समानुपातिक सांसदलाई प्रमाणपत्र दिँदै आयोग, निर्वाचन प्रतिवेदन आजै राष्ट्रपतिलाई बुझाइने
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको समग्र प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्दैछ।
आयोगका अनुसार आज बिहान ११:३० बजे समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ।
प्रमाणपत्र वितरणलगत्तै दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपतिलाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने तयारी गरिएको छ।
गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो।
सोही निर्वाचनको नतिजा र समग्र प्रक्रिया समेटिएको प्रतिवेदन बुझाएपछि आजै बेलुकी ५:३० बजे आयोगको केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने आयोगले जनाएको छ।
राष्ट्रपतिलाई प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया सुरु हुनेछ। प्रतिवेदन प्राप्त भएपछि राष्ट्रपतिले नेपालको संविधान २०७२ को धारा ७६ (१) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने कानुनी बाटो खुल्नेछ।
सरकार गठनको पर्खाइमा रहेका राजनीतिक दलहरूका लागि आयोगको यो कदम महत्वपूर्ण मानिएको छ।
चैत ५, २०८२ बिहीबार ०९:२०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।