सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सिन्धुलीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

रामेछाप : सिन्धुलीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्लाको सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरस्थित बी.पी. राजमार्ग सडक खण्डमा सोमबार राति करिब ९ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।

प्रहरीका अनुसार चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२-०२७ प ११०० नम्बरको मोटरसाइकल र सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको प्र.३-०२-०१४ प ८३६० नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–६ का करिब ४५ वर्षीय डल्ले माझीको मृत्यु भएको छ। उनलाई उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे पुर्याइएकोमा चिकित्सकले राति १०:१५ बजे मृत घोषणा गरेका थिए।

३२ वर्षीय कैलाश तोलाङ्गे र ४९ वर्षीय दिपेन्द्र केसी घाइते भएका छन्। उनीहरूको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ।

घाइते दुवैलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। हाल उनीहरूको सिनामङ्गलस्थित केएमसी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चैत ५, २०८२ बिहीबार १०:३९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।