पर्यटकको फेक रेस्क्यु प्रकरणमा प्रमाण नष्ट गरेको र सिआइबीको अनुसन्धान प्रभावित पारेको अभियोगबाट राजेन्द्रले पाए उन्मुक्ति

पर्यटकको फेक रेस्क्यु प्रकरणमा प्रमाण नष्ट गरेको र सिआइबीको अनुसन्धान प्रभावित पारेको अभियोगबाट राजेन्द्रले पाए उन्मुक्ति

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हिमालय पदयात्राकोक्रममा नक्कली उद्धारको बहानामा अर्बौ ठगी भएको प्रकरणमा प्रमाण नष्ट गराउन अनि प्रहरीको अनुसन्धान प्रभावित पार्न मिडिया परिचालन गरेको आरोपमा पक्राउ गरेको राजेन्द्र बहादुर सिंहलाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ। 

सिआइबीले ३३ जनालाई प्रतिवादी बनाउन सिफारिस गरे पनि आइतबार ३२ जना विरुद्ध मात्र अभियोग पत्र दर्ता भयो। सिंह यो प्रकरणमा संलग्न रहेको प्रमाण फेला नपरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले उनी विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो।

सिआइबीले उनलाई अनुसन्धान प्रभावित गर्नेगरि प्रमाण नष्ट गर्न सक्रिय भएको, नागरिक उड्डयन प्राधिकरणसँग अस्वाभाविक पहुँच रहेको र वित्तीय कारोबार लुकाउने प्रयास गरेको आरोपमा पक्राउ गरेको थियो। तर आइतबार अभियोग पत्र दर्ता हुँदा उनको नाम राखिएन।

उनको बयान अनुसार उनी संलग्न माउन्टेन हेलिकप्टर प्रालिमा उनीसहित सुरेशकुमार राठी र विज्ञानराज शर्मा समेत सञ्चालक छन्। शर्मा नेपाल प्रहरीका पूर्व एआइजी समेत हुन् भने उनी सरकारले जेनजी आन्दोलनबारे जाँचबुझ गराउन गठित आयोगको सदस्य समेत थिए।

सिंहलाई सिआइबीले फागुन १३ गते पक्राउ गरेको थियो। सिंह मन्त्रिपरिषद्ले २०८१ चैत ४ मा गठन गरेको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्यक्ष तथा विश्लेषण उच्चस्तरीय समितिको सदस्य समेत हुन्। 

अभियोग पत्रमा ‘पक्राउ प्रतिवादी राजेन्द्र बहादुर सिंहको हकमा हालसम्मको अनुसन्धानबाट प्रस्तुत कसुरमा संलग्न रहेको साथै कुनै लाभ समेत लिएको नखुलेको हुँदा निजको हकमा हाललाई मुद्दा नचलाउने गरी निर्णय गरिएको’ भन्ने उल्लेख भएकाले सिआइबीले प्रतिवादीमा सिफारिस गरेको तर सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको देखिन्छ।

तर अभियोग पत्रमै रहेको माउन्टेन हेलिकप्टरको पूर्व अध्यक्षसमेत रहेका सिंहबारे २०८२ फागुन १० मा प्रहरी निरीक्षक रवि घिमिरेले बुझाएको प्रतिवेदनमा उनीमाथि गम्भीर आरोपहरू उल्लेख छ। प्रतिवेदनमा विदेशी पर्यटकहरूलाई उद्धार गरेको देखाई बीमा बापतको रकम दाबी गर्नको लागि सामान्य स्वास्थ्य अवस्था भएका पर्यटकलाई अस्पतालमा भर्ना गरी बीमा बापत प्राप्त हुने रकम एक आपसमा कमिसनको रूपमा बाँडी खाने कार्य र फेक उद्धारको प्रक्रिया पूरा गर्ने कार्यमा सिंहको संलग्नता खुल्न आउने तथ्यगत विवरणहरू उल्लेख छन्।

ती विवरण अनुसार हेलिकप्टर कम्पनीहरूद्वारा 'रेस्क्यु' उडानको तथ्य लुकाउन र सिआइबीको अनुसन्धानलाई प्रभावित पार्न गरिएको गोप्य संवाद र सहमति भएको अडियोसमेत सिआइबीले फेला पारेको देखिन्छ। अडियोमा श्याम सुन्दर कँडेल सिंहबीच दिउँसोको समय भएको संवादमा सिआइबीको अनुसन्धानबाट बच्न प्रमाण नष्ट गर्ने तथा उडान डाटा फेरबदल गर्नेबारे छलफल भएको उल्लेख छ। कँडेल प्रतिवादी भए पनि फरार छन्।

उनले अनुसन्धानलाई प्रभावित पार्न सिआइबीले नागरिक उड्डयन प्राधिकरणसँग मागेको उडान विवरणमा "रेस्क्यु" भन्ने शब्द नै नराख्न र सबै उडानलाई "चार्टर फ्लाइट" मात्र देखाउन निर्देशन दिएको उल्लेख रहेको र यसले अनुसन्धानलाई जानीजानी गलत तथ्याङ्क दिने वा तथ्याङ्क नै उपलब्ध नगराउने मनसाय स्पष्ट रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरि नियामक निकाय प्राधिकरणसँग उनको अस्वाभाविक पहुँच रहेको समेत प्रतिवेदनमा उल्लेख छ। उनले प्राधिकरणका महानिर्देशकसँग पहिले नै कुरा गरिसकेको र आइतबार पत्र लेखेर "हामीसँग रेस्क्यु डेटा छैन" भन्ने जवाफ दिने सहमति गरेको उल्लेख रहेको र यो नियामक निकायलाई प्रभावमा पारेर कसुर वा अपराध लुकाउने प्रयास गरेको प्रस्ट भएको प्रहरी प्रतिवेदनले देखाउँछ।

‘यसबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको २०८२ पुस ११ गतेको पत्रद्वारा माग गरिएको हेलिकप्टर कम्पनीको तथ्याङ्क क्यानलाई उपलब्ध नगराएको कारण क्यानबाट २८ गतेको पत्रद्वारा अल्टिट्युड एयरलाइन्स प्रालिबाहेक अन्य हेलिकप्टर कम्पनीबाट माग गरे अनुसारको तथ्याङ्क उपलब्ध नभएको प्रस्ट हुन आउँछ’अभियोग पत्रमा उल्लेख गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।

यसैगरि सिंहले आगामी सिजनदेखि कागजातमा "रेस्क्यु" शब्द प्रयोग नगर्ने र यसलाई "चार्टर" वा "मेडिकल रेस्क्यु" को नयाँ परिभाषा दिएर वास्तविक संख्या लुकाउने रणनीति संवाद गरेको, सिआइबीलाई विवरण दिँदा "रेस्क्यु" भनेर नछुट्ट्याउने, हेलिकप्टर कम्पनीसँग "रेस्क्यु" को छुट्टै डाटा हुँदैन र सबैलाई "चार्टर फ्लाइट" को रूपमा मात्र देखाउनुपर्छ भनेर हालसम्म गरेको भनिएको रेस्क्युको तथ्याङ्क लुकाई आगामी दिनमा सोही अनुसार काम गर्ने योजना बनाएको समेत देखिन्छ।

श्याम सुन्दर कँडेलले बीमा कम्पनीको झमेला (अनुसन्धान) बाट बच्न ग्राहकबाट सिधै नगद  लिने गरेको स्वीकार गरेको र यसले हेलिकप्टर मार्फत पर्यटकलाई लिफ्ट गरी काठमाडौँसम्म पुर्याई अस्पतालमा समेत भर्ना गरी गराई सो को रकम निज पर्यटकसँग पिओएस मेसिनमार्फत निकाल्न लगाउने र क्यास लिने वा सम्भव भएसम्म क्यासमानै रकम लिई अनुसन्धानबाट बच्ने शैली समेत सिंहले अपनाउन खोजेको प्रहरी अनुसन्धानमा देखिन्छ।

उनले लुक्ला जस्ता संवेदनशील ठाउँमा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूलाई राख्न लगाउने र उनीहरूलाई प्रभावमा पारेर वा पैसा खुवाएर आफ्नो पक्षमा रेस्क्युको लागि 'रिफरल' केश बनाउने र यस किसिमको आपराधिक कार्यलाई निरन्तरता दिने सकिने उनको संवादले देखाएको प्रतिवेदनमा उल्लेख छ।

सिंहले आफ्नो पक्ष बलियो बनाउन 'नागरिक न्युज' जस्ता मिडियामा लेख छपाउने (नागरिक दैनिकको मिति: २०८२ माघ १२ गते सोमबार, अंक २६७ मा "पर्यटनको प्रतिवेदन एकातिर सीआईबी अनुसन्धान अर्कैतिर" शीर्षकमा प्रकाशन भएको) र अन्य हेलिकप्टर कम्पनीका सञ्चालकहरू (प्रताप पाण्डे, ओली आदि) लाई लिएर प्राधिकरणका महानिर्देशकलाई भेट्न जाने योजना बनाएको समेत प्रतिवेदनमा उल्लेख छ।

सिंह नक्कली रेस्क्यु अनुसन्धान प्रभावित पार्न संलग्न रहेको प्रमाणमा प्रतिवादी श्याम सुन्दर कँडेलसँग भएको कुराकानीमा बोल्ने मानिस माउन्टेन हेलिकप्टर प्रालिको सञ्चालक राजेन्द्र बहादुर सिंह रहेको भनेर अर्का प्रतिवादी जयराम रिमालले खुलाई दिएको उल्लेख छ।

त्यसैगरि प्रतिवादी श्याम सुन्दर कँडेलले प्रयोग गरेको मोबाइल नम्बरलाई राजेन्द्र बहादुर सिंहले प्रयोग गरेको नम्बरमा कुराकानी भएको देखिएको र सो पश्चात् श्याम सुन्दर कँडेलले आफ्नो नम्बरबाट जयराम रिमालको नम्बरमा ह्वाट्सएपबाट कुराकानीको अडियो पठाएको विवरणमा उल्लेख छ।

संवाद स्विकार तर प्रयोजन अस्विकार

बयानमा उनले कँडेलसँग भएको कुराकानीको अडियो आफ्नै रहेको स्वीकार गरेका छन्। कँडेल आफ्नो कम्पनीलाई व्यापार दिने व्यक्ति भएकाले पहिलेदेखि नै कुराकानी हुने गरेको र सो कुराकानी समेत व्यवसायीक प्रयोजनमा भएको उनको दाबी देखिन्छ।

उनीमाथि नागरिक दैनिकमार्फत सिआइबीको अनुसन्धानबारे शंका उठाउने समाचार प्रकाशित गर्न लगाएको आरोप समेत लागेको छ। यसबारे नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेल र उनीबीच ह्वाट्सएपमा भएको संवाद दियोपोस्टले सार्वजनिक गरेको थियो।

बयानमा उनले नागरिक दैनिकसँग सम्पर्क भएको स्वीकार गरेका छन् तर प्रभावित पारेर समाचार लेख्न लगाएको आरोप भने अस्वीकार गरेका छन्। उनले बयानमा भनेका छन् “जहाँसम्म नागरिक दैनिकमा प्रकाशित समाचारको प्रसङ्गमा मैले मेरो संवादमा भनेको कुरा र नागरिक दैनिकमा आएको कुरा मेल खाएको जस्तो लाग्दैन। एउटा दैनिक मिडियाको श्रोत थुप्रै हुने कुरा सर्वविदितै छ।”

चैत ८, २०८२ आइतबार २१:४०:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।