रास्वपाबाट किन टाढै बसिरहेका छन् बालेन ?

रास्वपाबाट किन टाढै बसिरहेका छन् बालेन ?

काठमाडौं : पार्टीबाट जितेका एक सय ८२ सांसदहरूलाई एक अर्कासँग परिचित गराउन र संसदीय अभ्यासबारे जानकारी गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबारबाट राखेको अभिमुखीकरण कार्यक्रमको पहिलो दिन दुई सांसद तथा पार्टीका मुख्य पदाधिकारी सभापति रवि लामिछाने अनि वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी भएनन्।

बुधवारसम्म चल्ने कार्यक्रमको अन्तिम दिन दुवै नेता आउने दाबी गरियो। तर अन्तमा बालेन सहभागी भएनन्। पहिलो दिन लामिछाने सहभागी नहुनुको कारण स्वास्थ्य समस्या बताइयो। उनी दोस्रो दिन अभिमुखीकरण कार्यक्रममा सहभागी भएर सांसदहरूलाई निर्देशन दिए। दोस्रो दिन बालेन पनि सहभागी हुने बताइएको थियो। तर उनी सहभागी भएनन्।

बालेन रास्वपामा नयाँ हुन्। अधिकांश सांसदहरू नयाँ नै छन्। अभिमुखीकरण कार्यक्रम सबै सांसदहरूसँग परिचित हुन सहज माध्यम बन्न सक्थ्यो। तर बालेनले आफ्नै दलका सांसदहरूसँग एकमुष्ट परिचित हुन रुचि देखाएनन्। पार्टीका नेताहरूले उनी भावी सरकार निर्माणको गृहकार्यमा व्यस्त भएकाले नआएको दाबी गरिरहेका छन्।

बालेन निकट केही व्यक्तिहरूसँग कुरा गर्दा उनी कार्यक्रममा अनुपस्थित हुनुको कारण पार्टी राजनीतिप्रतिको अरुचि देखियो। पार्टीगत प्रतिनिधिको रूपमा सरकार गठन हुने भए पनि सकेसम्म सरकार र दललाई अलगै राख्नुपर्छ भन्ने पक्षमा देखिए उनी।

सरकार चलाउनु र पार्टी चलाउनु भिन्न भूमिका रहेको भन्दै उनी सकेसम्म रास्वपा नेताको रूपमा सक्रिय नहुने पक्षमा देखिए। पार्टीकोतर्फबाट सरकारको नेतृत्व गर्ने भए पनि उनी सकेसम्म सरकारमा पार्टीको छायाँ पर्न नदिने पक्षमा रहेको उनी निकटहरू बताउँछन्।

“उहाँमा पार्टीगत गतिविधिमा त्यति रुचि छैन। पार्टीको गतिविधिको नेतृत्व सभापतिबाट हुन्छ भन्ने हो,” बालेन निकट स्रोतले उकेरासँग भन्यो “आफ्नो जिम्मेवारी सरकार भएकाले उहाँ आकार कस्तो बनाउने र को कसलाई जिम्मेवारी दिने भन्ने छलफलमै केन्द्रित  हुनुहुन्छ।”

निकट स्रोतका अनुसार अहिले उनी सरकार सञ्चालनका अनुभवी विज्ञ समूह, पूर्व र वर्तमान कर्मचारीहरू लगायतकाहरुसँग भेटेर छलफल गरिरहेका छन्। प्रधानमन्त्री बनेर समस्या पहिल्याउने भन्दा पनि काम सुरु गर्नु अगाडि नै समस्या बुझेर मास्टरप्लान बनाउन उनी र उनी निकट टिम सक्रिय देखिए।

घन्टीघरमा फर्किएका छैनन् बालेन

रास्वपा प्रवेशदेखि निर्वाचनपछि बालेनको गतिविधि हेर्ने हो भने उनी पार्टीगत औपचारिक गतिविधिमा सहभागी देखिन्न। भावी प्रधानमन्त्रीको रूपमा पार्टी सभापति लामिछानेसँग सहमति भएसँगै पार्टीले उनलाई वरिष्ठ नेताको पद दियो। तर उनले अहिलेसम्म पार्टी सदस्यको शपथ समेत लिएका छैनन्। जबकि उनीसहितको समूहबाट रास्वपामा सामूहिक रूपमा सहभागी भएका अन्य नेताहरूले सामूहिक शपथ खाएका थिए। छुटेकाले पछि एक्लै भए पनि शपथ लिए। तर बालेनले शपथ लिएका छैनन्।

माघ ४ गते उनी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय गएर रविसँगै घण्टी बजाएर पार्टी कार्यालय छिरेर आफ्ना लागि बनाएको कार्यकक्षमा केही समय बसेर फर्किएका थिए। त्यसपछि उनी पार्टी कार्यालय गएका छैनन्। उनी छलफलदेखि भेटघाटसम्मको काम बाहिरै बसेर गरिरहेका छन्।

निर्वाचनको मनोनयन दर्तादेखि मौन अवधि सुरु नभएसम्म आफ्नो अनि रास्वपाका उम्मेदवारको प्रचार र पार्टीको सभाहरूमा उनी सहभागी भए। तर उनी जहाँ जहाँ सक्रिय भए रास्वपाको समूहभन्दा महानगरका काम गर्दाको आफ्नै समूहसँग मात्र नजिक बसे। उनको कोर टिममा अहिले पनि महानगरमा उनलाई सहयोग गर्ने कुमार बेन लगायतकाहरू नै देखिन्छन्।

निर्वाचनपछि आराम गरिरहेका सभापति रवि लामिछानेसँग घरमै गएर भेटेर छलफल गरेको तस्बिर सार्वजनिक भयो। त्यसयता दुबैबीच भएको औपचारिक भेट सार्वजनिक छैन। छलफलबारे जानकारको दाबी अनुसार सम्भावित मन्त्रीहरूबारे सामान्य छलफल मात्र भएको देखियो। बालेनले रविलाई सबैलाई समेटेर काम गर्न सहज हुनेगरि मन्त्रिमण्डल बनाउनेबारे जानकारी गराएका छन्। तर को कसलाई समेट्ने भन्नेबारे भने खुलाएका छैनन्। 

रास्वपाका नेताहरू भावी सरकार अनि पार्टीगत संलग्नताबाट बालेन टाढै बसेकोबारे औपचारिक प्रतिक्रिया दिन चाहँदैनन्। उनीहरू यसलाई सरकार निर्माणको गृहकार्यको व्यस्तता बताउँछन्। रास्वपाका एक नेताले बालेनको स्वभाव समूहमा घुलमिल हुने, छलफल गर्ने भन्दा पनि सानो समूहसँग काम र छलफल गर्न रुचाउने भएकाले दलीय गतिविधिमा त्यति रुचि नदेखिएको बताए। अभिमुखीकरण कार्यक्रममा सहभागी गराउन पार्टीबाट प्रयास भए पनि बालेनले रुचि नदेखाएपछि जोडबल नगरेको ती नेताको दाबी छ।

“सांसदका रूपमा नयाँ साथीहरू निर्वाचित भएर आउनु भएको छ। सबैले वरिष्ठ नेतासँग भेट्न पाएका छैनन्। औपचारिक परिचय समेत हुन सकेको छैन। अभिमुखीकरण कार्यक्रमले त्यसलाई सहज बनाउँथ्यो। तर कार्यक्रममा आउन उहाँमा रुचि देखिएन” रास्वपाका एक नेताले भने “बालेन रास्वपाको नेताको रूपमा प्रधानमन्त्री चयन हुने हो। यो दलीय प्रणाली भएकाले सकेसम्म पार्टीगत काममा सक्रिय भए हुन्थ्यो भन्ने भए पनि उहाँसँग पार्टी सभापतिबाहेक अन्यको सम्पर्क छैन। उहाँलाई पार्टीमा सक्रिय गराउने जिम्मा अब सभापतिकै हो।”

सरकारमा अनुभवी र विज्ञको खोजी

जानकारस्रोतका अनुसार बालेन सकेसम्म आफ्नो नेतृत्वको सरकारमा अनुभवी र विज्ञसहितको समूह बनाउने प्रयासमा छन्। उनले प्रारम्भमा सकेसम्म रास्वपाका सांसदहरूबाटै मन्त्री बनाउने भन्दा पनि अनुभवी र विज्ञहरूलाई मन्त्री बनाउन चाहन्थे। सुशीला कार्की नेतृत्वको सरकारमा रहेका केही मन्त्रीहरूलाई उनी आफ्नो नेतृत्वको सरकारमा निरन्तरता दिने पक्षमा थिए। 

स्रोतको दाबी अनुसार वर्तमान स्वास्थ्यमन्त्री सुधा शर्मा र कृषीमन्त्री डा मदन परियारलाई सकेसम्म आफ्नो नेतृत्वको सरकारमा दोहोर्याउने पक्षमा थिए।रास्वपाले पनि सांसदलाई नभई विज्ञलाई मन्त्री बनाउने उल्लेख छ। तर संवैधानिक प्रावधान अनुसार गैर सांसद ६ महिना मात्र मन्त्री बन्न सक्ने भएपछि पार्टीभित्रबाटै मन्त्रीहरू चयन गर्नुपर्ने बाध्यतामा छन् बालेन।

त्यसका लागि अहिले पार्टीका सांसदहरूको अनुभव, क्षमता र उनीहरूलाई दिन सकिने जिम्मेवारीबारे उनको समूहले गृहकार्य गरिरहेको देखियो। प्रारम्भमा सानो आकारको सरकार बनाउने र पछि आवश्यकता अनुसार थप्दै जाने बालेनको रणनीति देखियो।

मुख्य रूपमा बालेन अर्थ, गृह, परराष्ट्र र कानुनमन्त्रीमा फोकस देखिए। स्रोतका अनुसार अहिलेसम्म अर्थमन्त्रीमा स्वर्णिम वाग्लेको नाम लगभग तय भए पनि अन्य मन्त्रीबारे भने कुनै निर्णय भएको छैन। मन्त्रीका रूपमा शिशिर खनाल, सोविता गौतम, रञ्जु दर्शनाको नाम सर्ट लिस्टमा भए पनि अझै निर्णय भने भएको छैन। उपसभापति डीपी अर्याल, विराजभक्त श्रेष्ठ, तोसिमा कार्कीको नाम समेत पुगेको छ। तर उनीहरूको नाम विचाराधीन देखियो।

समूह र भूगोल मिलाउने दबाब

रास्वपामा निर्वाचन अगाडि विवेकशील साझा, बालेन समूह अनि नागरिक उन्मुक्ति पार्टीका नेताहरू प्रवेश गरेका थिए। यसमा निर्वाचन अगाडि अन्य दलमा संलग्नहरूको संख्या पनि टन्नै देखिन्छ। मधेसबाट समेत ठूलो समूह सांसद भएर आएका छन्। सरकार गठन गर्दा मूल रास्वपाका सांसदहरूसहित बाँकी तीन समूहबाट सांसदहरूलाई समेत सरकारमा सहभागी गराउने गृहकार्य भए पनि हिजो कांग्रेस अनि एमालेबाट मन्त्री बन्दा संस्थापन र संस्थापनइतर, केपी ओली अनि विद्या भण्डारीको समूहका मन्त्री जसरी समूहगत भागबन्डा भएको सन्देश नजाओस् भन्ने पक्षमा बालेन समूह सचेत देखिए।

उनी निकटको दाबी अनुसार भूगोलगत रूपमा सबै प्रदेशको प्रतिनिधित्व होस् भन्ने पक्षमा छन्। लैंगिक र जातीय रूपमा समेत समावेशी सरकार बनाउनु पर्ने तर अनुभवी समेत चाहिने भएकाले भएका सांसदहरूमध्येबाट मन्त्री छान्न उनीहरूको पृष्ठभूमि केलाउने काम भइरहेको निकट स्रोतले बतायो। 

चैत ४, २०८२ बुधबार १४:४०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।