खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, एक जना घाइतेसहित पाइलटलाई काठमाडौं ल्याइयो
काठमाडौं : खोटाङको केपिलासगढी गाउँपालिकामा मंगलबार दिउँसो एयर डाइनेस्टीको एक हेलिकप्टर दुर्घटनामा परेको छ।
अवतरण गर्ने क्रममा भएको सो दुर्घटनामा परी एक जना यात्रु घाइते भएका छन् भने चालकसहित अन्य पाँच जना सकुशल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार केपिलासगढी-२, बालादेसी भन्ने स्थानमा दिउँसो १२ बजेर २ मिनेट जाँदा एयर डाइनेस्टीको ‘नाइनएन-एएचक्यु’ कलसाइनको हेलिकप्टर दुर्घटनामा परेको हो।
हेलिकप्टर अवतरण गर्ने क्रममा भित्तामा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही ठाउँका ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्। उनलाई तत्कालै एयर डाइनेस्टीकै अर्को हेलिकप्टर मगाएर थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षकले जानकारी दिए।
हेलिकप्टरका चालक सविन थापाको अवस्था सामान्य रहेको र उनी काठमाडौं फर्किसकेका छन्।
हेलिकप्टरमा सवार अन्य चार यात्रुहरू लक्ष्मी राई, समला राई, बालकुमार राई र दासमणि राई पनि सकुशल रहेका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
चैत ४, २०८२ बुधबार १३:०९:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।