घण्टीमा भोट हाल्ने नेता खोज्दै नेकपा, केन्द्रीय सदस्यबाटै कारबाही सुरू गर्ने प्रचण्डको चेतावनी

घण्टीमा भोट हाल्ने नेता खोज्दै नेकपा, केन्द्रीय सदस्यबाटै कारबाही सुरू गर्ने प्रचण्डको चेतावनी

काठमाडौं : हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई भोट नदिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मतदान गर्ने आफ्ना नेता-कार्यकर्ताहरूको खोजीमा नेपाली कम्युनिस्ट पार्टी लागेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसरी ‘क्रस भोट’ गर्ने नेताहरूलाई पत्ता लगाएर कारबाही गर्ने चेतावनी दिएका छन्।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा जनवर्गीय सङ्गठनका नेताहरूको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरूले नै आफ्नो पार्टीलाई भोट नहालेको ‘जनरल रिपोर्ट’ आएको खुलासा गरे।

उनले भने, ‘फिप्टी पर्सेन्ट भोट घण्टी (रास्वपाको चुनाव चिह्न) मा गएको रिपोर्ट आएको छ। को-को केन्द्रीय सदस्य, प्रदेश सदस्य र जनवर्गीय सङ्गठनका नेताहरू आफ्नो क्षेत्रमा गएनन् र कसले घण्टीमा भोट हाले, त्यो रिपोर्ट तपाईंहरूले दिनैपर्छ। तिनलाई कारबाही गर्नैपर्छ।’

प्रचण्डले पार्टी अनुशासन उल्लङ्घन गर्नेहरूमाथिको कारबाही तल्लो तहबाट नभई केन्द्रीय समितिबाटै सुरु हुने स्पष्ट पारे। ‘नत्र भने पार्टी बनाउन सकिँदैन। सबभन्दा पहिला कारबाही केन्द्रीय सदस्यबाटै सुरु गरिन्छ,’ उनले थपे, ‘को-को घण्टीतिर गएको देखियो, तिनलाई हामी आँखा चिम्लेर कारबाही गर्छौं। पार्टी पुनर्गठन पनि यहीँबाट सुरु हुन्छ।’

‘रास्वपाका सांसद पनि हाम्रै हुन्, निराश हुनुपर्दैन’
चुनावमा अनपेक्षित र लज्जास्पद हार बेहोरे पनि प्रचण्डले वैचारिक रूपमा आफूहरूले नै जितेको दाबी गर्दै कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गरे। 

रास्वपाबाट निर्वाचित भएका महिला तथा समावेशी सांसदहरूतर्फ सङ्केत गर्दै उनले भने, ‘रास्वपाबाट यतिका महिलाहरू सांसद भएर आए, मैले त ती पनि हाम्रै महिला देख्छु। हामीले जनयुद्ध र जनआन्दोलन गरेर समावेशी प्रतिनिधित्वको मुद्दा स्थापित नगरेको भए रास्वपाले कहाँबाट ल्याउँथ्यो त्यो? रास्वपाबाट आऊन् वा कांग्रेसबाट, ती सबै हाम्रै मुद्दाबाट आएका हुन्। त्यसैले हामी खत्तम भयौँ भनेर डराउनुपर्ने अवस्था छैन।’

प्रचण्डले रास्वपाको उदयलाई हावाहुरीको संज्ञा दिँदै चुनाव जित्नुमा विकास वा पैसाले मात्र काम नगर्ने तर्क गरे।

उनले विनोद चौधरी र नारायणमान बिजुक्छेको उदाहरण दिँदै भने, ‘भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको विकास थियो, तैपनि रेनुलाई हराइदिए। पैसाले मात्र जितिने भए विनोद चौधरीले जित्नुपर्थ्यो। भक्तपुरमा बिजुक्छेको ४० वर्षको सङ्गठनलाई पनि आँधीहुरीले बढारिदियो। विकास, पैसा र प्रचार मुख्य कुरा होइनन् रहेछन्। हाम्रो मुख्य कुरा भनेको विचार र सङ्घर्ष हो, जसमा हामी पछि पर्यौँ।’

नेपाली कम्युनिस्ट पार्टीको चुनावी हविगत
‘जेन-जी आन्दोलन’ पछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित दुई दर्जनभन्दा बढी कम्युनिस्ट घटकहरू मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरिएको थियो। संयोजक प्रचण्डले फागुन २१ को चुनावबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दाबी गर्दै आएका थिए।

तर, चुनावको नतिजा भने उल्टो आयो। नवगठित रास्वपाले प्रत्यक्षमै १२५ सिट जितेर ऐतिहासिक सफलता हासिल गर्दा, दर्जनौं कम्युनिस्ट पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी भने प्रत्यक्षतर्फ जम्मा ८ सिटमा खुम्चिन पुग्यो। संयोजक प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित हुँदा सह-संयोजक माधवकुमार नेपाल आफ्नै गृहजिल्ला रौतहटमै पराजित हुन पुगे।

यस निराशाजनक नतिजापछि पार्टीले तल्लो कमिटीहरूमा सर्कुलर जारी गर्दै चुनावको समीक्षा रिपोर्ट पठाउन निर्देशन दिएको छ। केन्द्रीय कार्यालयका एक कर्मचारीका अनुसार, हालसम्म प्राप्त धेरैजसो रिपोर्टहरूमा आफ्नै पार्टीका सङ्गठित नेता-कार्यकर्ताहरूले भोट नदिएका कारण चुनावमा हार व्यहोर्नु परेको निष्कर्ष निकालिएको छ।

आगामी दिनमा सङ्गठनलाई भद्दा नबनाई सानो र चुस्त-दुरुस्त बनाउनुपर्ने सुझाव पनि कार्यकर्ता पङ्क्तिबाट आएको प्रचण्डले जानकारी दिए।

चैत ६, २०८२ शुक्रबार १३:२०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।