सागर लम्सालको बेवास्ताले तनावमा ‘डल्लेले इन्ट्री मार्यो’का निर्देशक
काठमाडौं : प्रदर्शनको तयारीमा रहेको फिल्म ‘डल्लेले इन्ट्री मार्यो’का मुख्य कलाकार सागर लम्साल ‘बले’ले फिल्मको प्रचारप्रसारमा सहयोग नगरेपछि निर्देशक राजु गिरी उनीसँग रुष्ट देखिएका छन्।
चैत २७ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको प्रमोसन छाडेर लम्साल अर्को चलचित्र ‘पाँच पाण्डव’को छायाङ्कनमा व्यस्त भएपछि निर्देशक गिरीले आक्रोश र असन्तुष्टि व्यक्त गरे। लम्सालले फिल्मको एउटा पोस्टर समेत सेयर नगरेको आरोप लगाएका गिरी कलाकारको गैरजिम्मेवारीपनले मानसिक तनावमा देखिएका छन्।
"फिल्म चल्ने बेला फिल्मको प्रमोसनमा हिँड्नु पर्ने नायक नयाँ काममा समय दिने हो," गिरी भन्छन्, "रिलिज चैतमा भन्दाभन्दै अर्को छांयाकन जाने,आएको पोस्टर समेत शेर गर्दैनन्। कलाकारले नि प्रमोसन साथ नदिए कसरी हुन्छ?"
यदि फिल्म चलेको खण्डमा मैले गर्दा चलेको भनेर क्रेडिट नलिन उनले चेतावनी दिएका छन्। निर्देशक गिरी लेख्छन्, "यो फिल्म चले मेरो कारणले भन्ने होला। प्रोमोसनमा पुरानो नायक नायिकाबाट सिक्नु।"
उनी बलियो कलाकारसँग भिड्नु चानचुने कुरा होइन। त्यस कारण निर्माण पक्षले मात्र होइन, कलाकारले पनि उतिकै साथ दिनुपर्छ। राजु प्रमोसनमा साथ नदिने कलाकारलाई पैसा दिएर फिल्म खेलाउनुभन्दा माग्नेलाई दिनु बेस भन्ने निष्कर्षमा देखिन्छन्।
"प्रोमोसनमा साथ न दिने कलाकारलाई लिएर फिल्म बनाउनु भन्दा, त्यो कलाकारलाई दिएको पैसा दुःखी गरिबलाई दिँदा राम्रो रहेछ," उनी कलाकार लम्सालप्रति आक्रोश व्यक्त गर्दै लेख्छन्, "कलाकार सजिलो छ। एउटा फिल्म खेलायो ब्रेक दियो ५ टाउकोमा २० मिनेट रोल खेलेर के हुन्छ?"
उनले अहिले भइरहेको सुटिङ पाँच पाण्डवलाई लक्षित गर्दै मैले मेन भूमिका दुई घण्टा दिएको छु। त्यो पाँच ठाउँमा २० मिनेट अभिनय के हुन्छ र ? साथी निर्देशक वसन्त निरौलाबाट नै पहिलो पटक धोका भएको उनको आरोप छ। उनी थप्छन्, "साथी निर्देशक फर्स्ट धोका । उहाँको हो ल?उहाँले दिएको धोका देख्दा फिल्मको काम छोड्न मन छ।"
फिल्ममा समावेशमध्ये अलिक जल्दो बल्दो सागर लम्साल नै हुन्। फिल्ममा सागर अनुबन्धित हुँदा उनले पैँतिस लाख पारिश्रमिक लिएको हल्ला थियो। तर यसबारेमा दुवै पक्षले आधिकारिक रूपमा बाहिर बोलेका छैनन्। फिल्मको चर्चाका लागि हो या अरू कुनै कारण, तर कलाकार लम्सालले यस फिल्ममा साइन गर्दा ३५ लाख पारिश्रमिक लिएको खुबै चर्चा थियो।
अहिले उनी फिल्मको प्रमोसनको सबै काम छाडेर झापाको बिर्तामोडमा भइरहेको फिल्म ‘पाँच पाण्डव’को छायांकनमा छन्। राजु गिरीको निर्देशन, लक्ष्मण सुवेदीको पटकथा र संवाद लक्ष्मण रहेको ‘डल्लेले इन्ट्री मार्यो’मा सागर लम्साल (बले)का अलावा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रवीन्द्र झालगायतका कलाकारले अभिनय गरेका छन्।
चैत ६, २०८२ शुक्रबार १८:२२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।