सेटिङको श्रृंखला : कर्णाली प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रमा दुई करोड १२ लाखको अर्को ‘भ्रष्टाचार प्याकेज’

सेटिङको श्रृंखला : कर्णाली प्रदेशको स्वास्थ्य आपूर्ति केन्द्रमा दुई करोड १२ लाखको अर्को ‘भ्रष्टाचार प्याकेज’

काठमाडौँ : कर्णालीको सुर्खेतस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब चार करोड आठ लाखको टेन्डरमा गरेको बदमासी जसरी नै अर्को दुई करोड १२ लाखको टेन्डरमा पनि  बदमासी गरेको फेला परेको छ। उकेराको खोजमा केन्द्रले गरेको टेन्डरमा सेटिङको श्रृंखला नै देखिएको छ।

केन्द्रले २०८२ फागुन ५ मा टेन्डर आह्वान गरी फरक–फरक प्रकृतिका १० किसिमका एक सय ४८ वटा स्वास्थ्य उपकरण तथा सामग्रीहरूको एउटै प्याकेज बनाएर निश्चित कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न सक्नेगरी करिब चार करोड आठ लाखको टेन्डर प्रक्रिया अगाडि बढाएकोबारे खुलासा गर्दै उकेराले शुक्रवार समाचार सम्प्रेषण गरेको थियो।

कर्णालीको सुर्खेतस्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले मिलेमतोमा निकालेको खरिदबारे कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी र मन्त्रालयका सचिव धोलकराज ढकालले यो टेन्डरका विषयमा सोधपुछ गरेर निर्णय गर्ने बताएका छन्।

यो मात्रै हैन, उकेराको खोजमा केन्द्रले गरेको यस्तै अर्को टेन्डरमा पनि उस्तै प्याकेजिङ नै गर्दै टेन्डर गरी बदमासी गरेको देखिएको हो। केन्द्रले २०८२ फागुन ४ मा अर्को पनि टेन्डर आह्वान गर्दै फरक–फरक प्रकृतिका ९ किसिमका एक सय चार वटा स्वास्थ्य उपकरण तथा सामग्रीहरूको एउटै प्याकेज बनाएर निश्चित कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न सक्नेगरी करिब दुई करोड १२ लाखको खरिद  प्रक्रिया अगाडि बढाएको तथ्य उकेराले फेला पारेको छ।

केन्द्रले करिब दुई करोड १२ लाखमा खरिद गर्नेगरी ९ किसिमका एक सय चार वटा उपकरण तथा स्वास्थ्य सामग्रीको एउटै प्याकेज (सिंगल प्याकेज) बनाएर खरिदमा प्याकेजिङ लक्ड गर्दै खरिद प्रक्रिया अगाडि बढाएको खुलेको हो। यो खरिदमा पनि कुन उपकरण कतिमा खरिद गर्न लागेको हो भन्ने समेत टेन्डर कागजातमा खुल्दैन।

संशोधित भ्रष्टाचार निवारण ऐन, २०८१ को प्रावधान अनुसार यो सिधै भ्रष्टाचार देखिन्छ नै। ऐनमा खरिद कार्यलाई टुक्र्याउने, टुक्र्याउन लगाउने वा प्याकेजिङ गर्ने गराउने’ कामलाई भ्रष्टाचार मानेको छ।

केन्द्रले करिब दुई करोड १२ लाखमा खरिद गर्नेगरी ९ किसिमका एक सय चार वटा सामग्रीको एउटै प्याकेज  बनाएर अगाडि बढाएको खरिद प्रक्रियाको सूची हेर्दा असम्बन्धित उपकरणहरूलाई एकै प्याकेजमा राखिएको प्रस्ट देखिन्छ।

केन्द्रले सार्वजनिक गरेको टेन्डरमा एक आपसमा असम्बन्धित ‘बेड, आइसियु वीथ लकर एन्ड म्याट्रेस्’ १३ वटा, ‘बेड, सेमी फोलर वीथ लकर एन्ड म्याट्रेस्’ १७ वटा, ‘बेड गाइनेक्लोजिकल एक्जामिनेशन एन्ड डेलिभरी’ १० वटा, ‘सिप्याप (कन्टिन्यूज पोजेटिभ एयरवे प्रेसर)’ १० वटा, ‘बाइप्याप (बाइ–लेभल पोजेटिभ एयरवे प्रेसर)’ १० वटा, ‘इन्फ्युजन पम्प’ १० वटा, ‘सिरिन्ज पम्प’ १० वटा, ‘कार्डियोटोकोग्राफ (सिटिजि) मेसिन–फेटल मनिटर’ १० वटा, ‘रेडियन्ट बेबी वार्मर’ १० वटालाई एउटै प्याकेज बनाइएको छ।

टेन्डरमा भएको यो सूचीले नै फरक–फरक प्रकृतिका स्वास्थ्य उपकरण तथा सामग्री (बायोमेडिकल इक्वीप्मेन्ट) को छुट्टाछुट्टै टेन्डर गर्नुपर्नेमा केन्द्रले सोलोडोलो रूपमा ९ किसिमका एक सय चार वटा स्वास्थ्य उपकरण तथा स्वास्थ्य सामग्रीको एउटै प्याकेज बनाएर टेन्डर गरेको पुष्टि हुन्छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक कृष्ण सापकोटा अनि केन्द्रमा करारमा रहेका बायोमेडिकल इन्जिनियर दमन खड्का खरिद प्रक्रियाको बदनियतमा प्रत्यक्ष संलग्न देखिन्छन्। उकेराले यस अघि फेला पारेको र यो गरी दुई वटा टेन्डरको तथ्य हेर्दा यी दुई पात्र शृङ्खलाबद्ध रूपमा नै खरिद सेटिङमा सक्रिय भएको देखिन्छ। खरिद सेटिङमा खरिद समिति, लेखा प्रमुख, प्रशासन प्रमुखको भूमिका हुन्छ नै। खरिदलाई पारदर्शी बनाउने वा सेटिङ अनुसार नै अगाडि बढाउने भन्ने विषयमा सम्बन्धित मन्त्रालयका सचिव र मन्त्रीको पनि जिम्मेवारी हुन्छ।

केन्द्रका प्रमुखको सेटिङमा ‘भ्रष्टाचारको प्याकेजिङ’

कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले टेन्डरमा राखेको स्वास्थ्य उपकरणको प्याकेज हेर्दा भ्रष्टाचार निवारण ऐनको व्यवस्था अनुसार प्रस्टै भ्रष्टाचार देखियो।

संशोधित भ्रष्टाचार निवारण ऐन, २०८१ मा राखिएको प्रावधान र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ९ किसिमका एक सय चार वटा फरक प्रकृतिका उपकरणको एउटै प्याकेज बनाएर अगाडि बढाएको यो खरिदको मापदण्ड हेर्ने हो भने सिधै भ्रष्टाचार देखिन्छ।

ऐनमा ‘प्रतिस्पर्धालाई जानी जानी प्रभाव शून्य वा सीमित वा कमजोर बनाउने उद्देश्यले सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून प्रतिकुल हुने गरी सर्त तथा मापदण्ड निर्धारण गर्ने, गराउने वा खरिद कार्यलाई टुक्र्याउने, टुक्र्याउन लगाउने वा प्याकेजिङ गर्ने गराउने’ कामलाई भ्रष्टाचार मानेको छ।

ऐनले यस्तो काम गरेको प्रमाणित भएमा तीन वर्षसम्म कैद र बिगो बमोजिम जरिवाना गरी असुल उपर गरिने उल्लेख गरेको छ।

ऐनमा ‘मनासिब कारण बिना लागत इष्टिमेट अस्वाभाविक रूपमा बढाई संशोधन गरी काम गर्ने, गराउने’ गैर कानुनी लाभ वा हानि पुर्याउने बदनियतले काम गर्नेलाई सजाय हुने थप व्यवस्था गरेको छ। यसमा पनि तीन वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना र बिगो असुल उपर गरिने व्यवस्था छ।

यो टेन्डरमा एकै प्याकेजमा राखिएका अधिकांश स्वास्थ्य उपकरण तथा सामग्री भिन्न–भिन्न प्रयोजन र विशेषताका रहेको प्रस्टै देखिन्छ।

यसरी बदनियत राखेर बनाइयो असम्बन्धित सामग्रीको ‘टेन्डर प्याकेज’

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले २०८२ फागुन ४ (२०२६, फेब्रुअरी १६) मा ९ किसिमका स्वास्थ्य उपकरण तथा सामग्री ‘बायोमेडिकल इक्विप्मेन्ट’लाई एउटै प्याकेज बनाएर टेन्डर आह्वान गर्यो। त्यसमा फरक प्रकृतिका सामग्रीको एकै प्याकेज बनाइयो।

यी मध्ये कुन सामग्रीको सम्भावित मूल्य कति पर्छ भन्ने विषय समेत टेन्डर कागजातमा भएको जमानत रकम (बिड सेक्युरिटी अमाउन्ट)मा खुल्दैन। सोलोडोलो रूपमा ९ किसिमका एक सय चार वटा स्वास्थ्य उपकरण तथा सामग्रीको खरिदका लागि एकमुष्ट रकममा टेन्डर प्रस्ताव गर्नुपर्ने प्रावधान राखिनुले नै खरिद सुरु गर्दा नै बदनियत देखिन्छ। केन्द्रले एउटै प्याकेज बनाएर प्रक्रिया अगाडि बढाएको यो टेन्डरमा ९ किसिमका फरक–फरक प्रकृति र विशेषता भएका सामग्री नै देखियो। यो टेन्डरमा पनि भएको मुख्य बदमासी नै यही हो। उकेराले यस अघि खुलासा गरेको केन्द्रकै करिब चार करोड आठ लाखको टेन्डरमा पनि यही बदमासी छ।

यो टेन्डरमा भएको सामग्रीमध्ये स्वास्थ्य अवस्था गम्भीर भएका आइसियुमा राखिने बिरामीका लागि ‘बेड, आइसियु वीथ लकर एन्ड म्याट्रेस्’ प्रयोग हुन्छ।

‘बेड, सेमी फोलर वीथ लकर एन्ड म्याट्रेस्’ सामान्य वार्डमा प्रयोग हुने बिरामीले सामान राख्ने लकर र बिरामी सुत्ने म्याट्रेस सहितको बेड हो। 

स्वास्थ्य संस्थाहरूमा महिलाको स्त्रीरोग सम्बन्धी जाँच (गाइनेकोलोजिकल परीक्षण) गर्न तथा बच्चा जन्माउने (प्रसूति) समयमा ‘बेड, गाइनोक्लोजिकल एजामिनेशन एन्ड डेलिभरी’को प्रयोग हुन्छ।

सुत्दा सास रोकिने समस्या (अवरोधजन्य स्लिप एपनिया) को उपचारमा ‘सिप्याप (कन्टिन्यूज पोजेटिभ एयरवे प्रेसर)’को प्रयोग गरिन्छ।

सास फेर्न गाह्रो हुने (श्वासप्रश्वास सम्बन्धी समस्या भएका) बिरामीहरूका लागि  फोक्सोमा बढी अक्सिजन पुर्याउन ‘बाइप्याप (बाइ–लेभल पोजेटिभ एयरवे प्रेसर)’ प्रयोग गरिन्छ।

स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीलाई नसाबाट छिटो र निरन्तर रूपमा नर्मल स्लाइन (एनएस), क्लुकेजलगायत तरल पदार्थ तथा औषधि दिन ‘इन्फ्युजन पम्प’को प्रयोग गरिन्छ।

स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीलाई नसाबाट छिटो र निरन्तर मात्रामा तरल तथा औषधि दिन ‘सिरिन्ज पम्प’को प्रयोग गरिन्छ। सामान्य इन्फ्युजन पम्प तरल पदार्थ दिन प्रयोग गरिन्छ भने सिरिन्ज इन्फ्युजन पम्प ‘सिरिन्जको प्लन्जर’ प्रयोग गरेर तरल पदार्थ दिन प्रयोग गरिन्छ। त्यसैले ‘इन्फ्युजन पम्प’ र ‘सिरिन्ज पम्प’को कामको प्रकृति फरक छ। 

गर्भवती महिलाको प्रसव पीडा सुरु भएदेखि सुत्केरी हुँदा (डेलिभरी)सम्म भ्रूणको मुटुको धड्कन (एफएचआर) र आमाको पाठेघरको सङ्कुचन (यूसी)को जाँच गर्न ‘कार्डियोटोकोग्राफ (सिटिजि) मेसिन–फेटल मनिटर’को प्रयोग गरिन्छ।

नवजात शिशुलाई न्यानो राख्न र शरीरको तापक्रम सामान्य (करिब ३७ डिग्री सेल्सियस) कायम राख्न ‘रेडियन्ट बेबी वार्मर’ प्रयोग हुन्छ।

सामान ल्याइदिनुपर्ने ‘डेलिभरी डेट’मा समेत सेटिङ

केन्द्रले यो टेन्डरमा पनि एनसिबी गरेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई समेत निषेध गर्दै पहिल्यै सामान ल्याएर स्टकमा राखी उपकरण ल्याइदिनुपर्ने समय छोटो राखेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति लिएको देखिन्छ।

आर्थिक वर्ष सुरु हुनासाथ गर्नुपर्ने खरिद ढिला गरी सुरु गरेर सामान ल्याइसक्नुपर्ने समयावधि समेत कम राखेर चाहेकै सप्लायर्स कम्पनीलाई टेन्डर दिने रणनीति अपनाएको प्रस्टै देखिएको हो।

यसरी हेर्दा टेन्डरको स्पेशिफिकेशन निर्माणको चरणबाटै टेन्डर पर्ने पक्का गरेर आपूर्तिकर्ताले खरिद सम्झौता हुनु अगाडि नै सामग्री नेपाल भित्राएर स्टक राखेको सहजै अनुमान लगाउन सकिने आधार देखिन्छ।

यति ठूलो रकमको उपकरणमा टेन्डर हात पार्ने सप्लायर्स कम्पनीले टेन्डर पाएर सम्झौता भएको ४५ दिन भित्रमा स्वास्थ्य उपकरण तथा सामग्री ल्याइदिनुपर्ने सर्त राखिएको छ।

स्पेशिफिकेशन (टेन्डर कागजात)मा ‘अल दी गुड्स स्याल बी डेलिभर्ड एन्ड इन्स्टल्ड विदिन ४५ डेज् अफ कन्ट्राक साइनिङ’ भन्ने सर्त राखिएको छ।

केन्द्रले ९ किसिमको स्वास्थ्य उपकरणको एउटै प्याकेज बनाएर प्रक्रिया अगाडि बढाएको टेन्डरको स्वास्थ्य  उपकरण तथा स्वास्थ्य सामग्री हेर्दा ती उपकरण तथा सामग्री नेपालमा बन्दैनन्। विदेशबाट नै ल्याउनुपर्ने हुन्छ। सामान्यतया टेन्डर पाएर सम्झौता भएपछि केही बाहेक यस्ता सामग्री ल्याएर टेन्डर पाएको संस्थामा पुर्याएर ४५ दिनभित्रमा जडान गर्न करिब असम्भव नै देखिन्छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक सापकोटाले यस अघिको टेन्डरमा खरिद प्रक्रिया अगाडि बढाउँदा बढाउँदै समय लागेकाले ‘डेलिभरी’को समय ४५ दिन मात्रै राख्नुपरेको असुहाउँदो तर्क गरेका थिए।

यो खरिदमा भएको अर्को सेटिङको खेल नै यही हो। यस अघि कतिपय टेन्डर हेर्दा यसरी नै ढिलो खरिद प्रक्रिया सुरु गरेर सेटिङ भए अनुसारको सप्लायर्स कम्पनीको सामग्री स्टकमा राखेर सामग्री किन्ने गरेको देखिन्छ। यसका लागि ‘डेलिभरी’को समयमा खेलेर छोटो दिँदा अन्यले सामानै ल्याउन नभ्याउने भन्दै खरिद प्रक्रियाको प्रतिस्पर्धामै सहभागी हुँदैनन्।

त्यसैले यो टेन्डरमा पनि ४५ दिनमा ल्याइदिनुपर्ने प्रावधान राख्नुले समेत सेटिङ अनुसार नै पहिल्यै जसले टेन्डर पाउने हो उसले सामग्री नेपाल ल्याएर स्टकमा राखेपछि बल्ल टेन्डर प्रक्रिया सुरु गरेको आधार देखिन्छ।

यो टेन्डरमा मात्रै हैन उकेराले सेटिङ खुलासा गर्दै शुक्रवार समाचार प्रकाशित गरेको करिब चार करोड आठ लाख मूल्यको टेन्डर पनि केन्द्रले यस्तै गरी बदनियत राखेरै नै अगाडि बढाएको देखिएको छ।

सम्बन्धित समाचार

चैत ३, २०८२ मंगलबार २३:३१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।