कलाकार विशाल पहाडीको हिजोको कुरा : नाटकमा ‘बेस्ट एक्टर’ भएँ, तर कोट नहुँदा राजाको हातबाट पुरस्कार थाप्नै पाइनँ

कलाकार विशाल पहाडीको हिजोको कुरा : नाटकमा ‘बेस्ट एक्टर’ भएँ, तर कोट नहुँदा राजाको हातबाट पुरस्कार थाप्नै पाइनँ

नेपाली कला क्षेत्र, विशेषगरी रङ्गमञ्च, टेलिभिजन र रजतपट (चलचित्र) का दर्शकमाझ एउटा सुपरिचित र आदरणीय नाम हो- विशाल पहाडी।

उमेरले जीवनको छैटौँ दशकको संघारमा उभिएका पहाडीको अनुहारमा अभिनयप्रतिको भोक र सक्रियता हेर्दा लाग्छ, उनीभित्रको कलाकार भर्खरै मात्र जवान हुँदैछ। उनको ऊर्जावान् उपस्थिति आजका नवप्रवेशी कलाकारहरूका लागि समेत लोभलाग्दो र प्रेरणादायी छ।

काठमाडौंका रैथाने बासिन्दा विशाल पहाडी पारिवारिक रूपमा एउटा सुरक्षित र जागिरे पृष्ठभूमिबाट आएका हुन्। उनका बुवा नेपाल बैङ्कका स्थायी जागिरे थिए। बुवाकै पदचाप पछ्याउँदै र पारिवारिक जिम्मेवारीलाई मनन गर्दै उनले पनि एसएलसी उत्तीर्ण गर्ने बित्तिकै नेपाल बैङ्कमा जागिर सुरू गरे।

कलेजको पढाइ, बैङ्कको हिसाबकिताब र भित्रभित्रै हुर्कँदै गरेको कलाकारिताको मोह- यी तीनवटै डुङ्गामा उनले लामो समय सन्तुलन मिलाएर यात्रा गरे।

अन्ततः एउटा समय यस्तो आयो, जहाँ उनको भित्र लुकेको अभिनयको भोकले बैङ्कको त्यो सुरक्षित र सुनिश्चित भविष्य भएको जागिरलाई जित्यो। उनले जागिरबाट राजीनामा दिए र आफूलाई पूर्णकालीन कलाकारका रूपमा कलामा होमिए।

आफ्नो तीन दशकभन्दा लामो र रङ्गीन अभिनय यात्राका तीता-मिठा भोगाइ र रोचक स्मृतिहरूलाई उनले उकेराको नियमित स्तम्भ ‘हिजोका कुरा’ यसरी पछाडि सम्झिएका छन्:

बाल्यकालको त्यो अस्थिर बसाइ र एसएलसीको रोमाञ्चकता
मेरो जन्म वि.सं. २०२५ सालमा काठमाडौंको डिल्लीबजार, घट्टेकुलोमा भएको हो। हामी तीन जना भाइबहिनी हौँ। मेरा हजुरबुबा काठमाडौं आएपछि डिल्लीबजारमा स्थायी रूपमा बस्न थाल्नुभएको रहेछ।

म करिब चार वर्षको हुँदा बुवाआमाले हामीलाई डिल्लीबजारबाट विशालनगरमा सार्नुभयो। हाम्रो बाल्यकाल र हुर्काइको लामो समय त्यहीँ बित्यो। अहिले भने हामी बुढानीलकण्ठमा सरेका छौँ, त्यहाँ बस्न थालेको पनि झन्डै ५ वर्ष भइसक्यो।

बुवा बैङ्कको सरकारी जागिरे हुनुभएकाले उहाँको सरुवा भइरहन्थ्यो। बुवाको सरुवासँगै मेरो स्कुल पनि परिवर्तन गरिरहनु पर्ने बाध्यता थियो। म काठमाडौंको हिमालय विद्या मन्दिरमा पढ्दै गर्दा बुबाको सरुवा नवलपरासीमा भयो। बुवासँगै हाम्रो सिङ्गो परिवार नवलपरासी पुग्यो।

मैले त्यहाँको स्थानीय स्कुलमा करिब एक वर्ष जति पढेँ। त्यसपछि बुबाको सरुवा फेरि काठमाडौंमै भयो। त्यति बेला म कक्षा ६ मा पढ्थेँ। शैक्षिक सत्रको बिचमै हामी काठमाडौं फर्किएपछि मेरो पढाइको लय बिग्रियो। बिचमै छुटेको हुनाले मलाई कक्षा ७ मा कुनै पनि स्कुलले भर्ना लिन मानेनन्, जसका कारण मेरो एक वर्षको पढाइ नै खेर गयो।

पछि म टङ्गाल माध्यमिक विद्यालयमा भर्ना भएँ। बुबाको चिनाजान र प्रभाव भएकाले मलाई त्यहाँ सीधै कक्षा ८ मा भर्ना गरियो। मेरो सरकारी स्कुलको अनुभव त्यही टङ्गाल मावि मात्रै हो, त्यसअघि र पछि मैले बोर्डिङ स्कुलमै पढेको हुँ।

सोही स्कुलबाट मैले २०४१ सालमा एसएलसी पास गरेँ। रोचक कुरा त के भने, एसएलसी दिने हामी त्यो स्कुलको पहिलो ब्याच थियौँ। त्यसअघि त्यहाँ कक्षा ८ सम्म मात्रै पढाइ हुन्थ्यो।

मैले थर्ड डिभिजनमा एसएलसी पास गरेको थिएँ। आजकाल जस्तो इन्टरनेटमा एक सेकेन्डमै नतिजा हेर्ने सुविधा त्यो बेला कहाँ हुनु! एसएलसीको रिजल्ट ‘गोरखापत्र’ मा छापिन्थ्यो र आफ्नो सिम्बोल नम्बर खोज्नुपर्थ्यो। तर, त्यो दिन पत्रिका भेटाउनै ठुलो युद्ध जिते जस्तो हुन्थ्यो।

त्यो व्यग्र प्रतीक्षा र पत्रिकाको पानामा आफ्नो नम्बर भेट्दाको खुसी सम्झँदा आज पनि बेग्लै आनन्द आउँछ। साँच्चै नै, विद्यार्थी जीवन त्यसै पनि निष्फिक्री र रमाइलो हुँदो रहेछ।

त्यति बेलाका र अहिलेका विद्यार्थीहरूमा म आकाश-जमिनको फरक देख्छु। हाम्रो समयमा विद्यार्थीहरूले शिक्षकलाई देउता जत्तिकै आदर गर्थे, डर मान्थे। त्यो अर्कै मज्जाको र अनुशासित समय थियो।

नेपाल बैङ्कको त्यो जागिर र हातले लेखेका ती खाताहरू
त्यति बेला जागिर पाउनका लागि अहिलेको जस्तो हातमा सर्टिफिकेट बोकेर भौँतारिनु पर्ने अवस्था थिएन। एसएलसी पास गरेपछि म पिपुल्स कलेजमा भर्ना भएँ।

कलेज भर्ना भएसँगै मेरो जीवनमा अर्को नयाँ अध्याय सुरु भयो- म नेपाल बैङ्कमा जागिरे भएँ। मैले एसएलसी दिएकै समयमा नेपाल बैङ्कले कर्मचारीका लागि विज्ञापन खुलाएको थियो। मैले पनि लहैलहैमा आवेदन दिएँ र नाम निकाल्न सफल भएँ।

मैले त्यहाँ आफ्नो जीवनको ऊर्जावान् ११ वर्ष बिताएँ। म त्यतिबेला चेक डिपार्टमेन्टतर्फ काम गर्थेँ, जसलाई आजकाल बैंकिङ भाषामा ‘टेलर’ भनिन्छ। तर अहिले जस्तो कम्प्युटरको जमाना थिएन, सबै हिसाबकिताब र खातापाता हातैले लेख्नु पर्थ्यो।

पैसा गन्ने र ग्राहकलाई दिने काम भने मेरो थिएन। अहिले त जसले चेक बुझ्यो, उसैले पैसा दिन्छ, तर त्यो बेला कामको बाँडफाँड फरक हुन्थ्यो। चेक रुजु गर्ने छुट्टै र नगद दिने छुट्टै मान्छे हुन्थे।

दिनभरिको काम सकेर बेलुका ‘क्लोजिङ’ (हिसाब मिलान) गर्ने समयमा कहिलेकाहीँ निकै तनाव हुन्थ्यो। कुनै-कुनै अङ्क मात्रै तलमाथि पर्यो भने पनि हिसाब मिल्दैनथ्यो।

त्यति बेला रातभरि बैङ्कमै बसेर, पानाका पाना पल्टाएर भए पनि समस्याको समाधान नगरी घर जान पाइँदैनथ्यो। यो २०४३ सालतिरको कुरा हो, त्यतिबेला मेरो मासिक तलब जम्मा ७ सय रुपैयाँ थियो।

बालसुलभ चकचक, रसिकको सङ्गत र बिपी कोइरालाको त्यो भविष्यवाणी
म स्कुल जीवनबाटै अभिनय र नृत्यमा अत्यन्तै सौखिन थिएँ। दुई कक्षा पढ्दादेखि नै स्कुलमा हुने नाटक र नाचगानमा अग्रपङ्क्तिमा हुन्थेँ। त्यो बेला पनि राम्रा स्कुलहरूमा छुट्टै ‘कल्चर टिचर’ राख्ने चलन थियो।

म दुई कक्षामा पढ्दा हिमालय स्कुलमा एक्स्ट्रा टिचरका रूपमा हुनुहुन्थ्यो- वरिष्ठ नाट्यकर्मी, गीतकार तथा गायक गणेश रसिक। उहाँले स्कुलको वार्षिकोत्सव लगायतका कार्यक्रममा हामीलाई नाच्ने, गाउने र अभिनय गर्न सिकाउनु हुन्थ्यो।

कार्यक्रमका लागि कसलाई खेलाउने भनेर विद्यार्थीहरूलाई लस्करै राखेर छानिन्थ्यो। मलाई पनि जसरी पनि त्यो छनोटमा पर्नु थियो। एक पटक रसिक सरले हामी सबैलाई एउटा नेवारी गीतमा नाच्न लगाउनु भयो। सायद मैले राम्रै नाचेँ क्यारे, म सेलेक्ट भएँ! मलाई लाग्छ, मेरो कला यात्राको विधिवत् सुरुवात त्यही बिन्दुबाट भएको हो।

अभिनयप्रतिको मेरो पागलपन कतिसम्म थियो भन्ने एउटा रमाइलो किस्सा छ। एसएलसीको तयारीका बेला हामी साथीहरू मिलेर समूहमा पढ्थ्यौँ। एक दिन त्यसरी नै पढिरहेको बेला मेरो दिमागमा के खुराफात आयो कुन्नि, मैले अचानक बेहोस भएको डरलाग्दो अभिनय गरिदिएँ।

साथीहरू आत्तिए, हतार-हतार एम्बुलेन्स बोलाएर मलाई वीर अस्पताल पुर्याए। जब अस्पतालको इमर्जेन्सी गेटमा पुग्यौँ, म जुरुक्क उठेँ र ‘मैले त एक्टिङ पो गरेको त!’ भन्दै हिँडिदिएँ। साथीहरू छक्क परे। म त्यस्तो चकचके र अभिनयको नसा चढेको केटो थिएँ।

मेरो कला यात्रामा मलाई सधैँ ऊर्जा दिने एउटा अर्को ऐतिहासिक घटना पनि छ। म सायद ३ या ४ कक्षामा पढ्थेँ होला। सिफलमा एउटा घर थियो, जहाँ मेरो बुवाको चिनजान थियो। बुबाले मलाई त्यहाँ एउटा बिहेमा लिएर जानुभएको थियो।

त्यतिबेला सिफलमा फाट्टफुट्ट मात्र घरहरू थिए, वरिपरि खेतैखेत थियो। त्यहाँ बिहेको माहोलमा रमाइलो गीत बजिरहेको थियो। म गीतको तालमा निर्धक्क नाच्न थालेँ। मेरो नाच देखेर त्यहाँ उपस्थित एक जना अग्लो, गोरो र पातलो शरीर भएका पाका मान्छेले मलाई तानेर आफ्नो काखमा राख्नुभयो र मुसार्दै भन्नुभयो- ‘ओहो! राम्रो नाच्दा रहेछौ त बाबु तिमी। पछि ठूलो भएर पक्कै कलाकार हुन्छौ कि क्या हो!’

मलाई त्यो बेला उहाँ को हुनुहुन्छ भन्ने केही थाहा थिएन। तर त्यसको एक-दुई दिनपछि मात्र घरमा कुरा हुँदा मैले थाहा पाएँ, मलाई काखमा राखेर त्यस्तो आशिर्वाद दिने व्यक्ति त नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं विश्वेश्वरप्रसाद (बिपी) कोइराला पो हुनुहुँदो रहेछ! त्यत्रो महान् व्यक्तिले मेरो कला देखेर गरिदिएको त्यो भविष्यवाणीले मेरो अवचेतन मनमा गहिरो प्रभाव पार्यो।

एउटा कोटले खोसेको त्यो ऐतिहासिक पुरस्कार
२०४० सालतिर म ८ कक्षामा पढ्थेँ। त्यति बेला राष्ट्रिय नाचघरले देशव्यापी रूपमा ‘राष्ट्रिय युवा महोत्सव’ को आयोजना गर्थ्यो। चर्चित कमेडियन नारायण त्रिपाठी लगायतका साथीहरूले सरुभक्तद्वारा लिखित उपन्यासमा आधारित नाटक ‘ताण्डव नृत्य’ मञ्चन गर्ने तयारी गरिरहेका रहेछन्। उनीहरूले मलाई पनि उक्त नाटकमा भाग लिन प्रस्ताव गरे।

मैले तत्कालै सहमति जनाएँ। महोत्सवमा हाम्रो नाटक प्रथम भयो र आश्चर्यजनक रूपमा मैले ‘सर्वोत्कृष्ट अभिनेता’को अवार्ड जित्न सफल भएँ। त्यो बेला राजा वीरेन्द्र वीरविक्रम शाहको बाहुलीबाट पुरस्कार वितरण हुने तय भएको थियो। तर, दरबारको नियम अनुसार राजाको हातबाट पुरस्कार लिन कोट र पाइन्ट अनिवार्य लगाउनुपर्ने उर्दी जारी गरियो।

समस्या के भयो भने, मसँग आफ्नो कोट थिएन। मेरो दिमागमा बुवाको कोट लगाएर जाने जुक्ति फुरेको थियो। पुरस्कार थाप्न एकेडेमी हलमा बिहान ११ बजे पुग्नुपर्ने थियो। म बिहानैदेखि बुवा अफिस निस्किने प्रतीक्षामा थिएँ, ताकि उहाँ गएपछि कोट लगाउन पाइयोस्।

तर, त्यो दिन बिहानको साढे १० बजिसक्दा पनि बुवा अफिस जाने सुरसारमा हुनुहुन्थेन। मैले सर्वोत्कृष्ट कलाकारको अवार्ड पाउन लागेको र मलाई कोट चाहिएको कुरा मैले बुवालाई भन्न सकेको थिइनँ।

​​​​​​​समय घर्किँदै गयो। १२ बजेपछि मात्र मैले थाहा पाएँ, त्यो दिन त शनिबार पो रहेछ! बिदाको दिन भएकाले बुवा अफिस जाने कुरै थिएन। एउटा कोटको अभाव र मेरो सङ्कोचका कारण मैले राजाको हातबाट जीवनको पहिलो र ठूलो पुरस्कार लिने त्यो ऐतिहासिक अवसर गुमाएँ। समय र परिस्थितिले नजुराएको त्यो क्षण सम्झँदा मलाई आज पनि अत्यन्तै थकथक लाग्छ।

नाचघरको रङ्गमञ्चदेखि टेलिभिजनको पर्दासम्म
यही महोत्सवपछि राष्ट्रिय नाचघरका अन्य स्थापित कलाकारहरूसँग मेरो चिनजान बढ्दै गयो। त्यहाँ वीरेन्द्र हमाल, सारङ्गा श्रेष्ठ, सूर्य बोहोरा लगायतका हस्तीहरू हुनुहुन्थ्यो।

मैले सारङ्गा श्रेष्ठसँग धेरै नाटकमा मुख्य अभिनेता (हिरो) भएर काम गर्ने अवसर पाएँ। मलाई सधैँ लाग्छ, उनको नृत्यभन्दा अभिनय झनै अब्बल थियो। हामीले अभिनय गरेको र वीरेन्द्र हमालले निर्देशन गरेको चर्चित नाटक ‘टुक्रिएको चुरा’ त्यसबेला निकै रुचाइएको थियो।

त्यति बेला आम मानिसको मनोरञ्जनको मुख्य माध्यम भनेकै राष्ट्रिय नाचघर र प्रज्ञा प्रतिष्ठान (एकेडेमी) का नाटकहरू थिए। तर, जब नेपालमा टेलिभिजनको युग सुरू भयो, नाटकको आकर्षण बिस्तारै घट्न थाल्यो। रङ्गमञ्चका हस्तीहरू लय सङ्ग्रौला, रमेश बुढाथोकी लगायत सबै टेलि सिरियलतर्फ मोडिनुभयो।

समयको मागसँगै म पनि टेलिभिजनको पर्दातिरै तानिएँ। मैले नेपाल टेलिभिजनबाट प्रसारण भएका लोकप्रिय सिरियलहरू ‘निष्कर्ष’ र ‘पुर्णे’ मा अभिनय गरेँ। त्यसपछि रमेश बुढाथोकीको ‘कोरस’, बद्री अधिकारी लगायतले निर्देशन गरेका धेरै सिरियलहरूमा काम गरेँ।

त्यो टेलिभिजनको सुरुवाती समय निकै रमाइलो थियो। किनभने त्यहाँ कोही पनि पूर्ण रूपमा प्राविधिक ज्ञान भएका थिएनन्, सबै सिकारु नै थिए। सुरुमा त क्यामेराको एङ्गल र लाइटिङको ज्ञान पनि हुँदैनथ्यो। काम गर्दै, गल्ती गर्दै र सिक्दै हामी अगाडि बढ्यौँ।

मेरो यो सम्पूर्ण यात्रामा मेरा बुबाआमाले कहिल्यै कुनै गुनासो गर्नुभएन। आजको दिनसम्म पनि उहाँहरूले ‘तिमीले यो बाटो नहिँडेर अर्को बाटो रोजेको भए हुन्थ्यो’ भनेर मलाई कहिल्यै हतोत्साहित गर्नुभएन।

रजतपटको यात्रा र कुलेखानीको त्यो कठ्याङ्ग्रिँदो चुनौती
वि.सं. २०४५ सालतिर मैले चलचित्र क्षेत्रमा प्रवेश गरेँ, त्यो पनि कोरस डान्सरको रूपमा। फिल्म ‘माया’ मा मैले पहिलो पटक कोरस नाचेको थिएँ। गीतको सुटिङ ककनीभन्दा माथिको डाँडामा भएको थियो।

त्यतिबेला फिल्मको प्रचारप्रसार सडकका भित्तामा ठुला पोस्टरहरू टाँसेर हुन्थ्यो। आफूले नाचेको फिल्म भएकाले म बाटोमा हिँड्दा पोस्टरमा कतै मेरो अनुहार पो छापिएको छ कि भनेर खोज्दै हिँड्थेँ, तर अहँ, कहिल्यै भेटिनँ

फिल्मप्रतिको मेरो लगाव यति धेरै थियो कि, जय नेपाल हलमा लागेको फिल्म ‘सिन्दुर’ मैले टिकट काटेरै २५ पटक हेरेको छु। टिकट नपाउँदा हलको भित्तामा कान थापेर अडियो मात्रै सुनेर पनि चित्त बुझाएको छु।

सङ्घर्ष गर्दै जाँदा २०५२/५३ सालतिर मलाई एउटा ठुलो अवसर जुर्यो- सुपरहिट फिल्म ‘कान्छा’। यस फिल्ममा महानायक राजेश हमाल र म गरी दुई वटा हिरो थियौँ भने हिरोइन करिश्मा मानन्धर थिइन्। यस फिल्मको एउटा गीतको सुटिङ कुलेखानीमा राखिएको थियो।

चिसो मौसम थियो। एक साँझ सुटिङ सकेर गफगाफ गरिरहेको बेला राजेश दाइले भोलि बिहानै कुलेखानीको ड्याममा स्विमिङ गर्न जाने प्रस्ताव राख्नुभयो। कुरा गर्दै जाँदा ‘जो पौडी खेल्न जाँदैन, त्यो नामर्द हो’ भन्ने जस्तो इगोको विषय बन्यो।

भोलिपल्ट बिहानै निद्रा खुल्ने बित्तिकै मलाई अघिल्लो रातको कुरा याद आयो। ‘साथीहरूले नामर्द भन्छन् कि’ भन्ने डरले म हत्तपत्त उठेर एक्लै कुलेखानीको किनारमा पुगेँ। पानी यति चिसो थियो कि, म किनारमा बसेर कसरी हाम फाल्ने भनेर सोचमग्न थिएँ।

त्यही बेला कुलेखानीको बिचमा पानीको छाल उछालिँदै गरेको एउटा ठुलो आकृति देखेँ। मलाई लाग्यो, ओहो यहाँ त डल्फिन पो रहेछ कि क्या हो! तर ध्यान दिएर हेर्दा त्यो त मान्छे पो थियो। यस्तो कठ्याङ्ग्रिने जाडोमा बिहानै कुलेखानीको चिसो पानीमा राजेश हमाल दाइ एक्लै पौडी खेलिरहनुभएको रहेछ।

राजेश दाइलाई पानीमा देखेपछि मेरो पनि जोस बढ्यो र म पनि पानीमा हाम फालेँ। ओहो! पानी यति चिसो थियो कि त्यसको बयान गरिसाध्य छैन। पानीभित्र पसेपछि झन् अर्को आपत् आइलाग्यो- हामी बाहिर निस्किनै सकेनौँ। पानीभन्दा बाहिरको हावा अझ धेरै चिसो थियो, बाहिर निस्कने बित्तिकै रगतै जम्ला जस्तो।

धेरै बेरपछि सुटिङ युनिटका मान्छेहरू आए र हामी बाहिर निस्किने बित्तिकै बाक्ला कम्मलहरू ओढाएर आगो ताप्न लगे। आफ्नो इगो र ‘मर्द’ साबित गर्नका लागि गरेको त्यो मूर्खतापूर्ण तर साहसिक काम म जिन्दगीभर बिर्सन सक्दिनँ।

मैले आजसम्म अभिनयको कुनै सैद्धान्तिक कक्षा लिएको छैन। तर, घरमा एक्लै हुँदा पनि ऐना अगाडि उभिएर विभिन्न चरित्रहरूको अभ्यास गरिरहन्छु।

मलाई लाग्छ, यदि मैले घरका मान्छेलाई मेरो अभिनयमा पत्याउन लगाउन सकेँ भने, हलमा बसेका हजारौँ दर्शकलाई पनि पक्कै पत्यार दिलाउन सक्छु। मेरो सिकाइ र विश्वविद्यालय भनेकै यही निरन्तरको अभ्यास र कलाप्रतिको समर्पण हो।

चैत ६, २०८२ शुक्रबार ०७:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।