रास्वपा मधेसको टिकट वितरण लफडाको एक्सक्लुसिभ भिडियो : ‘गिरिजा, प्रचण्ड र ओलीलाई खेलाएको मान्छेलाई हेप्ने’ भन्दै अमरेशले लगेका थिए दागीका टिकट

रास्वपा मधेसको टिकट वितरण लफडाको एक्सक्लुसिभ भिडियो : ‘गिरिजा, प्रचण्ड र ओलीलाई खेलाएको मान्छेलाई हेप्ने’ भन्दै अमरेशले लगेका थिए दागीका टिकट

काठमाडौं : सञ्चारकर्मी अरुण सिंहानियाको हत्यामा संलग्न रहेको ठहर गर्दै जिल्ला अदालतबाट तीन वर्ष कैद सजाय ठहरिएर जेल परेका धनुषा-२ का सांसद रामविनोद यादवलाई अमरेश कुमार सिंहले दबाब दिएर टिकट दिन लगाएको खुलेको छ।

उकेराले प्राप्त गरेको टिकट वितरण गर्ने दिनको भिडियोमा अमरेशले यादवसहित आफूले भनेको तीन जनालाई टिकट दिन पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी र पार्टी प्रवक्ता मनिष झासँग निरन्तर झगडा गरिरहेका देखिन्छन्।

उनले कोठामा रहेका मनिष झालाई ‘बाहुनहरूलाई मात्र टिकट दिन खोजेको’ भन्दै महामन्त्री कवीन्द्रलाई आफूले भनेका व्यक्तिहरूलाई टिकट दिन आग्रह गरिरहन्छन्। बिचबिचमा मनिष ‘तपाईंले भनेको मानेकै छौँ त!’ भनिरहेका छन्।

अमरेश कोठामा बेलाबखत फकाउने शैलीमा नरम सुनिन्छन्, कतै ‘म गिरिजाप्रसाद, प्रचण्ड र केपी ओलीलाई खेलाएर आएको मान्छे, हेप्ने?’ भन्दै धम्क्याइरहेका छन्।

उनले बारम्बार धनुषा २ का लागि राम विनोदलाई टिकट दिन दबाब बढाउँदै ‘यस्तै हो भने पार्टीका उम्मेदवारहरू हार्ने र म मेरो क्षेत्रबाहेक कतै पनि जान्न’ भनिरहेका छन्। कवीन्द्र प्राय मौन नै देखिन्छन् भने मनिष झा अमरेशको दबाबका अगाडि निरीह सुनिएका छन्।

हत्याका दोषीदेखि क्रसर व्यवसायीसम्म माननीय
मधेसको ३२ सिटमा टिकट वितरण गर्दा क्षमताका आधारमा भन्दा पनि आर्थिक चलखेलका आधारमा दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीबीच निकै विवाद भयो।

पार्टीका सभापति रवि लामिछाने र बालेन्द्र शाह जनकपुर जाँदा बसेको होटल अगाडि पार्टी कार्यकर्ताहरू भेला भएर नाराबाजी नै गरे।

मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले टिकट खरिदबिक्री भएको आरोप लगाउँदै पार्टी नै छाडिन्।

उता अर्का आकांक्षी दिनेश साहुले पार्टीका नेताहरूको नाम लिएर टिकट बेचेको आरोप लगाएको अडियो नै सार्वजनिक भयो। यसमा अमरेशकुमार सिंह, मनिष झा अनि जेनजी आन्दोलनबाट उदाएका पुरुषोत्तम यादव जोडिए।

तर, रास्वपाका उम्मेदवारहरूलाई यसले फरक परेन। ३२ सिटमध्ये ३० सिट सहजै जिते।

एक जना उम्मेदवारबारे सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ। तर जितेर आएका सांसदहरूको पृष्ठभूमिले टिकट वितरणमा चलखेल भएको शंका बढायो।

धनुषा-२ बाट निर्वाचित सांसद रामविनोद शाह सञ्चारकर्मी अरुण सिंहानियाको हत्यामा संलग्न रहेको ठहर हुँदै तीन वर्ष जेल परेका व्यक्ति रहेको खुल्यो। संगठित अपराधमा जन्मकैद पाएका सञ्जय साह टकलाका मुख्य सहयोगी रहेका उनी उम्मेदवारी दर्ता अगाडि मात्र रास्वपामा प्रवेश गरेका थिए।

धनुषा-१ का किशोरी साह कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगबाट उम्मेदवारी रद्द भयो। आयोगले सो क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी घोषणा गरे पनि सर्वोच्चमा मुद्दा विचाराधीन छ।

महोत्तरी-१ का प्रमोद महतो विवादित क्रसर व्यवसायी रहेको खुल्यो। शिवम गिट्टी तथा बालुवा वासिङ सेन्टर’को सञ्चालक रहेका उनीमाथि भन्टावारी नजिकको खोलाबाट अवैध रूपमा ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन गरेको घटनामा जोडिएका देखिए। उनी पनि रास्वपामा नव आगन्तुक हुन्।

सर्लाही-३ का नरेन्द्र साह कलवार क्यासिनो सञ्चालक रहेको खुल्यो। सेन्ट्रल मिडिया प्रालिका सञ्चालक रहेका उनले होटल अपेरा महेन्द्रनगर, होटल भिस्वा वीरगन्ज, होटल रत्न विराटनगर र होटल प्याटिनियम काठमाडौंमा क्यासिनो सञ्चालन गर्दै आएका छन्। उनी संलग्न क्यासिनोहरु अवैध गतिविधिमा संलग्न रहेको भनेर विवादमा आइरहन्छन्।

यही पृष्ठभूमीकाबीच उकेराले टिकट वितरणको समयको भिडियो प्राप्त गरेको छ, जहाँ अधिकांश विवादित व्यक्तिलाई टिकट दिन कांग्रेसबाट स्वतन्त्र सांसद् हुँदै रास्वपामा प्रवेश गरेका अमरेश कुमार सिंह पार्टीका नेताहरूसँग झगडा गरिरहेका छन्।

जनकपुरको मिथिला यात्री होटलको एक कोठामा पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई उम्मेदवारी दर्ताको आधिकारिक पत्र बनाउन सक्रिय देखिन्छन्। कोठामा अन्य सहयोगीहरू समेत रहेका छन्।

त्यहीँ कोठामा रहेका अमरेश सिंह आफूले भनेका व्यक्तिहरूलाई उम्मेदवार बनाउन महामन्त्री बुर्लाकोटी र मनिष झालाई धम्क्याइरहेको देखिन्छ।

उनले जहाँ-जहाँ उम्मेदवार बनाउन खोजेको ती क्षेत्रमा हार्ने भन्दै आफूलाई बालेनले वचन दिएको भन्दै आफू निकटकाहरुलाई टिकट दिन बहस गरिरहेका छन्।

भिडियोमा उनले धनुषा-२ का लागि रामविनोद साहलाई टिकट दिन झगडा गरिरहेका छन्। उनले राम विनोदको टिकट आफैँलाई दिन माग गरिरहेका छन्। कवीन्द्रसहितले अमरेशलाई केही समय होटलको अर्को कोठामा बस्न आग्रह गरिरहेका छन्।

तर अमरेश चित्त नबुझे टिकट लिएर नजाने भन्दै आफूले भनेकाहरूलाई पार्टीबाट उम्मेदवार बनाउन दबाब दिइरहेका छन्।

उनले बाहुन बाहेक कसैले टिकट पाउनु हुँदैन भन्ने पक्षमा रहेको भन्दै भन्छन्, ‘बालेनजीसँग सहमति गरिसकेपछि मेरो बेइज्जत गर्नु हुन्छ। मैले वचन दिइसकेको छु।’

‘अमरेश सिंह कम्प्युटर ब्रेन हो, सरेन्डर गर्ने र दास हैन’ भन्दै उनी थप्छन्, ‘गिरिजालाई खेलाएर आएको मान्छे हुँ, प्रचण्डलाई, ओलीलाई खेलाएको मान्छे हुँ, मजाक हो, हेप्ने?’

उनी प्रत्यक्षको भोट किनेको, नातागोताको आउने तर त्यस अनुसार समानुपातिक भोट नआउने भन्दै त्यसका लागि जित्ने उम्मेदवारलाई दिनुपर्ने भन्दै धनुषा २ का लागि रामविनोद यादवलाई टिकट दिन निरन्तर दबाब दिइरहेका देखिन्छन्।

अमरेशले निरन्तर झगडा गरेपछि मनिष झाले ‘उहाँले भनेकोलाई दिइदिऔँ न’ भनेको सुनिन्छ। भिडियोमा झा देखिएका छैनन्। त्यसपछि धनुषा २ मा रामविनोद भनेर कसैले भनेको सुनिन्छ। अनि अमरेशले उनको टिकट आफैँलाई दिन माग्दै आफूले पुर्याइदिने बताउँछन्।

अमरेशले निरन्तर झगडा गरेपछि मनिषले भन्छन्, ‘लेख्देऊ न, दिइदेऊ न!’

अमरेश आफूले भनेकाहरूको टिकट दिन मागिरहन्छन्। उनी सर्लाही-१ मा समेत आफूले भनेकालाई टिकट दिन दबाब बढाइरहेका छन्। तर नाम भनेका छैनन्।

अमरेश कराएको करायै गरेपछि अर्का एकले नाम बदलिइरहेको भन्दै रिसाउँछन्। अनि मनिष भन्छन् ‘माथिबाट फोन आएर टिकट रोकिन्छ, तिमीहरू मलाई भन्छौँ’ भन्दै झोक्किएको सुनिन्छ।

त्यही बेलामा महामन्त्री कवीन्द्रले १५ मिनेटमा टुँग्याउँछौँ अहिले बाहिर बस्दिनु न भन्दा अमरेश आफ्नो टिकट लिएर रिसाउँदै कोठाबाट बाहिर निस्कन खोज्छन्।

कोठामा रहेका अर्काले पनि एकैछिन बाहिर बस्न भन्दा अमरेश ‘हिजो आएको मान्छे, तपाईंले मलाई चिन्नुहुन्छ?’ भन्दै रिसाउँदै बाहिर निस्कन्छन्।

महामन्त्री कवीन्द्रले डक्टरसाप भन्दै बोलाइरहन्छन् तर अमरेश फर्कँदैनन्।

चैत ६, २०८२ शुक्रबार १२:४४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।