देशभरका मुस्लिम समुदायले आज इद उल फित्र मनाउँदै
काठमाडौं : अरबी पात्रो (हिजरी संवत्) अनुसार नवौँ महिना (रमजान) भर निराहार व्रत (रोजा) बसेका देशभरका मुस्लिम धर्मावलम्बीले आज विशेष नमाज पाठ गरी ‘इद उल फित्र’ पर्व मनाउँदै छन्।
आज बिहानै स्नान गरी नयाँ कपडा लगाएर मस्जिद तथा इदगाहमा पुगी विशेष नमाज पाठ गरेपछि यो पर्वको रौनक सुरु हुन्छ। नमाजपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिने र सानालाई आशीर्वाद तथा माया दिने चलन छ।
यस अवसरमा आफन्त, इष्टमित्र र छिमेकीलाई घरमा बोलाएर सेवई, खजुरलगायत मीठा परिकार खुवाउने परम्परा छ।
अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन (चाँद रात) चन्द्रमा देखिएपछि भोलिपल्ट इद उल फित्र मनाउने तय हुने मुस्लिम धर्मावलम्बी एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले जानकारी दिए।
उनका अनुसार आज काठमाडौंको घण्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहहरूमा विशेष कार्यक्रमका साथ सामूहिक नमाज पाठ गरिन्छ।
खुसीपूर्वक दान गरेर दीनदुःखी र गरिबलाई बाँडिने भएकाले नै यो पर्वलाई 'इद उल फित्र' भनिएको हो। यस पर्वमा दानको विशेष महत्त्व हुन्छ।
मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख भएअनुसार यस पर्वमा प्रत्येक व्यक्तिले आफ्नो एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान छ, जसलाई ‘जकात’ भनिन्छ। यसरी निकालिएको जकात गरिब र विपन्नलाई बाँडिन्छ।
त्यसैगरी, इदको नमाज पढ्न जानुअघि प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सोबराबरको नगद दान गर्नुपर्छ, जसलाई 'सदका-ए-फित्र' (फितरा) भनिन्छ।
यो दान आमाको गर्भमा रहेको बच्चाको नामबाट पनि निकाल्नुपर्ने धार्मिक नियम छ। जकात र फितरा दुवै गरिब र असहायलाई दिइन्छ, ताकि उनीहरूले पनि खुसीका साथ इद मनाउन सकून्।
एक महिनाअघि सुरु भएको रोजा (व्रत) का क्रममा सूर्योदयअघिदेखि सूर्यास्त नहुने बेलासम्म अन्नजल केही नखाई व्रत बस्ने गरिन्छ। एक वर्षभित्र गरेका पापमोचन हुने र आत्मा शुद्ध हुने विश्वासका साथ यो व्रत बस्ने गरिएको सतारले बताए।
यस पर्वका अवसरमा मुस्लिम समुदायले एकआपसमा अङ्कमाल गर्दै इदको शुभकामना (इद मुबारकत) आदानप्रदान गर्छन्।
चैत ७, २०८२ शनिबार ०७:४१:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।