थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, पुरानो सिम निःशुल्क फोरजीमा रूपान्तरण गर्न आग्रह
काठमाडौं : नेपाल टेलिकमले निकट भविष्यमै आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्ने भएको छ।
कम्पनीले थ्रीजी सेवालाई फोरजीमा रूपान्तरण गर्ने कार्य अघि बढाएको जानकारी दिँदै आफ्ना ग्राहकहरूलाई पुरानो सिम कार्ड परिवर्तन गर्न आग्रह गरेको छ।
टेलिकमले हाल टुजी र थ्रीजी मात्र सपोर्ट गर्ने पुराना सिम कार्ड प्रयोग गरिरहेका ग्राहकहरूलाई लक्षित गर्दै यो सूचना जारी गरेको हो।
यस्ता पुराना सिम प्रयोगकर्ताहरूलाई कम्पनीले सिस्टममार्फत भ्वाइस कल तथा एसएमएस पठाएर सिम परिवर्तन गर्न जानकारी गराइरहेको जनाएको छ।
टेलिकमको सूचना अनुसार, सम्बन्धित ग्राहकहरूले आफ्नो पुरानो सिमलाई फोरजी सिममा निःशुल्क रूपान्तरण गर्न सक्नेछन्। यसका लागि ग्राहकले पायक पर्ने नजिकको नेपाल टेलिकमको कार्यालयमा जानुपर्नेछ।
सिम परिवर्तन गर्न जाँदा ग्राहकले आफ्नो पहिचान खुल्ने आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ। टेलिकमका अनुसार नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा अन्य कुनै सरकारी प्रमाणपत्र देखाएर नयाँ फोरजी सिम लिन सकिनेछ।
यसका साथै, टेलिकमले फोरजी सपोर्ट गर्ने सिम कार्ड भइसकेका ग्राहकहरूलाई पनि आफ्नो सेवा अद्यावधिक गर्न अनुरोध गरेको छ।
त्यस्ता प्रयोगकर्ताहरूले आफ्नो मोबाइलको किप्याडमा *444# डायल गरी फोरजी तथा उच्च गुणस्तरको भोल्टे सेवा सहजै सक्रिय गर्न सक्ने कम्पनीले जनाएको छ।
चैत ६, २०८२ शुक्रबार १३:४६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।