जापानकी प्रधानमन्त्रीसँगै बसेर ट्रम्पले भने- इरान आक्रमणको सहयोगी देशलाई जानकारी दिएर सरप्राइज दिन चाहन्थ्यौं
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको आक्रमणबारे जापान लगायतका अन्य सहयोगी देशहरूलाई पूर्वजानकारी नदिनुको कारण आफूले सरप्राइज दिन चाहेको बताएका छन्।
ट्रम्पले यो कुरा जापानकी प्रधानमन्त्री सानाए ताकाइचीकै सामुन्ने भनेका हुन्।
बिहीबार ह्वाइट हाउसमा दुवै नेताहरूले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्। हाल जापानकी प्रधानमन्त्री ताकाइची अमेरिका भ्रमणमा छिन्।
पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पलाई ‘अमेरिकाले आक्रमण गर्नुअघि आफ्ना युरोपेली र जापानजस्ता एसियाली सहयोगीहरूलाई किन जानकारी दिएन?’ भनेर प्रश्न सोधिएको थियो।
यसको जवाफ दिँदै ट्रम्पले भने, ‘एउटा कुरा त के हो भने, हामी धेरै सङ्केत दिन चाहँदैनथ्यौं। जब हामीले कारबाही सुरु गर्यौं, त्यो निकै जोडदार थियो। हामीले यसबारे कसैलाई बताएनौं किनभने हामी सरप्राइज दिन चाहन्थ्यौं। सरप्राइजको बारेमा जापानभन्दा राम्रो कसलाई थाहा होला र, होइन र?’
यसो भन्दै गर्दा ट्रम्पले ऐतिहासिक घटना ‘पर्ल हार्बर’ को पनि सन्दर्भ निकालेका थिए। स्मरण रहोस्, दोस्रो विश्वयुद्धको समयमा जापानले अमेरिकाको नौसेना अखडा पर्ल हार्बरमा सरप्राइज आक्रमण गरेको थियो।
दुई नेताहरूको उक्त पत्रकार सम्मेलनको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको छ र ट्रम्पको भनाइलाई लिएर मानिसहरूले विभिन्न टिप्पणीहरू गरिरहेका छन्।
चैत ६, २०८२ शुक्रबार १०:२२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।