होर्मुज स्ट्रेट खोल्न ट्रम्पको ४८ घण्टे 'डेडलाइन', अमेरिकी सहयोगी राष्ट्रमाथि इरानको जवाफी टार्गेट
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक महत्त्वको होर्मुज स्ट्रेट (जलमार्ग) पूर्ण रूपमा खोल्न इरानलाई ४८ घण्टाको समयसीमा दिएका छन्।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत आइतबार बिहान चेतावनी दिँदै ट्रम्पले तोकिएको समयभित्र इरानले जलमार्ग नखोले उसका प्रमुख पावर प्लान्टहरूमा आक्रमण गरी ध्वस्त पारिदिने बताएका हुन्।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य कारबाहीपछि यो मार्ग लगभग बन्द छ। विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति हुने यो समुद्री मार्ग अवरुद्ध हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको छ।
ट्रम्पले इरानको नौसेना र वायुसेना पहिले नै ध्वस्त भइसकेको दाबी गर्दै अब ऊर्जा पूर्वाधारमा आक्रमण केन्द्रित गर्ने उल्लेख गरेका छन्। उनले हालको अवस्थामा इरानसँग वार्ता गर्ने कुनै मनसाय नरहेको समेत स्पष्ट पारेका छन्।
यता इरानले ट्रम्पको धम्कीको कडा प्रतिवाद गरेको छ। इरानी सेनाले अमेरिकी चेतावनीको जवाफमा क्षेत्रमा रहेका अमेरिका र उसका सहयोगी राष्ट्रका ऊर्जा केन्द्र तथा पानी शुद्धीकरण प्लान्ट (डिसेलिनेसन पूर्वाधार) हरूमा आक्रमण गर्ने चेतावनी दिएको छ।
इरानी संसदका सभामुख मोहम्मद बाघेरी गालिबाफले संघर्ष अब नयाँ चरणमा प्रवेश गरेको र इजरायलको आकाश अब असुरक्षित रहेको बताएका छन्। ओमान, यूएई र इरानको बीचमा रहेको यो साँघुरो जलमार्ग बन्द हुँदा विश्वव्यापी ऊर्जा संकट थप गहिरिने जोखिम बढेको छ।
चैत ८, २०८२ आइतबार ०८:२६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।