३७ वर्ष दुर्गममै बिताएका डा. राम कामेश्वर भन्छन्, ‘अब दुर्गम जान्न, बरु जागिर छोड्छु’
डा. राम कामेश्वर ठाकुर आयुर्वेदतर्फका बालरोग विशेषज्ञ हुन्। उनको ३७ वर्षे लामो सरकारी सेवाको वृत्तान्त सुन्दा लाग्छ, उनले सिङ्गो नेपालको भूगोललाई आफ्नै पाइलाले नापेका छन्।
मधेसको समथर भूमिमा जन्मिएर हुर्किएका उनले आफ्नो जागिरे जीवनको अधिकांश ऊर्जावान् समय काठमाडौं उपत्यकाबाहिरका दुर्गम पहाडी र हिमाली जिल्लाहरूमा बिरामीको नाडी छामेरै व्यतीत गरे।
यस लामो अवधिमा उनले ‘मलाई सुगममा सरुवा चाहियो’ भनेर कहिल्यै स्वास्थ्य मन्त्रालयको ढोका घच्घच्याएनन्। न त शक्तिकेन्द्र धाएर सरुवाका लागि ‘सोर्सफोर्स’ नै लगाए। सरकारले जहाँ-जहाँ खटायो, उनी त्यतै लुरुलुरु गए र इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरिरहे।
‘जहाँ पठाए पनि डाक्टरले उपचार गर्ने त मान्छेकै हो, जहाँ गए पनि मान्छे नै त भेटिने हो’ भन्ने सोच बोकेर उनी दुर्गमका गाउँहरूमा रमाइरहे।
जागिरको उत्तरार्धमा अहिले उनी काठमाडौंस्थित नरदेवी आयुर्वेद चिकित्सालय आइपुगेका छन्। उमेर हदका कारण सरकारी सेवाबाट अवकाश पाउन अब उनको करिब दुई वर्ष मात्र बाँकी छ। तर, सधैँ खुरुखुरु सरकारको आदेश मान्ने डा. ठाकुरको मनस्थिति अहिले भने बदलिएको छ।
अवकाशको सँघारमा आइपुग्दा अब पनि सरकारले उपत्यकाबाहिर खटाएमा बरु सरकारी जागिरै छोड्ने तर नजाने दृढ मनस्थितिमा उनी पुगेका छन्। उकेरासँगको कुराकानीमा उनले आफ्नो साढे तीन दशक लामो चिकित्सकीय अनुभव, भोगाइ र स्वास्थ्य क्षेत्रका केही विकृतिबारे समेत आफ्नो अनुभव साटेका छन्:
‘गल्ती उत्पादकको कुटाइ खाने डाक्टर’
कुराकानीको सुरुवात आयुर्वेदसम्बन्धी औषधिबाट भयो। बिरामीको उपचार गर्दा उनीहरूको शारीरिक रोग मात्र नभई मनोभावसमेत बुझेर अगाडि बढ्नुपर्ने डा. ठाकुरको बुझाइ छ।
बिरामीलाई राम्रो र स्पष्ट परामर्श दिन सके मात्र उपचार प्रक्रिया सहज र प्रभावकारी हुने उनी बताउँछन्। तर, कहिलेकाहीँ चिकित्सकले जतिसुकै मेहनत र सही पहिचान गरेर औषधि दिए पनि औषधि नै गुणस्तरहीन पर्दा बिरामी निको हुँदैनन्।
बजारमा पाइने आयुर्वेदिक औषधिको गुणस्तरमा ठूलो भिन्नता हुने गरेको उनको अनुभव छ। यसरी गुणस्तरहीन औषधिका कारण बिरामी निको नहुँदा त्यसको प्रत्यक्ष मार र दोष भने चिकित्सकले खेप्नुपर्ने जोखिम सधैँ रहन्छ।

‘चिकित्सकले जति नै मेहनत गरे पनि औषधि गुणस्तरहीन पर्यो भने डाक्टरले गाली खानुका साथै कहिलेकाहीँ त कुटाइसमेत खानुपर्ने स्थिति आउँछ,’ उनी भन्छन्, ‘गल्ती औषधि उत्पादकले गर्ने, अनि अपजस डाक्टरले बोक्नुपर्दा मन निकै खिन्न हुन्छ।’
यसैकारण डा. ठाकुर बिरामीलाई औषधि प्रेस्क्राइब गर्नुअघि त्यसको गुणस्तरमा विशेष ध्यान दिन्छन्। कुनै पनि दृष्टिबाट बिरामीलाई धोका दिनुहुँदैन भन्ने कुरामा उनी अत्यन्तै सचेत छन्।
बालरोगको उपचारमा आयुर्वेदिक औषधि निकै प्रभावकारी हुने र यसले लाभ नगरे पनि साइड इफेक्ट नगर्ने उनको दाबी छ। तर, आयुर्वेद चिकित्सकको उचित परीक्षण र परामर्शबिना जथाभावी ‘आयुर्वेदिक’ नामका औषधिहरू सेवन नगर्न उनी सबैलाई सचेत गराउँछन्।
वन विज्ञान पढ्दापढ्दै पलाएको डाक्टर बन्ने हुटहुटी
२०२५ सालमा रौतहटको साबिक औरैया (हाल ईशनाथ नगरपालिका-४, महुलिया) मा जन्मिएका राम कामेश्वरले २०४१ सालमा स्थानीय श्री जनता माविबाट एसएलसी उत्तीर्ण गरे। एसएलसीपछि उनी वन विज्ञान पढ्न भन्दै हेटौंडाको रामपुर क्याम्पस भर्ना भए। तर, उनको भित्री इच्छा र सपना भने डाक्टर बन्ने नै थियो।
फरेस्ट्री पढ्दै गर्दा पनि उनले चिकित्साशास्त्र अध्ययनको तयारी भने छाडेका थिएनन्। नभन्दै करिब चार महिना फरेस्ट्री पढेपछि उनले चिकित्साशास्त्र अध्ययन गर्ने अवसर पाइछाडे।
त्यसपछि फरेस्ट्री छाडेर २०४२ सालमा उनी काठमाडौंको नरदेवीस्थित आयुर्वेद क्याम्पसमा भर्ना भए। त्यहाँबाट उनले ‘आयुर्वेद एन्ड जनरल मेडिसिन’ विषयमा तीन वर्षे प्रवीणता प्रमाणपत्र तहको अध्ययन सुरू गरे।
यो आधुनिक र आयुर्वेद चिकित्सा दुवै सम्बन्धी अध्ययनको विषय हो। २०४५ सालमा उनको उक्त अध्ययन पूरा भयो।
कविराजदेखि विशेषज्ञसम्म : देश दर्शन गराउने ३७ वर्षे यात्रा
अध्ययन पूरा गरेलगत्तै २०४६ सालमा लोकसेवा आयोगको परीक्षामार्फत उनी ‘कविराज’ को रूपमा सरकारी स्थायी सेवामा प्रवेश गरे। सरकारी जागिरे भएपछिको उनको पहिलो पोस्टिङ सुदूरपश्चिमको दार्चुलास्थित खलंगा आयुर्वेद औषधालयमा भयो। त्यहाँ उनले करिब दुई वर्ष काम गरे।
त्यसपछि २०४८ सालमा उनको सरुवा दाङको बिजौरीस्थित तत्कालीन क्षेत्रीय आयुर्वेद चिकित्सालयमा भयो। दाङपछि उनी सुदूरपश्चिमकै अर्को दुर्गम जिल्ला बझाङ पुगे। तर, उनलाई थप अध्ययन गर्नु नै थियो।
२०५१ सालमा उनी भारतको मध्य प्रदेशस्थित ग्वालियर शास्त्रीय आयुर्वेद महाविद्यालय पुगे र ‘ब्याचलर्स अफ आयुर्वेद मेडिसिन एन्ड सर्जरी’ (बीएएमएस) को अध्ययन थाले। २०५७ सालमा बीएएमएस सकेर उनी नेपाल फर्किए।
नेपाल फर्किएपछि उनी सप्तरीको तत्कालीन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा खटिए। बीएएमएस गरेर चिकित्सक बनिसके पनि कविराजकै पदमा काम गरिरहेका उनी २०६० सालमा लोकसेवामार्फत सातौं तहको आयुर्वेद चिकित्सक पदमा पुगे।
त्यसपछि पनि उनको अध्ययन यात्रा रोकिएन। २०६४ सालमा उनी भारतको राजस्थान, जयपुरस्थित ‘राष्ट्रिय आयुर्वेद संस्थान’ मा बालरोग विषयमा तीनवर्षे ‘एमडी’ गर्न पुगे। आयुर्वेदमा नवजात शिशुदेखि किशोरावस्थासम्मका बालबालिकाको स्वास्थ्य, रोगको निदान, औषधि उपचार र पोषणजस्ता विषयलाई ‘कौमारभृत्य’ भनिन्छ।

भारतबाट एमडी सकेर फर्किएपछि २०६५ सालमा उनी फेरि दुर्गम जिल्ला अछामको आयुर्वेद केन्द्रमा पुगे। अछामपछि पर्साको वीरगञ्ज हुँदै २०६८ सालमा उनी सोलुखुम्बुस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पुगेर करिब डेढ वर्ष सेवा गरे। निरन्तर दुर्गम धाउने उनको यो क्रम चलिरह्यो।
२०६९ सालमा नवौं तहको चिकित्सकका रूपमा बढुवा भएपछि मात्र उनी सरुवा भएर काठमाडौंस्थित नरदेवी आयुर्वेद चिकित्सालय आइपुगे। २०७१ सालमा डा. ठाकुर दशौं तहको वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद चिकित्सक बने।
तर, दशौँ तहमा पुगेको १२ वर्ष बितिसक्दा पनि त्योभन्दा माथि सरकारी दरबन्दी नै नहुँदा बढुवाको अवसर नपाएकोमा उनको गहिरो गुनासो छ।
नरदेवीमा करिब तीन वर्ष काम गरेपछि २०७४ सालमा उनी फेरि सरुवा भएर दाङको बिजौरीस्थित तत्कालीन क्षेत्रीय आयुर्वेद चिकित्सालय फर्किए। त्यहाँ उनले करिब तीन वर्ष निमित्त निर्देशकको भूमिकामा रहेर काम गरे। त्यहाँ उत्कृष्ट कार्यसम्पादन गरेकै कारण उनी सरकारबाट ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ पदकबाट समेत सम्मानित भए।
दाङपछि २०७८ मा उनी पुनः नरदेवी फर्किए। नरदेवीपछि २०८० मा उनी प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी पुगे। धनगढीको बसाइपछि गत कात्तिकमा मात्र उनी फेरि काठमाडौंस्थित नरदेवी आयुर्वेद चिकित्सालय आइपुगेका छन्।
उनी बालरोग विशेषज्ञ भए पनि दुर्गमका विभिन्न ठाउँमा पुग्दा केवल बालरोगमा मात्र सीमित नभई समग्र आयुर्वेद चिकित्सकका रूपमा सम्पूर्ण बिरामीको उपचार गरे।
‘अब दुर्गम जान्न, बरु जागिरै छोड्छु’
३७ वर्षे जागिरे जीवनमा डा. ठाकुर कहिल्यै एकै ठाउँमा ढुक्कले बसेनन्। स्वास्थ्य मन्त्रालयले जता खटायो उनी त्यतै गए। उनको जीवनको अधिकांश समय उपत्यकाबाहिरका तराई, पहाड र हिमाली भेगमै बित्यो। काठमाडौंमा उनले निकै कम समय मात्र बिताएका छन्।
तर, सेवाबाट बिदा लिने समय नजिकिँदै गर्दा उनको मनमा अहिले एउटा गम्भीर प्रश्न उठ्न थालेको छ।
‘कोही भने सोर्सफोर्स र पहुँच लगाएर सधैँ काठमाडौंमै बसिरहने, अनि मैले चाहिँ कतिन्जेल दुर्गम मात्र धाइरहनुपर्ने?’, उनी प्रश्न गर्छन्। जीवनको उर्वर र ऊर्जावान् समय दुर्गमका बिरामीको सेवामै सुम्पिसकेकाले अब उनलाई काठमाडौंबाहिर गएर काम गर्ने रहर फिटिक्कै छैन।
‘मैले आजसम्म सरुवाका लागि न कसैलाई सोर्सफोर्स लगाएँ, न त निवेदन नै दिएँ। सरकारले जता पठायो उतै गएर इमानदारीपूर्वक काम गरेँ,’ उनी भन्छन्, ‘तर अब मेरो जागिर जम्मा दुई वर्ष बाँकी छ। यदि अब पनि सरकारले मलाई उपत्यकाबाहिर सरुवा गरिदियो भने म बरु जागिरै छोडिदिन्छु, तर बाहिर जान्नँ।’
उमेरले नछेकेको अध्ययनको भोक
जागिरको उत्तरार्धमा पुगे पनि डा. ठाकुरको अध्ययन र अनुसन्धानको भोक भने अझै मरेको छैन। हाल उनी दाङको बिजौरीस्थित नेपाल संस्कृत विश्वविद्यालयमा भर्ना भएर बालबालिकाको कुपोषण (कौमारभृत्य) सम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) गरिरहेका छन्।
उनी विशेषगरी बालबालिकामा देखिने अटिजम, मस्कुलर डिस्ट्रोफी, मानसिक समस्या, कम्प्युटर भिजन सिन्ड्रोम र कुपोषणजस्ता विषयमा आयुर्वेदिक चिकित्साको दृष्टिबाट खोज, अध्ययन र अनुसन्धानमा केन्द्रित छन्।
ती बिरामी, जसले अनुसन्धानको भोक जगाए
आफ्नो लामो चिकित्सकीय जीवनमा डा. ठाकुरले थुप्रै जटिल बिरामीको सफल उपचार गरेका छन्। नरदेवी अस्पतालमा उपचारका लागि ल्याइएका एक ८ वर्षीय बालकको घटनालाई उनी कहिल्यै भुल्न सक्दैनन्।
ती बालक ‘मस्कुलर डिस्ट्रोफी’ (जीनमा भएको खराबीका कारण मांसपेशी कमजोर हुँदै जाने वंशाणुगत रोग) बाट ग्रसित थिए। रोगका कारण ती बालकको शरीरका मांसपेशी यति कमजोर भइसकेका थिए कि उनी हिँडडुल गर्न नसक्ने, उठ्न खोज्दा लड्ने र पूर्ण रूपमा शिथिल अवस्थामा पुगिसकेका थिए।

ती बालकको अवस्था पहिचान गरेपछि डा. ठाकुरले आयुर्वेदिक विधिबाट उपचार सुरु गरे। निरन्तरको आयुर्वेदिक औषधि र थेरापीसहितको करिब ६ महिना लामो उपचारपछि ती बालकको स्वास्थ्यमा करिब ९० प्रतिशत सुधार आयो।
रोगले शिथिल भएका ती बालक निको भएर गएपछि उनको जीवन कस्तो भयो होला भन्ने प्रश्न डा. ठाकुरको मनमा अझै खेलिरहन्छ। यही घटनाले उनलाई बालरोगको क्षेत्रमा थप गहिरो खोज तथा अनुसन्धान गर्न प्रेरित गर्यो।
दाङका ती ६० वर्षे बाजे, जसको ज्यान मुस्किलले बाँच्यो
दाङको बिजौरीस्थित तत्कालीन क्षेत्रीय आयुर्वेद चिकित्सालयमा काम गर्दाको अर्को एउटा घटना पनि उनको मानसपटलमा गहिरो गरी गढेको छ। त्यहाँ चिकित्सकहरूको टोलीले करिब ६० वर्षीय एक वृद्धको पायल्सको शल्यक्रिया गरेको थियो।
शल्यक्रिया सफल पनि भयो। त्यसपछि ती बाजेलाई ‘पोस्ट अपरेटिभ वार्ड’ हुँदै जेनेरल वार्डमा सारियो। तर, वार्डमा पुगेपछि अचानक ती बिरामीको उच्च रक्तस्राव सुरू भयो। जति गर्दा पनि रक्तस्राव नरोकिँदा बिरामीको ज्यानै पो जाने हो कि भन्ने ठूलो जोखिम र त्रास उत्पन्न भयो।
डा. ठाकुरसहितको सम्पूर्ण चिकित्सक टोलीले ती बाजेको रक्तस्राव रोक्न निकै ठूलो संघर्ष र मेहनत गर्यो। भाग्यवश, केही बेरको अथक प्रयासपछि रक्तस्राव रोक्न टोली सफल भयो। बिरामीको ज्यान बाँच्यो।
त्यसपछिका केही दिनको निरन्तर औषधि उपचारपछि ती वृद्धलाई पूर्ण रूपमा निको बनाएर घर पठाउन सफल भएको त्यो क्षण डा. ठाकुर आफ्नो चिकित्सकीय जीवनकै एक ठूलो सन्तोषको क्षण मान्छन्।
चैत ७, २०८२ शनिबार १०:२२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।