शनिवार राती फेसबुकमा कोर टिमसँग भावी प्रधानमन्त्री बालेनको रमाइलो

शनिवार राती फेसबुकमा कोर टिमसँग भावी प्रधानमन्त्री बालेनको रमाइलो

काठमाडौं : निर्वाचन सकियो। झन्डै दुई तिहाइको बहुमतसाथ राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बन्ने पक्का। निर्वाचन अगाडि रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको छ। सरकार गठनबारे पार्टी सभापति रवि लामिछाने शाहसँगै छलफलमा छन्।

जेनजी आन्दोलनको बलमा सत्तामा पुग्दै गरेका बालेन शाहको सरकारको स्वरूप कस्तो होला? चासो स्वाभाविकै हो। तर सरकारको  नेतृत्व गर्ने तयारीमा रहेका बालेन्द्र काठमाडौं महानगरको मेयर हुँदा सामाजिक सञ्जालमा जस्तो विन्दास देखिन्थे अहिले पनि उस्तै छन्। मेयर हुँदा विशेषगरि शनिवार बेलुका उनको सामाजिक सञ्जालबाट केही न केही 'सन्देश'हरू सार्वजनिक हुन्थ्यो।

सांसदहुँदै प्रधानमन्त्री बन्दै गरेपछि पनि योक्रम रोकिएको छैन। शनिवार सामाजिक सञ्जालमा केही न केही लेख्नेक्रमलाई निरन्तरतादिँदै उनले शनिवार बेलुका आफ्ना सहयोगी भिक्टर पौडेलको फेसबुक स्टाटसमा उनको शब्दबारे प्रतिक्रिया दिए। भिक्टरले अंग्रेजीमा मौसम चेन्ज लेखेका थिए। त्यसको प्रतिउत्तरमा बालेनको अकाउन्टबाट रोमन नेपालीमा लेखियो "रुटिनको इङ्लिस किन बर्बाद छ भनेको ओनरको यस्तो रैछ। फर्क अस्ट्रेलिया फेरि, सिकेर फर्क।"

त्यसको तल भिक्टरले लेखे " हजुरका लागि वेदर च्यालेन्ज होला, हाम्रो लागि त चेन्ज नै हो।"

बाँकी रहे बालेनका मुख्य सहयोगीको रूपमा परिचित कुमार बेन। उनी मात्र किन चुप बस्थे र। उनले बालेनलाई मेन्सन गर्दै नेपाली सुधार्न सल्लाह दिए "नेपालीहरूको नेपाली किन बर्बाद छ भने हुनेवाला प्रधानमन्त्रीको नेपाली यस्तो रहेछ। नेपाली क्लास जानु, सिकेर आउनु नेपाली युनिकोड।"

भावी सरकार कस्तो बनाउने भन्ने गृहकार्यमा अति व्यस्त भएर आफ्नै दलका सांसदहरूको अभिमुखीकरण कार्यक्रममा समेत सहभागी नभएका बालेन्द्रसँग सरकार गठनबारे छलफल गर्न पार्टी सभापति रवि लामिछाने दुई उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले लिएर होटलमा गएका थिए। छलफलले सरकारको आकार कस्तो बनाउने सहमति गर्यो खुलेको छैन।

बालेन भने यो व्यस्ततामा पनि आफ्ना निकटहरूसँग सामाजिक सञ्जालमा मुड फ्रेस गर्न जिस्कन हल्का समय निकालिरहेका छन्।

चैत ७, २०८२ शनिबार २२:४३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।