कतारको ग्यास प्लान्टमा इरानको आक्रमण : वार्षिक २० अर्ब डलर नोक्सान हुने, विश्व बजारमा असर पर्ने

कतारको ग्यास प्लान्टमा इरानको आक्रमण : वार्षिक २० अर्ब डलर नोक्सान हुने, विश्व बजारमा असर पर्ने

एजेन्सी : कतारको रास लाफानस्थित एलएनजी प्लान्टमा इरानले गरेको आक्रमणको असर निकै गम्भीर हुने देखिएको छ।

रास लाफान विश्वकै सबैभन्दा ठूलो एलएनजी प्लान्ट हो। कतारका ऊर्जा मन्त्रीले यस आक्रमणका कारण देशले अर्बौं डलरको नोक्सान बेहोर्नुपर्ने बताएका छन्।

कतारका ऊर्जा मन्त्री साद बिन शेरिदा अल-काबीका अनुसार, यो आक्रमणले आगामी पाँच वर्षसम्म कतारको एलएनजी निर्यात क्षमता १७ प्रतिशतले घट्नेछ। यसबाट कतारलाई हरेक वर्ष करिब २० अर्ब डलर घाटा लाग्ने अनुमान गरिएको छ।

एलएनजी तयार गर्न प्राकृतिक ग्यासलाई अत्यन्तै कम तापक्रममा चिस्याउनुपर्छ। यस कार्यका लागि 'ट्रेन' भनिने ठूला औद्योगिक युनिटहरूको प्रयोग गरिन्छ।

ऊर्जा मन्त्रीले जानकारी दिएअनुसार, इरानी आक्रमणमा प्लान्टका १४ मध्ये २ वटा यस्ता ट्रेन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

इरानले कतारको यो ग्यास प्लान्टमा गरेको आक्रमणलाई इजरायली आक्रमणको ‘जवाफी कारबाही’ मानेको छ। यसअघि इजरायलले पर्सियन खाडीमा अवस्थित 'साउथ पार्स ग्यास फिल्ड'मा आक्रमण गरेको थियो।

सिंगापुरस्थित क्लिन फ्युल्स मार्केट इन्टेलिजेन्स कम्पनी ‘हाइसाइट्स’का प्रमुख कमर्सियल अफिसर सियारन रोले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘बिग्रिएका संरचना मर्मत गर्न पाँच वर्ष लाग्ने होइन, ती संरचनाहरू पूर्ण रूपमा भत्काएर नयाँ नै निर्माण गर्नुपर्ने अवस्था छ।’

विश्वको प्राकृतिक ग्यास बजारमा कतार सबैभन्दा प्रमुख देश हो। कतारको एलएनजीमा एसियाली देशहरू विशेषगरी जापान, दक्षिण कोरिया, भारत र चीन सबैभन्दा बढी निर्भर छन्।

युरोपमा इटाली र बेल्जियम पहिलेदेखि नै कतारका ठूला ग्राहक हुन्। तर, युक्रेन युद्धपछि रुसी ग्यास आयात गर्न छाडेका कारण अहिले समग्र युरोप नै मध्यपूर्वको ग्यासमा तीव्र रूपमा निर्भर हुँदै गइरहेको अवस्थामा यो आक्रमणले थप सङ्कट निम्त्याउन सक्छ।

विज्ञ रोका अनुसार, यो घटनाले विश्व ग्यास बजारमा महिनौं वा वर्षौंसम्म त्रासको वातावरण सिर्जना गर्न सक्छ। यसले गर्दा विभिन्न देशका सरकारहरूले एलएनजी आयात गर्ने आफ्नो नीतिमै परिवर्तन गर्न सक्ने सम्भावना छ। 

एलएनजी विश्वभर प्रयोग हुने एक महत्त्वपूर्ण ऊर्जा स्रोत हो। यसको प्रयोग घर तताउन, खाना पकाउन, पानीजहाज र ठूला कारखानाहरू सञ्चालन गर्न तथा रासायनिक मल उत्पादन गर्न प्रयोग गरिन्छ। ग्यासको आपूर्ति घट्दा विश्वभर यसको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ।

चैत ६, २०८२ शुक्रबार १२:२६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।