कांग्रेसको केन्द्रीय समिति बैठक आज : सभापति थापाको राजीनामा स्वीकृत होला कि फिर्ता ?

कांग्रेसको केन्द्रीय समिति बैठक आज : सभापति थापाको राजीनामा स्वीकृत होला कि फिर्ता ?

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बिहान ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ। बैठकमा पार्टी सभापति गगन थापाले नैतिकताका आधारमा दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदनमाथि छलफल हुनेछ।

शुक्रबारको बैठकमा सभापति थापाको राजीनामा र निर्वाचनको प्रारम्भिक समीक्षा सम्बन्धी प्रतिवेदन पेस गरिएको थियो। चैत ६ गते सुरु भएको छलफलमा अहिलेसम्म २५ जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिसकेका छन्।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, हालसम्म धारणा राख्ने अधिकांश सदस्यहरूले सभापति थापाको राजीनामा अस्वीकार गर्नुपर्ने सुझाव दिएका छन्। निर्वाचनको परिणामलाई लिएर नैतिकताका आधारमा दिइएको राजीनामाले पार्टीलाई थप अन्योलमा पार्ने भएकोले राजीनामा फिर्ता लिन वा बैठकले अस्वीकृत गर्नुपर्ने केन्द्रीय सदस्यहरूको धारणा छ।

आइतबारको बैठकमा बाँकी रहेका सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहनेछ। सदस्यहरूको धारणा र छलफल सकिएपछि आइतबारै बैठकले सभापति थापाको राजीनामा र निर्वाचन समीक्षा प्रतिवेदनका सम्बन्धमा आधिकारिक निर्णय लिने प्रवक्ता चालिसेको भनाई छ। 

बैठकमा  उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनमाथि पनि मसिनो गरी विश्लेषण भइरहेको र यसले पार्टीको आगामी कार्यदिशा तय गर्ने बताइएको छ।

चैत ८, २०८२ आइतबार ०९:०२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।