एमालेको आन्तरिक बहस सार्वजनिक मञ्चमा छताछुल्ल
काठमाडौं : कडा साङ्गठनिक अनुशासन भएको एमाले आन्तरिक विवाद तथा असन्तुष्टिहरूलाई पार्टी कमिटीभित्रै व्यवस्थित ढंगले मन्थन गरेर टुंग्याउने पार्टीका रूपमा चिनिन्थ्यो। तर, अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा आएदेखि पार्टीको आन्तरिक लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ।
नेतृत्वले पार्टीमा फरक मतलाई स्थान नदिएपछि नेताहरू सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका छन्। पार्टी कमिटीमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउन निषेधित गरिएको गुनासो बढ्दो छ। अर्कोतर्फ पार्टीका आन्तरिक मतभेद बाहिर ल्याउँदा नेताहरूले अनुशासनको कारबाही खेप्नुपरिरहेको छ।
पार्टी अध्यक्ष ओलीले नेतृत्व गरिरहेको सरकारले जेनजी पुस्तमाथि गरेको दमन र पछिल्लो निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि एमालेको ठूलो पङ्क्तिले नेतृत्वविरुद्ध सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरिरहेको छ। किन यस्तो भइरहेको छ ? एमाले नेता सुरेन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत पार्टीभित्रका विषयवस्तुलाई बैठकमा नराखेर बाहिर अभिव्यक्त हुनुको कारण खुलाएका छन्।
उनका अनुसार पार्टीभित्र छलफलका विषयमा सेन्सर गरिने र फरक विचारहरू निर्णय प्रक्रिया नसमेटिने प्रवृत्ति विकाश हुँदा आन्तरिक मतभेदहरू छताछुल्ल हुन थालेका हुन्। पार्टीका आधिकारिक बैठकहरू छलफल र सुधारको साटो केवल आदेश दिने औपचारिकतामा सीमित भएको उनको भनाई छ।
पार्टीभित्र उठाइएका सुधारका प्रस्तावलाई नेतृत्वले गम्भीरतापूर्वक नलिने र पार्टी अब 'बन्द कोठा' र सीमित व्यक्तिको चाहनाबाट चल्न नसक्ने पाण्डेको बुझाइ छ। पार्टीका बैठकहरू छलफल र सुधारको माध्यम बन्न छाडेर केवल आदेश दिने थलोमा सीमित भएको टिप्पणी उनले गरे।
आफूहरूले राखेका सुधारका प्रस्तावलाई नेतृत्वले 'नोट अफ डिसेन्ट'मा मात्र सीमित गरिदिएको उनको भनाइ छ। नेता पाण्डेले लेखेका छन्, "पार्टीका कुरा बैठकमा गर्ने कि सामाजिक सञ्जालमा?' यो जायज प्रश्न हो। हामीले पार्टीका आधिकारिक फोरम र बैठकहरूमा पटक-पटक सुधारका ठोस मार्गचित्र प्रस्तुत गर्यौं र गल्तीहरू औँल्यायौं। ती आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नु र छलफल गर्नुको साटो 'नोट अफ डिसेन्ट' को एउटा कुनामा मात्र सीमित गरियो।"
नेतृत्वको एकतर्फी कार्यशैलीप्रति लक्षित गर्दै पाण्डेले बैठकमा फरक मतको सम्मान हुन छाडेको र अहङ्कार बढेको बताए। उनले अगाडि भनेका छन्, "जब बैठक सुन्ने र सुध्रिने थलो होइन, केवल सुनाउने र 'हुकुम' दिने औपचारिकता मात्र बन्छ, तब त्यहाँ विवेकको मृत्यु हुन्छ र अहङ्कारले ठाउँ पाउँछ।"
पार्टी सञ्चालनको वर्तमान विधि परिवर्तन हुनुपर्नेमा जोड दिँदै पाण्डेले अबको एमाले सीमित व्यक्तिको चाहना र बन्द कोठाको निर्णयबाट नभई आधुनिक कार्य पद्धतिबाट अघि बढ्नुपर्ने धारणा राखे। उनले भनेका छन्, "अबको एमाले 'बन्द कोठा' को षड्यन्त्र वा केही सीमित व्यक्तिको क्याल्कुलेसनबाट होइन, आम कार्यकर्ताको भावना र आधुनिक कार्य पद्धतिबाट चल्नुपर्छ।"
चैत ३, २०८२ मंगलबार २२:२४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।