सी जिनपिङको पुस्तक जलाइएको घटनामा चीनको चासो, सत्यतथ्य छानबिन गरी कारबाही गर्न गृहको सर्कुलर

सी जिनपिङको पुस्तक जलाइएको घटनामा चीनको चासो, सत्यतथ्य छानबिन गरी कारबाही गर्न गृहको सर्कुलर

काठमाडौं : मोरङको बुढीगंगास्थित मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक जलाइएको घटनाप्रति गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ।

राष्ट्रपति सीद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ नामक पुस्तक जलाइएको विषयलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो। परराष्ट्र मन्त्रालयले सोही पत्रका आधारमा गृह मन्त्रालयलाई आवश्यक कारबाहीका लागि पत्राचार गरेको थियो।

सोही पत्रका आधारमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङ र नेपाल प्रहरीलाई दोषी पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन दिएको छ। नेपाल-चीन सम्बन्धलाई असर पुर्याउने किसिमका गतिविधि भन्दै मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न भन्यो।

दुई देशबीचको संवेदनशीलतासँग जोडिएको विषय भएकाले उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाएको स्थानीय प्रशासनले जनाएको छ।

चैत ३, २०८२ मंगलबार १५:५३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।