मुस्लिम समुदायले नवाज पढिरहेका बेला हिन्दू समुदायले भजनको आवाज चर्को बनाएको विवाद बढ्दै गएपछि कपिलवस्तुको महाराजगञ्जमा निषेधाज्ञा जारी
कपिलवस्तु : कपिलवस्तुको महाराजगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच विवाद बढेपछि सम्भावित झडप रोक्न जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
शनिबार दिउँसो २ बजेदेखि लागू हुने गरी महाराजगञ्ज नगरपालिकाका विभिन्न क्षेत्रमा भेला, सभा, जुलुस र प्रदर्शन गर्न रोक लगाइएको हो।
पूर्वमा बर्गदी पुल, पश्चिम बहादुरगञ्ज चोक, उत्तर महाराजगन्ज बजार र दिक्षणमा हर्दौनासम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
स्थानीय प्रशासनका अनुसार महाराजगञ्ज वडा नं २ र ३ को सीमा क्षेत्रमा मुस्लिम समुदायले नवाज पढिरहेका बेला हिन्दू समुदायले दुर्गा माताको पूजा र भजनको आवाज चर्को बनाएपछि विवाद सुरु भएको थियो। भजनको आवाज घटाउने विषयलाई लिएर दुई पक्षबीच भनाभन हुँदै झडपको स्थिति सिर्जना भएको हो। झडपका क्रममा मन्दिरमा तोडफोड समेत भएको स्थानीयले बताएका छन्।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ। झडपमा एक बालकसहित हिन्दू र मुस्लिम समुदायका व्यक्तिहरू र केही प्रहरी गरी ६ जना घाइते भएका छन्।

चैत ७, २०८२ शनिबार १७:०७:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।