इरानद्वारा विश्वभरका पर्यटकीय स्थलमा आक्रमणको धम्की, तेलको मूल्य आकासियो
काठमाडौं : मध्यपूर्वमा तीन हप्तादेखि जारी तनाव झनै खतरनाक मोडमा पुगेको छ। इरानले अब विश्वभरका मनोरञ्जनात्मक तथा पर्यटकीय स्थलहरूमा समेत आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।
अर्कोतर्फ, खाडी राष्ट्रहरूले तेल प्रशोधन केन्द्रनजिकै कैयौँ ड्रोनहरू खसालेका छन् भने इजरायलमाथि इरानले निरन्तर क्षेप्यास्त्र प्रहार गरिरहेको छ। इस्लाम धर्मावलम्बीको पवित्र ईदको दिन इरानले इजरायल र खाडी मुलुकका ऊर्जा केन्द्रहरूमा आक्रमण गरेको गल्फन्यूज जनाएको छ।
इरानी सेनाले चेतावनी दिँदै भनेको छ, ‘अब विश्वभरका पार्क, रिसोर्ट र पर्यटकीय गन्तव्यहरू हाम्रा दुश्मनका लागि सुरक्षित नहुन सक्छन्।’ इरानका सर्वोच्च नेता आयतोल्लाह मोक्तबा खामेनेईले पनि इरानी जनताको दृढताको प्रशंसा गर्दै विश्वव्यापी आक्रमणको धम्कीलाई दोहोर्याएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा सैन्य कारबाही ‘कम गर्दै लैजाने’ बताए पनि मध्यपूर्वमा थप २५ सय मरिन सैनिकसहित तीनवटा युद्धपोत पठाइएको छ। योसँगै यस क्षेत्रमा ५० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ भएका छन्।
यसैबीच, बेलायतले स्ट्रेट अफ होर्मुजमा खतरा उत्पन्न गर्ने इरानी साइटहरूमा आक्रमण गर्न अमेरिकालाई आफ्नो सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको छ।
इरानी नयाँ वर्ष नौरोज मनाइरहँदा इजरायलले इरानको राजधानी तेहरान र लेबनानको बेरुतमा रहेका हिजबुल्लाहका अखडाहरूमा भीषण हवाई हमला गरेको छ। बेरुतको दक्षिणी क्षेत्रमा हजारौँ मानिसलाई घर छाड्न आदेश दिइएको छ।
साउदी अरेबिया, कुवेत, बहराइन, कतार र यूएईले इरानबाट प्रहार गरिएका भनिएका ड्रोन र मिसाइल आक्रमणलाई असफल बनाएका छन्। आक्रमणका कारण कुवेतको एक तेल प्रशोधन केन्द्रमा आगलागी भएको खबर छ।
यो युद्धमा अहिलेसम्म इरानमा १३ सय भन्दा बढी, लेबनानमा १ हजार २१ इजरायलमा १५ र १३ जना अमेरिकी सैनिकको मृत्यु भएको छ। इरान र लेबनानमा लाखौँ मानिसहरू विस्थापित भएका छन्।
युद्धका कारण कच्चा तेलको मूल्य बढेर ११२ डलर प्रतिब्यारेल पुगेको छ। इन्धनको मूल्य घटाउन ट्रम्प प्रशासनले अस्थायी रूपमा पानीजहाजमा लोड भइसकेको इरानी तेलमाथिको प्रतिबन्ध हटाएको छ। तेलको बढ्दो मूल्यले विश्वभरका सेयर बजारमा उथलपुथल ल्याएको छ र अर्थतन्त्रमा दबाब बढाएको छ।
वासिङ्टनबाट आइरहेका मिश्रित सन्देशका बाबजुद युद्ध रोकिने कुनै संकेत देखिएको छैन। दुवै पक्षले आक्रमण जारी राखेका छन्, जसले गर्दा विश्वव्यापी तेल बजार थप अनिश्चिततातर्फ धकेलिएको छ।
चैत ७, २०८२ शनिबार १४:०८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।