निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन बुझाउने

निर्वाचन आयोगले बिहीबार राष्ट्रपतिलाई प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन बुझाउने

काठमाडौँ : निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार बुझाउने भएको छ।

आयोगले बिहीबार बिहान साढे ११ बजे समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि दिउँसो राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।

समानुपातिक सांसदलाई प्रमाणपत्र दिएपछि राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएपछि बिहीबार बेलुकी साढे ५ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन आयोजना गर्दैछ।

आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने छ।

समानुपातिक निर्वाचनतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ सांसद निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट २०, एमालेबाट १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार/चार जना सांसद निर्वाचित भएका छन्।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ रास्वपा १२५, कांग्रेस १८, एमाले नौ, नेकपा आठ, श्रम संस्कृति पार्टी तीन, राप्रपा र स्वतन्त्र एक/एक स्थानमा निर्वाचित भएका छन्।

नयाँ सरकार गठन गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट बहुमत पाएको छ। दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन्।

संसद सचिवालयले चैत १० गते नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउने तयारी गरेको छ। जेष्ठ सदस्यको रुपमा नेपाली कांग्रेसका समानुपातिक सांसद अर्जुननरसिंह केसीले सांसदहरुलाई शपथ खुवाउने छन्। त्यसपछि राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि बहुमतप्राप्त दललाई आव्हान हुनेछ। 

आव्हानपछि रास्वपाले संसदीय दलमार्फत संसदीय दलको नेता चयन गरेर प्रधानमन्त्रीमा नियुक्तीका लागि राष्ट्रपति कार्यालयमा नाम सिफारिस गरेपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ। रास्वपाले निर्वाचन अगाडि नै भावी प्रधानमन्त्रीका रूपमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रस्ताव गरिसकेको छ।

प्रधानमन्त्रीमा बालेन नियुक्त हुने भए पनि अन्य मन्त्रीहरुबारे भने रास्वपाले टुंगो लगाएको छैन। बुधवार पार्टीको सांसदहरुका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा पार्टी सभापति रवि लामिछानेले मन्त्री बन्न कतै नधाउन निर्देशनदिँदै पार्टीले मन्त्रीहरुको नाम टुंगो नलगाएको र क्षमताको आधारमा मन्त्री बनाउने बताएका थिए।

चैत ४, २०८२ बुधबार १९:४६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।