अमेरिकाद्वारा स्ट्रेट अफ होर्मुजमा रहेका इरानी मिसाइल साइटहरूमा 'बंकर बस्टर' आक्रमण
एजेन्सी : अमेरिकी सेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण 'स्ट्रेट अफ होर्मुज' क्षेत्रमा रहेका इरानी क्षेप्यास्त्र अखडाहरूमा शक्तिशाली बम प्रहार गरेको जनाएको छ। जमिनमुनि रहेका बंकरसमेत ध्वस्त पार्न सक्ने क्षमताका 'बंकर बस्टर' बमहरू प्रयोग गरी यो आक्रमण गरिएको हो।
अमेरिकी सेन्ट्रल कमाण्ड सामाजिक सञ्जाल 'एक्स' मार्फत दिएको जानकारी अनुसार, इरानी तटीय क्षेत्रमा रहेका अत्यधिक सुरक्षित क्षेप्यास्त्र साइटहरूमा ५ हजार पाउण्डका डीप पेनिट्रेटर (गहिराइसम्म प्रवेश गर्न सक्ने बम) सफलतापूर्वक प्रहार गरिएका छन्।
अमेरिकी पक्षले ती स्थानमा रहेका इरानी एन्टी–शिप क्रुज मिसाइलहरूले अन्तर्राष्ट्रिय जहाज ढुवानीका लागि खतरा सिर्जना गरिरहेको दाबी गरेको छ।
विश्वको कुल तेल आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा ओगट्ने यस जलमार्गमा इरानले गरेको अवरोधका कारण विश्व बजारमा तेलको मूल्य वृद्धि हुनुका साथै सामुद्रिक यातायात प्रभावित भएको छ।
प्रयोग गरिएका ‘बंकर बस्टर’ भनिने यी बमहरू जमिनभित्र गहिराइसम्म छिर्न सक्ने क्षमताका हुन्छन्। ती बमहरू हावामा वा जमिनको सतहमा विस्फोट हुने सामान्य बमभन्दा फरक किसिमका हुन्छन् र यी बमहरू सिधै जमिन मुनि धेरै गहिराइसम्म पुगेपछि मात्र विस्फोट हुने गरी बनाइएका हुन्छन्।
बीबीसीका अनुसार यी बमहरू गत वर्ष इरानका भूमिगत आणविक संरचनामा प्रयोग गरिएका ३० हजार पाउण्डका बमभन्दा साना भए पनि निकै शक्तिशाली मानिन्छन्।
चैत ४, २०८२ बुधबार ११:५८:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।