कैलालीमा श्रीमतीको हत्या गरेपछि आत्महत्याको प्रयास
कैलाली : कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनीमा एक व्यक्तिले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्। ३१ वर्षीय रामबहादुर मगरले २७ वर्षीया श्रीमती सञ्जिता मगरको हत्या गरेपछि आफैँमाथि पनि गोली प्रहार गरेका हुन्।
गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ। आफैँलाई गोली प्रहार गरी गम्भीर घाइते भएका रामबहादुरलाई बेहोस अवस्थामा फेला पारिएको थियो। उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याइएको छ।
बुधबार अपराह्न स्थानीय जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमान–श्रीमतीबीच विवाद भएको थियो। सोही क्रममा रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीमाथि प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
उनले भने, “गए राति स्थानीयवासीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ, घटना भएको समय यकिन भइसकेको छैन।”
मृतक महिलाका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको छ।
चैत ५, २०८२ बिहीबार १०:२०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।