‘एडमिड हो तर अस्पताल चैँ बस्दैन... भोलि डिस्चार्ज गर्नेबेला आउँछ’ : पर्यटकसँगै मिलेर एजेन्टले चलाउँथे फेक रेस्क्यूको धन्दा
काठमाडौं : नेपालको पर्यटन र पर्वतारोहण क्षेत्रलाई विश्वमै बदनाम गराउने गरी भइरहेको ‘फेक रेस्क्यू’को संगठित सञ्जालको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भण्डाफोर गरेको छ।
अनुसन्धानका क्रममा प्राप्त अभियुक्तहरूबीचका ह्वाट्सएप र भाइबर कुराकानीले कसरी पर्यटकलाई जबर्जस्ती बिरामी बनाएर बीमा कम्पनीहरूबाट करोडौं डलर असुल गरिन्थ्यो भन्ने तथ्य उजागर गरेको छ।
बिरामी बनाउन ‘बेकिङ सोडा’को प्रयोग
यो गिरोहले पर्यटकलाई उद्धार गर्न बाध्य पार्नका लागि उनीहरूको खानामा ‘बेकिङ सोडा’ मिसाउने वा दूषित खाना खुवाएर बिरामी बनाउने गरेको पाइएको छ।
सामान्य टाउको दुखाइ वा लेक लाग्ने सामान्य लक्षण देखिएका पर्यटकलाई पनि निकै गम्भीर बिरामी भएको भ्रम छरेर हेलिकप्टरमार्फत काठमाडौं ल्याइने र अस्पतालमा भर्ना गर्ने गरिएको अनुसन्धानले देखाएको छ।
क्यानडेली नागरिक सिल्भी ओबियर र क्याथरिन चासाग्नेको घटनामा उनीहरूले आफूहरू पैदल नै तल झर्न सक्ने अडान राख्दा-राख्दै पनि गाइड र पोर्टरले सामानहरू हतार-हतार कोठामा छिरेर प्याक गरिदिएर ‘कृत्रिम संकट’ सिर्जना गरेका थिए।
‘गेष्टहरू चिसो बियर खाँदैछन्, बिल चाहिँ रेस्क्यूको’
अनुसन्धानका क्रममा फेला परेको एउटा ह्वाट्सएप संवादले यो ठगीको कुरूप पाटो देखाउँछ। डा. निर्वाण राज तिमिल्सिना र रवीन्द्र अधिकारीबीचको कुराकानीमा ‘रिल्याक्स छ त चिल्ड बियर, शन्त दाइको रेस्क्यू रछ आफ्नै खाँदै छन् त!’ भन्ने उल्लेख छ।
यसको अर्थ, एकातिर पर्यटकहरू रेष्टुरेन्टमा बसेर चिसो बियर खाइरहेका हुन्थे, अर्कोतिर गिरोहले उनीहरूको नक्कली उद्धारको बिल बनाएर बीमा कम्पनीसँग रकम दाबी गरिरहेको हुन्थ्यो। कतिपय अवस्थामा पर्यटक आफैँलाई पनि बिरामी भएको नाटक गर्न नगद पैसाको प्रलोभन देखाइने गरेको पाइएको छ।
ह्वाट्सएप संवादमा ‘सर तपाईंको गोरा चैँ बिरामी हुँदै यो सिजन?’ भन्दै एजेन्टहरूले पर्यटकलाई बिरामी बनाउन दबाब दिएको देखिन्छ। कतिपय अवस्थामा पर्यटक अस्पतालमा भर्ना भएको कागजात बनाइन्थ्यो, तर उनीहरू होटलमा बसिरहेका हुन्थे।
च्याटमा भनिएको छ, ‘एडमिट तर अस्पताल बस्दैन है... भोलि डिस्चार्ज गर्नी बेला आउँछ।’
२० मिलियन डलरको ठगी र ३० देखि ८० प्रतिशतसम्मको कमिसन
यो गिरोहले सन् २०२२ देखि २०२६ को बीचमा मात्रै विदेशी बीमा कम्पनीहरूबाट करिब १ करोड ९६ लाख ९८ हजार २७९ अमेरिकी डलर बराबरको रकम झुटो दाबीमार्फत प्राप्त गरेको देखिएको छ।
उद्धार र उपचारका नाममा हुने यो धन्दामा टेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी र अस्पतालबीच ठूलो कमिसनको खेल हुने गरेको छ।
अस्पतालहरूले बिल रकमको ३० प्रतिशतसम्म ट्रेकिङ कम्पनीलाई कमिसन दिने गरेको र हेलिकप्टर कम्पनीले नाफाको ७० देखि ८० प्रतिशतसम्म ट्रेकिङ एजेन्सी वा गाइडलाई ‘किकब्याक’ दिने गरेको तथ्यहरू स्थापित भएका छन्।
नक्कली कागजात र सरकारी डेटामा फेरबदल
ठगी लुकाउन गिरोहले व्यापक रूपमा नक्कली ‘प्यासेन्जर म्यानुफेस्ट’ तयार पार्ने गरेको थियो। एउटै चार्टर उडानमा ५ जना पर्यटक आए पनि बीमा दाबीका लागि भने प्रत्येक पर्यटक छुट्टाछुट्टै उद्धार उडानबाट आएको देखिने गरी कीर्ते कागजात बनाइन्थ्यो।
हेलिकप्टर व्यवसायी राजेन्द्र बहादुर सिंह र श्याम सुन्दर कँडेलबीचको अडियो संवादमा सीआईबीको अनुसन्धानबाट बच्न प्रमाण नष्ट गर्ने र उडान डेटा फेरबदल गर्ने योजना बनेको देखिएको छ। गिरोहले ‘रेस्क्यू’ शब्दलाई कागजातबाट हटाएर ‘चार्टर’ मात्र लेख्न र नियामक निकायलाई गलत सूचना दिन निर्देशन दिएको संवादहरूबाट स्पष्ट हुन्छ।
अन्तराष्ट्रिय प्रतिष्ठामा आँच र ‘नो गो डेष्टिनेशन’ को खतरा
यो संगठित अपराधका कारण नेपालको पर्यटन क्षेत्रमा गम्भीर दीर्घकालीन असर परेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाललाई संसारको शिखरमा हुने घोटालाका रूपमा चित्रण गरेका छन्।
जसका कारण विदेशी बीमा कम्पनीहरूले नेपाल आउने पर्यटकको बीमा शुल्क वृद्धि गरेका छन् भने कतिपयले बीमा नै बन्द गर्ने चेतावनी दिएका छन्। यसले गर्दा नेपाललाई पर्यटकीय गन्तव्यको सूचीबाटै हटाउने र ‘नो गो डेष्टिनेशन’ घोषणा गर्ने जोखिम बढेको छ।
सीआईबीले लामो अनुसन्धानपछि रवीन्द्र अधिकारी, मुक्ति पाण्डे, सुवास के.सी., डा. निर्वाण राज तिमिल्सिना, विवेक पाण्डे लगायत ३० भन्दा बढी व्यक्तिहरू विरुद्ध मुद्दा चलाएको छ। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ५१ बमोजिम राष्ट्रहित प्रतिकूल काम गरेको र संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत कारबाहीको मागदाबी गरिएको छ।
सम्बन्धित समाचार:
चैत ९, २०८२ सोमबार ०९:४९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।