स्टारडम कि लापरवाही? पल तीन घण्टा ढिला आउँदा ‘आ बाट आमा’को कार्यक्रम प्रभावित

स्टारडम कि लापरवाही? पल तीन घण्टा ढिला आउँदा ‘आ बाट आमा’को कार्यक्रम प्रभावित

काठमाडौं : फिल्म ‘आ बाट आमा’को ५१ औँ दिन मनाउने कार्यक्रममा अभिनेता पल शाह तीन घण्टा ढिला पुगेपछि कार्यक्रम अव्यवस्थित बन्यो। 

उनी कार्यक्रममा निकै ढिलो गरी आएपछि निर्माण टिम निकै तनावमा देखियो।

बिहान ९ बजेदेखि कार्यक्रम सुरु गर्ने तय गरिएको भए पनि निर्माण पक्षले १० बजेदेखि कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको थियो। कार्यक्रममा सबैभन्दा पहिले अभिनेत्री सिम्रन पन्त निर्धारित समयमै पुगिन् भने केहि समयपछी उषा उप्रेती पनि आइपुगिन्। कार्यक्रमकै लागि भारतबाट नेपाल आएकी वरिष्ठ अभिनेत्री विपना थापा पनि समयमै कार्यक्रमस्थल आइपुगिन।

तर काठमाडौंमै रहेका पल शाहले ‘५ मिनेटमा आइपुग्छु’ भन्दै आयोजकलाई झण्डै तीन घण्टा कुराए। उनी दिउँसो करिब १२ बजे मात्र कार्यक्रममा पुगे। उनी आइपुग्दासम्म कार्यक्रम समापनतिर पुगिसकेको थियो। 

शाहको ढिलाइले गर्दा कार्यक्रम प्रभावित भएपछि आयोजकले समयभन्दा दुई घण्टा ढिलो गरी कार्यक्रम सुरु गरेका थिए। समयमै प्रमुख कलाकार नआएपछि झण्डै ११ बजेदेखि कार्यक्रम सञ्चालन गर्दै निर्माण टिमकै सदस्यलाई स्टेजमा बोलाउँदै सम्मानपत्र दिइयो।  

पल शाहको ढिलो आउने प्रवृत्ति दोहोरिँदै आएको छ। यसअघि पनि उनको जन्मदिनको अवसरमा वृद्धाश्रममा आयोजित खाना खुवाउने र फिल्मको सिक्वेल घोषणा कार्यक्रममा उनी तोकिएको समयभन्दा दुई घण्टा ढिलो पुगेका थिए।

उनको यहि समय व्यवस्थापनको कुरालाई लिएर बेलाबेलामा आलोचना समेत हुने गरेको छ। कतिपयले त शाह चर्चित भएपछि अरूको समयको महत्त्व नबुझेको भन्दै आलोचना गरेका छन्।
 

चैत ८, २०८२ आइतबार १६:५४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।