौडेलको टिम नयाँ फिल्म ‘रोल नं. १’ लिएर दर्शकमाझ आउने तयारीमा छ।

विद्यालय जीवनको बालसुलभ कथा र गाउँले जनजीवनको भावनात्मक पाटोलाई उनेर बनाइएको भनिएको यो फिल्मका सबै काम लगभग सकिइसकेका छन्। तर, फिल्म रिलिजको मिति नजिकिँदै गर्दा बजारमा भने अनौठो सन्नाटा छ।

फिल्म प्रदर्शनमा आउन अब मुस्किलले दुई महिना मात्रै बाँकी छ। तर, न कुनै टिजर, न पोस्टर, न त फिल्मको कुनै सुइँको! निर्माण टिमले अहिलेसम्म प्रचारप्रसारको पत्तासम्म खोलेको छैन।

यो ‘चुप्पी’ देखेर यतिबेला सिने वृत्तमा कानेखुसी सुरु हुन थालेको छ- कतै ‘अभिमन्यु’को जस्तै रिलिज डेट सरेको सऱ्यै गर्ने त होइन? ‘अभिमन्यु’ दशैंअघि आउने भनियो, दशैंको छेकोमा पुग्यो र अन्त्यमा कात्तिक पुगेर थन्कियो। के ‘रोल नं. १’ को हालत पनि त्यस्तै हुने त होइन?

यतिबेला दर्शक र सिनेकर्मी दुवैको नजर निर्माता पौडेलको आगामी कदममाथि अडिएको छ। प्रचारप्रसारमा देखिएको यो सुस्तीले कतै अर्को असफलताको कथा त लेख्ने होइन भन्ने डर पनि एकातिर छ।

अब हेर्न बाँकी छ- के ‘रोल नं. १’ ले बक्स अफिसमा जादु गरेर ‘पूर्णबहादुरको सारङ्गी’ को गर्विलो बिँडो थाम्ला? या विना प्रचार गुपचुप आउँदा फेरि ‘अगस्त्य’ र ‘अभिमन्यु’ कै नियति भोगेर बाहिरिएला? बहस  सुरू भइसकेको छ!

चैत ९, २०८२ सोमबार ११:२५:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।