सभापति थापाको राजीनामा अस्वीकृत गर्न कांग्रेस केन्द्रीय सदस्यहरू एकमत
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा फिर्ता हुनुपर्नेमा केन्द्रीय सदस्यहरू एकमत देखिएका छन्।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले निर्वाचनको समीक्षा गर्दै सभापतिको राजीनामा स्वीकृत गर्न नहुने अडान राखेका हुन्।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा हालसम्म धारणा राख्ने ४६ जना केन्द्रीय सदस्यहरू सबैले थापाको राजीनामा स्वीकृत गर्न नहुने मत राखेका छन्। प्रवक्ता चालिसेले भने, “हालसम्म बोलेका शतप्रतिशत सदस्यहरूले सभापतिको राजीनामा फिर्ता हुनुपर्ने र उहाँले नै नेतृत्वलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ।”
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीले ठूलो पराजय बेहोरेपछि सभापति थापाले त्यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा घोषणा गरेका थिए। सोही राजीनामा र निर्वाचनको विस्तृत समीक्षालाई मुख्य एजेन्डा बनाएर कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाइएको थियो।
बैठकमा सहभागी सदस्यहरूले हारको जिम्मेवारी नेतृत्वको टाउकोमा मात्र थोपर्नु न्यायोचित नहुने तर्क गरेका छन्। हारको भागिदार सिङ्गो संगठन हुनुपर्ने र अहिले संकटको बेलामा नेतृत्व परिवर्तन गर्दा पार्टी थप कमजोर हुन सक्ने उनीहरूको धारणा छ।
निर्वाचनमा भएको क्षतिलाई पूर्ति गर्न र पार्टीलाई पुनः एकजुट बनाएर अगाडि बढाउन थापाकै नेतृत्व अपरिहार्य रहेको निष्कर्षतर्फ बैठक उन्मुख रहेको उनको भनाई छ। बैठकमा अधिकांश नेताहरूले नेतृत्वको राजीनामा भन्दा पनि नीतिगत स्पष्टता, संगठनात्मक सुदृढीकरण र आन्तरिक सुधारमा जोड दिनुपर्ने माग गरिरहेका छन्।
चैत ८, २०८२ आइतबार १३:४८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।