समानुपातिक सांसदले लिए प्रमाणपत्र (तस्बिरहरू)
काठमाडौं : निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको छ। बिहीबार आयोगको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहका बीच नवनिर्वाचित ११० जना सांसदहरूले आधिकारिक प्रमाणपत्र प्राप्त गरे।
समारोहमा आयोगका सचिव एवं समानुपातिक प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतले नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र हस्तान्तरण गरे। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरू डा. जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई टीका र माला लगाएर स्वागत एवं बधाई दिएका थिए।

प्रमाणपत्र ग्रहण गरेपछि सांसदहरूले आयोगको प्राङ्गणमा सामूहिक तस्बिर खिचाउँदै खुसी साटासाट गरेका थिए। यस पटकको समानुपातिक निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५७ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। त्यसैगरी नेपाली कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४ सिट प्राप्त गरेका छन्।
आजै निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउने आयोगको तयारी छ। त्यसपछि नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया प्रारम्भ हुनेछ।











चैत ५, २०८२ बिहीबार १५:५३:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।