गगनले दिए कांग्रेस सभापतिबाट राजीनामा
काठमाडौं : फागुन २१ को निर्वाचनमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै गगन थापाले पार्टी सभापति पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा स्वीकृत गर्ने या अस्वीकृत त्यो भने केन्द्रीय समितिले निर्णय गर्ने तयारी गरेको छ।
गगन विशेष महाधिवेशनबाट कांग्रेस सभापतिमा चयन भएका थिए। आफ्नो नेतृत्वमा चुनावमा जाँदा पार्टीका अधिकांश उम्मेदवारसँगै उनी समेत पराजित भएपछि पार्टीमा राजीनामाको पक्ष र विपक्षमा बहस शुरू भएको थियो।
चैत ६ बाट पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ। बैठक बस्ने मिति तय भए लगत्तै थापाले पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएको पार्टीका एक पदाधिकारीले पुष्टि गरे।
पार्टी उपसभापति शर्माले उनको राजीनामा पार्टीको केन्द्रीय समितिमा पेस गर्ने तयारी गरेका छन्।
पुस अन्तिम साता गगन र विश्वको विशेष पहलमा पार्टीको विशेष महाधिवेशन भएको थियो। महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला समूह सहभागी भएन। पार्टीले थापालाई कार्वाहीको निर्णय गरेपछि कार्यसमिति चयन गरेको थियो।
निर्वाचन आयोगमा परेको उजुरीमा थापा समूहको कार्यसमितिले मान्यता पायो। सर्वोच्च अदालतमा भने यो विषय विचाराधीन नै छ।
पार्टीको आधिकारिकता विचाराधीन रहेकै बेलामा एक सय बढी सिट जितेर सरकारको नेतृत्व गर्ने लक्ष्य लिएर पार्टी निर्वाचनमा होमिए पनि लक्ष्यको आधा सिट पनि जित्न सकेन।
गगनलाई भावी प्रधानमन्त्री घोषणा गरेर निर्वाचनमा गएकोमा उनी अमरेश कुमार सिंहसँग पराजित भए।
चैत ५, २०८२ बिहीबार ०७:१६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।