ट्रम्पको अल्टिमेटमपछि इरानको चेतावनी - 'अमेरिकी पूर्वाधारमा प्रत्याक्रमण गर्नेछौँ'

ट्रम्पको अल्टिमेटमपछि इरानको चेतावनी - 'अमेरिकी पूर्वाधारमा प्रत्याक्रमण गर्नेछौँ'

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज' ४८ घण्टाभित्र पूर्ण रूपमा नखोले  इरानका पावर प्लान्टहरूलाई नष्ट गरिदिने धम्की दिए लगत्तै इरानले पनि कडा जवाफी चेतावनी दिएको छ। 

इरानले ट्रम्पको धम्कीको बदलामा अमेरिकी र उसका सहयोगीहरूसँग सम्बन्धित क्षेत्रीय ऊर्जा, पानी र सूचना प्रविधि केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएको रोयटर्सले उल्लेख गरेको छ। 

इरानले युद्ध अब नयाँ चरणमा पुगेको समेत बताएको छ।

यसैबीच, इरानले इजरायलमा नयाँ चरणको मिसाइल आक्रमणहरू सुरु गरेको छ। जसका कारण मध्य र दक्षिण इजरायलमा साइरनहरू बजाइएका छन्। इजरायलको डिमोना र अराद क्षेत्रमा भएका यी आक्रमणहरूमा १०० भन्दा बढी मानिसहरू घाइते भएका छन्, जसमध्ये सोरोका मेडिकल सेन्टरमा मात्र १५० जनाले उपचार गराएका छन्। अराद शहरमा मात्रै ८८ जना अस्पताल भर्ना भएका छन्, जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ। 

साउदी अरबले आफ्नो ऊर्जा केन्द्रहरूलाई लक्षित गरी इरानबाट आएका करिब ६० वटा ड्रोनहरू खसालेको दाबी गरेको छ।

इराकमा रहेका सशस्त्र समूहहरूले विगत २४ घण्टामा अमेरिकी आधार शिविरहरूमा २१ वटा आक्रमण गरेको दाबी गरेका छन्।

इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेका बेला इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले आफ्नो देशबाट 'संयम'को अपेक्षा गर्नु निरर्थक रहेको बताएका छन्। स्काई न्युजसँग कुरा गर्दै बाकाईले इरानमाथि निरन्तर घातक हवाई हमला भइरहेकाले जवाफी कारबाही हुनु स्वाभाविक भएको स्पष्ट पारेका हुन्।

प्रवक्ता बाकाईले आक्रमणको सुरुवात गर्ने आक्रमणकारीहरूले पहिले हमला रोक्नुपर्ने बताएका छन्। तेहरानबाट कुनै पनि सकारात्मक प्रतिक्रिया आउनुअघि इजरायल र उसका सहयोगीले सैन्य कारबाही बन्द गर्नुपर्ने इरानको अडान छ।

यसअघि राष्ट्रपति ट्रम्पले इरानलाई ४८ घण्टाभित्र 'होर्मुज जलसन्धि' पूर्ण रूपमा खोल्न अल्टिमेटम दिँदै अन्यथा इरानका विद्युत केन्द्रहरू ध्वस्त पार्ने धम्की दिएका थिए।

चैत ८, २०८२ आइतबार १२:१६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।