रविको मुद्दा फिर्ताविरुद्धको रिट 'हेर्दाहेर्दै'मा, अर्को सुनुवाइ बिहीबार
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा मंगलबार पनि सुनुवाइ सकिएन।
सर्वोच्च अदालतले उक्त रिटलाई ‘हेर्दाहेर्दै’मा राख्दै अर्को सुनुवाइ चैत ५ गते बिहीबारका लागि तय गरेको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको यो मुद्दा तेस्रो दिन मंगलबार पनि टुंगो लागेन।
बुधबार काठमाडौं उपत्यकामा घोडेजात्राको सार्वजनिक बिदा परेका कारण अर्को सुनुवाइ बिहीबार हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। मंगलबार लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रमणकुमार श्रेष्ठ, अधिवक्ताहरू दीपेन्द्र झा र नारायणदत्त कँडेल लगायतले बहस गरेका थिए।
रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ताहरू टीकाबहादुर कुँवर, आभाष रेग्मी, आयुष बडाल र अनुपम भट्टराईले बहस गरेका थिए। आगामी सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जवाफ दिनेछन्।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले गत पुस ३० गते लामिछानेविरुद्ध लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता (अभियोग संशोधन) गर्ने निर्णय गरेकी थिइन्। सहकारी ठगीको मुद्दा यथावत् राखी अन्य दुई अभियोग नलाग्ने भनी गरिएको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभाष रेग्मी र अभियन्ता युवराज पौडेल (सफल) ले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए।
जिल्ला सरकारी वकिल कार्यालयले अभियोग संशोधनको निवेदन सम्बन्धित जिल्ला अदालतमा पेस गरिसकेको भएपनि सर्वोच्चमा विचाराधीन मुद्दाको अन्तिम टुंगो नलागेसम्म जिल्ला अदालतले यसबारे कुनै निर्णय नगर्ने देखिएको छ। महान्यायाधिवक्ताको निर्णय सदर वा बदर हुने विषयमा सर्वोच्चको फैसला निर्णायक हुनेछ।
चैत ३, २०८२ मंगलबार १८:०६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।