धादिङको बन्छेटारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धादिङको बन्छेटारमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

धादिङ : धादिङको गजुरी गाउँपालिका-६, बन्छेटारस्थित पृथ्वी राजमार्गमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धादिङकै गल्छी गाउँपालिका-२, भुतिया बस्ने अन्दाजी ५६ वर्षीय खड्ग प्रसाद खतिवडा रहेका छन्।

प्रहरीका अनुसार, आइतबार राति साढे १० बजे गजुरीबाट गल्छीतर्फ जाँदै गरेको बा ७२ प ६९४८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा बिग्रिएर रोकिराखेको ना ६ ख ३१०६ नम्बरको ट्रकमा ठोक्किन पुगेको थियो।

तीव्र गतिको मोटरसाइकल ठोक्किएर ट्रकमुनि पसेको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक खतिवडाको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। अचेत अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी लगिएको थियो।

राति ११:२५ बजे अस्पताल पुर्याइएका खतिवडालाई परीक्षणपछि चिकित्सकले ११:३० बजे मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले ट्रकका चालक गोरखाको गण्डकी गाउँपालिका-२ का अन्दाजी ४१ वर्षीय श्रीबहादुर चेपाङलाई नियन्त्रणमा लिएको छ। उनलाई हाल अस्थायी प्रहरी पोष्ट आदमघाटको नियन्त्रणमा राखिएको छ।

दुर्घटना भएको स्थान अस्थायी प्रहरी पोष्ट आदमघाटबाट करिब १.५ किलोमिटर पूर्व र इलाका प्रहरी कार्यालय गजुरीबाट ९.५ किलोमिटर पूर्वमा पर्दछ। प्रहरीले दुर्घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

चैत ९, २०८२ सोमबार १०:०३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।