लुम्बिनी अस्पतालमा स्वास्थ्य बीमा : एकातिर बिरामीको थेगिनसक्नु चाप, अर्कोतिर ५५ करोड बक्यौता

लुम्बिनी अस्पतालमा स्वास्थ्य बीमा : एकातिर बिरामीको थेगिनसक्नु चाप, अर्कोतिर ५५ करोड बक्यौता

बुटवल : बिहानको ६ बज्दै गर्दा लुम्बिनी प्रादेशिक अस्पतालको मुख्य गेटमा बिरामी र तिनका कुरुवाहरूको लामो लाइन लागिसकेको हुन्छ।

हातमा स्वास्थ्य बीमा कार्ड, पुरानो स्वास्थ्य परीक्षणको रिपोर्ट र निको हुने आशाको भारी बोकेर बसेका सयौँ बिरामीहरू कोही टिकट लिने पालो पर्खिरहेका हुन्छन्, कोही औषधि पाउन त कोही ल्याब रिपोर्ट बुझ्न।

लुम्बिनी प्रदेशकै ‘लाइफलाइन’ मानिने यो अस्पताल यतिबेला विपन्न र दीर्घरोगीहरूका लागि भरोसाको सबैभन्दा ठूलो केन्द्र बनेको छ। तर, त्यही भरोसा र बिरामीको अस्वाभाविक चापले अस्पताल आफैँ भने बिस्तारै थिचिँदै र गल्दै गएको छ।

एकातिर बिरामीको चाप थेगिनसक्नु छ भने अर्कोतिर बीमा बोर्ड (सरकार) बाट पाउनुपर्ने करोडौं रुपैयाँ सोधभर्ना नपाउँदा अस्पतालको ‘आर्थिक मुटु’ नै कमजोर बन्दै गइरहेको छ।

वार्षिक दुई लाख बिरामीको चापः यसरी बढ्यो तथ्याङ्क
२०७२ सालदेखि नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमले यस अस्पतालमा बिरामीको चाप अस्वाभाविक रूपमा बढाएको छ। सुरुवाती वर्षहरूमा सीमित सेवाग्राहीले मात्र लिने गरेको यो सेवा अहिले वार्षिक झण्डै दुई लाख बिरामीले लिइरहेका छन्।

अस्पतालका बीमा शाखा प्रमुख दिपेन्द्र पौडेलले उपलब्ध गराएको तथ्याङ्कले बीमा कार्यक्रमप्रतिको बढ्दो आकर्षण र अस्पतालमाथिको भार दुवै प्रष्ट पार्छ। उनका अनुसार, कार्यक्रम सुरु भएको वर्ष २०७२ सालमा जम्मा १६ जनाले मात्र यो सेवा लिएका थिए।

त्यसपछि २०७३ सालमा ३१०, २०७४ सालमा २ हजार ६२९ र २०७५ सालमा ८ हजार ६२० जनाले बीमा सेवा लिए।

त्यसयता भने बिरामीको सङ्ख्याले ठूलो फड्को मारेको देखिन्छ। २०७६ सालमा १० हजार १६४ जनाले सेवा लिएकोमा आर्थिक वर्ष २०७७ मा यो सङ्ख्या एकैचोटि बढेर ९० हजार ९८१ पुग्यो।

त्यसैगरी, २०७८ मा १ लाख १२ हजार ४५९, २०७९ मा १ लाख ६१ हजार ८५९ र २०८० मा १ लाख ८५ हजार ४५४ जनाले बीमा सेवा लिए।

२०८१ सालमा आइपुग्दा यो सङ्ख्या अझ बढेर १ लाख ९८ हजार ३७१ पुगेको छ। चालु आर्थिक वर्ष २०८२ को फागुन मसान्तसम्म मात्रै १ लाख ३६ हजार ६८८ जना बिरामीले बीमा सेवा लिइसकेका छन्।

५५ करोडभन्दा बढी बक्यौता, सेवा निरन्तरतामै चुनौती
बिरामीको चाप बढ्नु स्वाभाविक भए पनि बीमा उपचारको सबैभन्दा ठूलो र जटिल समस्या भने सेवा प्रवाह नभएर भुक्तानीमा भइरहेको चरम ढिलाइ हो। अस्पताल प्रशासनका अनुसार, स्वास्थ्य बीमा बोर्डबाट अस्पतालले सोधभर्ना बापत पाउनुपर्ने ५५ करोड रुपैयाँभन्दा बढी रकम अझै भुक्तानी हुन सकेको छैन।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल बीमा बापतको ठूलो रकम समयमै नआउँदा अस्पतालको सम्पूर्ण चक्र नै प्रभावित भएको बताउँछन्। भुक्तानी रोकिँदा औषधि खरिददेखि उपकरण मर्मतसम्मका सबै क्षेत्रमा गम्भीर असर परेको छ।

‘बीमा बापतको यति ठूलो रकम रोकिँदा अस्पतालको वित्तीय अवस्था निकै कमजोर भएको छ,’ डा. ढकालले भने, ‘औषधि खरिद गर्न, बिग्रिएका उपकरण मर्मत गर्न र नयाँ प्रविधि भित्र्याउन हामीलाई निकै कठिन भइरहेको छ। यस्तै अवस्था रहिरहने हो भने भोलिका दिनमा सेवा निरन्तरतामै गम्भीर प्रश्न उठ्न सक्छ।’

भीड व्यवस्थापनका लागि काउन्टर विस्तारदेखि डिजिटल प्रणालीसम्म
बढ्दो भीडलाई व्यवस्थापन गर्न अस्पतालले आफ्नो सेवा संरचनामा उल्लेखनीय विस्तार भने गरेको छ। सुरुमा एउटा मात्र काउन्टरबाट दिइने बीमा सेवा अहिले पाँचवटा टिकट काउन्टरमार्फत सञ्चालन भइरहेको छ।

बिलिङका लागि पनि पाँचवटै काउन्टर विस्तार गरिएको छ भने इमर्जेन्सी, डिस्चार्ज र ओपीडीका लागि छुट्टाछुट्टै काउन्टरको व्यवस्था मिलाइएको छ।

अहिले अस्पतालले बीमा फार्मेसीतर्फ १० जना र बीमा टिकट, बिलिङ तथा इमर्जेन्सी काउन्टरमा गरी ३९ जना कर्मचारीलाई पूर्ण रूपमा परिचालन गरी सेवा सञ्चालन गरिरहेको छ।

त्यस्तै, सेवालाई छिटोछरितो बनाउन डिजिटल टोकन प्रणाली, डिजिटल क्यास काउन्टर, अटोमेटिक ल्याब रिपोर्ट डिस्प्ले र स्वास्थ्य सहायता कक्ष स्थापना जस्ता प्रविधिमैत्री उपायहरू पनि लागू गरिएका छन्।

अस्पताल प्रशासनका अनुसार यी सुधारहरूले सेवा प्रवाहलाई केही सहज बनाएको भए पनि मूल समस्या अझै समाधान हुन सकेको छैन।

‘बीमा छ, तर सहजता छैन’
स्वास्थ्य बीमा कार्यक्रमले विपन्न नागरिकको उपचार खर्च त घटाएको छ, तर प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारण सेवाग्राहीले पाउने सास्ती भने अझै घटेको छैन।

पाल्पाको रैनादेवी छहरा गाउँपालिकाबाट उपचारका लागि आएका मनोज बुढा टिकट लिन र ल्याब परीक्षण गराउन घण्टौँ लाइनमा बस्नुपरेको गुनासो गर्छन्।

‘बीमा नभएको भए मेरो उपचार नै सम्भव थिएन, त्यसैले यो राम्रो छ। तर, यहाँ टिकट लिन र डाक्टरलाई देखाउनै आधा दिन बित्छ’, उनले भने।

त्यसैगरी, रुपन्देही मर्चवारीकी अन्सु पासवानको गुनासो अर्कै छ। बीमाले दिएको पैसाले महिनाभरि खाने औषधि नपुग्ने र बाँकी औषधि आफ्नै खल्तीको खर्चमा किन्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्।

अस्पतालले टोकन सिस्टम, डिजिटल क्यास काउन्टर र काउन्टर सङ्ख्या बढाएर भीड व्यवस्थापन गर्ने प्रयास गरे पनि बिरामी सन्तुष्ट छैनन्। रुपन्देहीको शुद्धोधनबाट आएका राम थारुले रिपोर्ट आउनै धेरै समय लागेको बताए।

‘यसभन्दा अघिल्लो पटक आउँदा सर्भर बिग्रिएको थियो, बिना उपचार फर्केर गएँ,’ उनले भने, ‘अहिले आउँदा सर्भर त चलेको छ, तर बिरामीको यति धेरै चाप छ कि छिटो पालो नै आउँदैन।’

यता, अस्पतालका कर्मचारीहरू पनि सर्भरमा आउने समस्याका कारण बिरामीले सास्ती खेप्नुपरेको यथार्थ स्वीकार गर्छन्।

‘बीमा दाबी गर्ने सरकारी सर्भर निकै सुस्त छ,’ एक कर्मचारीले भने, ‘सर्भर सुस्त हुँदा एउटै बिरामीको विवरण इन्ट्री गर्न धेरै समय लाग्छ, जसले गर्दा लाइन लामो हुने र बिरामीले दुःख पाउने अवस्था सिर्जना भएको हो।’

चैत ७, २०८२ शनिबार ०७:५६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।