ढोरपाटनमा भारी हिमपात : आलु रोप्ने किसान मर्कामा, जनजीवन कष्टकर

ढोरपाटनमा भारी हिमपात : आलु रोप्ने किसान मर्कामा, जनजीवन कष्टकर

ढोरपाटन : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा शुक्रबार दिउँसोदेखि भारी हिमपात भएको छ।

निरन्तरको हिमपातले ढोरपाटन उपत्यका र आसपासका क्षेत्र सेताम्य हुनुका साथै स्थानीयको जनजीवन निकै कष्टकर बनेको छ।

चैत महिनामा सुरू भएको बेमौसमी हिमपातले विशेषगरी आलु रोप्ने तयारीमा रहेका किसानलाई ठूलो मार्का परेको छ।

ढोरपाटन नगरपालिका-९ का स्थानीय धनबहादुर विकका अनुसार यतिबेला आलु रोप्नकै लागि बोबाङ, अधिकारीचौरलगायतका तल्लो क्षेत्रबाट किसानहरु ढोरपाटन उक्लिएका थिए। तर, बाक्लो हिउँ जमेपछि खेतीपातीको काम पूर्ण रुपमा प्रभावित भएको छ।

‘चैत महिनामा गर्मी बढ्न लाग्दा विरलै मात्र हिउँ पर्थ्यो। यतिबेला हामीलाई आलु रोप्ने चटारो थियो,’ विकले भने, ‘खेतीपातीका लागि अलिअलि वर्षा त चाहिएको थियो, तर हिउँ नै परेपछि दैनिकी निकै कष्टकर बनाइदियो।’

केही दिनदेखिको सामान्य वर्षापछि सुरु भएको हिमपातका कारण वस्तुभाउलाई घाँस र दाना दिनसमेत मुस्किल परेको स्थानीयले बताएका छन्।

अर्का स्थानीय तुलराम पुनले रातिदेखि भमरीजस्तै उडेर आएको हिमपातका कारण यस क्षेत्रमा अत्यधिक चिसो बढेको जानकारी दिए।

बाक्लो हिउँ र चिसो हावाका कारण मानिसहरु घरबाहिर निस्किएर हिँडडुल गर्न र पशुचौपायाको स्याहारसुसार गर्न नसक्ने अवस्थामा पुगेका छन्।

चैत ७, २०८२ शनिबार ०७:३५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।