काठमाडौं उपत्यकामा असिनासहित वर्षा
काठमाडौं : काठमाडौं उपत्यकामा शुक्रबार अपराह्न असिनासहित वर्षा भएको छ। मौसममा आएको आकस्मिक फेरबदलसँगै भएको वर्षा र असिनाका कारण उपत्यकाको जनजीवन प्रभावित भएको छ।
असिना र वर्षाले केही समय सवारी आवागमनमा अवरोध पुग्नुका साथै पैदल यात्रीहरूलाई समेत समस्या भएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रणालीको प्रभावले गर्दा मौसममा परिवर्तन आएको हो।
मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ। हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको र यो प्रणाली उत्तर-पूर्वतर्फ सर्दै गएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यसैगरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यकासहित विभिन्न स्थानमा हावाहुरी चलिरहेको जानकारी दिएको छ। हावाहुरीका कारण रुख, बिजुली तथा टेलिफोनका पोल ढल्न सक्ने, तार चुँडिने र जस्तापाताका छाना उडाउन सक्ने जोखिम रहेकाले सचेत रहन प्राधिकरणले चेतावनी दिएको छ।
प्राधिकरणले सर्वसाधारणलाई असुरक्षित यात्रा नगर्न, हावाहुरीको समयमा सुरक्षित स्थानमा रहन र विद्यालय बस सञ्चालन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
चैत ६, २०८२ शुक्रबार १६:५६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।